शनिबार, २६ माघ २०८१
ताजा लोकप्रिय
संस्कृति

धनुषाधामप्रति श्रद्धालुका अनेक विश्वास

शनिबार, २६ माघ २०८१, १४ : ००
शनिबार, २६ माघ २०८१

त्रेतायुगीन हाम्रा आराध्यदेव श्रीराम र सीताका बारेमा जे जति तथ्य र प्रमाण छन् ती सबै वेद, पुराण र जनविश्वासमा आधारित छन् । 

एउटा जनविश्वास छ— सीता स्वयंवरका बेला अयोध्याका राजकुमार रामले पिनाक धनुष भाँचेको, त्यो धनुष तीन खण्डमा विभक्त भई उछिट्टिएर दुई अन्यत्र झरे पनि एक टुक्रा यही पृथ्वीमा झरेको र त्यो धनुषाधाम भएको । 

जनकपुरधाममा जगत् जननी सीताको दर्शन गर्न आउने दर्शनार्थीहरू धनुषाधाम अवश्य पुग्ने गर्र्छन् । त्यहाँ रहेको धनुषखण्डको दर्शन–पूजा गरी धन्य हुन्छन् । मिथिला महात्म्यमा धनुष दर्शनले मात्र पनि सबै पापको नाश हुन्छ भनिएको छ तर धनुषाधामलाई पर्यटन वा दर्शनार्थीको गन्तव्य बनाउने काम भएन । 

  • के छ धनुषाधाममा ?

धनुषाधाम जानुपर्ने कारण खोज्दा रामायणकालीन एउटा आध्यात्मिक परिघटनाले ल्याएको संयोगलाई मान्नुपर्छ । यसलाई अलि प्रस्ट बुझ्न देशी भाषामा रामायण लेखेर घरघर पुर्‍याउने महाकवि तुलसीदासकृत श्री रामचरित मानसका केही प्रसंग उल्लेख गर्न आवश्यक ठान्छु । 

सीताजीको स्वयंवरका लागि राजा जनकद्वारा आयोजित धनुष यज्ञमा अनेकौँ राजा, राजकुमारहरू आएका थिए तर कसैले हल्लाउन पनि सकेनन् । तुलसीदासजी रामायणमा लेख्नुहुन्छ—

भूप सहस दस एकहि बारा । लगे उठावन टरइ न टारा ।।

डगइ न सम्भु सरासनु कैसे । कामी वचन सती मनु जैसे ।।२५२।।

रावण लगायत वीरहरू उठाउन सकेनन् । राजा निराश भए । आफ्नी छोरीको स्वयंवर न हुने हो कि विषादबाट दुःखी हुँदै भने— 

तजहु आस निज निज गृह जाहु । लिखा न बिधि बैदेहि बिबाहु ।।

अब जनि कोउ भखे भटमानी । बीर विहीन महीमै जानी ।। 

अब त अति नै भयो । लक्ष्मणजी रिसाएर जुरुक्क उठ्नु भो तर दाजुको सकेत पाई बसेपछि गुरु विश्वामित्रको आदेश प्राप्त गरी श्ररिाम अगाडि बढ्नुभयो ।

रावन बान छुआ नहि चापा । हारे सकल भूप करि दापा ।।

सो तनु राजकुँअर कर देहीं । बाल मराल की मन्दर लेहीं ।।२।।

यसरी अत्यन्त सहज रूपमा धनुष श्रीरामद्वारा खण्डित भएको थियो । भनिन्छ, त्यही धनुषको दुई खण्डमध्येको एक खण्ड धनुषाधाममा छ । जनकपुरधामको पवित्र सरोवरमध्ये एक धनुषसागरमा केही दशक अगाडिसम्म कहिलेकाहीँ धनुषको प्राकट्य हुन्थ्यो र सर्वसाधारणले पनि हेर्न भ्याउँथे । के त्यही त अर्को धनुष होइन ? 

धनुषाधामका बारेमा निरन्तर क्रियाशील रहँदै आएका नवसन्त तिलेश्वर दास केवट धनुषका दुवै खण्ड धनुषाधामै रहेको जिकिर गर्छन् । उनी आफ्नो अडानको पुष्टि परम सन्त तुलसीदासकृत रामायणका २२७, २६२, २६९ चौपाईहरूका आधारमा गर्न खोज्छन् । यसै चौपाईहरूका आधारमा उनको तर्क छ— धनुष यज्ञ पनि जनकपुरमा होइन, धनुषाधाममा भएको हुनुपर्छ । तर उहाँको तर्क साधुसन्तबाट अनुमोदन हुन बाँकी छ ।

धनुषाधाममा एउटा शिलाखण्डजस्तो देखिने लामो धनुषको टुक्रा राखिएको छ यो टुक्रा तीन–चार वर्षमा एकचोटि आफैँ बढ्छ । टुक्रा बढ्दै जाँदा धनुषलाई घेर्न पर्खाल पनि त्यसैअनुरूप बढाइँदै लगिन्छ । पिनाक धनुषको सबुत टुक्रा रहेको जनविश्वासमा यसलाई पूजन–दर्शन गर्न सालभरि नै दर्शनार्थी आउने गर्छन् । माघमा प्रत्येक आइतबार यहाँ लाखौँ दर्शनार्थी, श्रद्धालु आउँछन् र दर्शन–पूजा गरी मनोकामना पूरा भएको वा हुने प्रार्थना गर्छन् । 

मन्दिरमा अवस्थित वटवृक्षको जरामा रहेको प्वालमा पनि जनविश्वास छ । यस क्षेत्रका बासिन्दा सुक्खाको समयमा त्यस प्वालमा दुधको भाँडो खन्याएर भर्ने प्रयास गर्छन् । त्यो प्वाल पुरियो भने वर्षा हुने र पुर्न सकिएन भने त्यो वर्ष पानी नपर्ने जनविश्वास छ ।

‘धनुष’जीको मूल मन्दिरमा हनुमानको मूर्ति राखिएको छ भने मन्दिरभन्दा केही दक्षिणतिर राम–जानकी मन्दिर पनि छन्, जसको निर्माणपछि आएर गरिएको छ । त्यहाँ धर्मशाला पनि छ । प्राप्त शिलालेख अनुसार दरभंगाका राजा लक्ष्मेश्वर सिंहकी आमा महेश्वर लतादेवीले शाके १७९७ मा धर्मशालाको निर्माण गराइदिएकी छिन् । 

पुरानो जीर्ण मन्दिरलाई संवत् १९९५ मा बलियाका रघुनाथ राम जयसवालले मन्दिरको पुनर्र्निर्माण गराइदिएका थिए भने पुरानो धर्मशालाको पनि जीर्णोद्धार सन् १९४१ मा पटना, कदमकुआ (बिहार, भारत)का ताराचन्द्र अग्रवालले गराइदिएका थिए । 

धनुषाधाम ५० वर्षपूर्व जंगलमध्ये नै रहेको थियो । आज पनि धनुषा जिल्लामा जंगल हेर्न चाहे धनुषाधाममै जानुपर्छ । केही पुराना रूखहरूको संरक्षण गर्ने काम गरिएको छ भने त्यही जंगलभित्र चट्टीबाबाको प्रभावबाट अखण्ड संकीर्तन महायज्ञ विगत केही वर्षदेखि निरन्तर चालु रहेको छ । 

धनुषा जंगलमा पर्यटकीय आकर्षणका लागि वन विभागले हरिण पाल्ने काम पनि गरेको थियो तर त्यसको उचित रख–रखाव नहुँदा केही हरिण मर्न थालेपछि त्यहाँबाट अन्यत्र सारिएको छ ।

  • जनआस्था

प्रथम त रामद्वारा तोडिएको शिवजीको पिनाक धनुषको यो खण्ड हो र त्यसको दर्शन–पूजाले समस्त पापको नाश र मंगल हुने विश्वास सयौँ वर्षदेखि चल्दै आएको छ । ‘मिथिला महात्म्य’को लेखन अढाई सय वर्षभन्दा पहिला भएको र त्यसमा धनुष महिमा वर्णित रहेकाले पनि यो विश्वासको निरन्तरता निकै प्राचीन रहेको अनुमान गर्न सकिन्छ ।

मन्दिरमा अवस्थित वटवृक्षको जरामा रहेको प्वालमा पनि जनविश्वास छ । यस क्षेत्रका बासिन्दा सुक्खाको समयमा त्यस प्वालमा दुधको भाँडो खन्याएर भर्ने प्रयास गर्छन् । त्यो प्वाल पुरियो भने वर्षा हुने र पुर्न सकिएन भने त्यो वर्ष पानी नपर्ने जनविश्वास छ । 

धनुषको मन्दिरमा भाटाको भार चढाउने गरिन्छ । बाँसको झिक्रोमा रोपिएका दुइटा भान्टाको भारलाई दर्शनार्थीहरू चढाउने गर्दछन् । मेलामा त्यस्ता भार प्रशस्त बिक्री भइरहेका हुन्छन् । यो चढाउँदा मनोकामना पूरा हुने त हुन्छ नै, जिउमा कतै कोठी छ भने त्यो आफैँ निको हुन्छ । 

मेलाको अर्को आकर्षण हुन्छ— महिलाहरूको बृहत् उपस्थिति । गाउँ–घरमा महिलालाई हतपत घरबाहिर जान छुट पहिले त छँदै थिएन, अहिले पनि नियन्त्रित रूपमै छ । तर धनुषा मेलामा महिलाहरूलाई जान घरबाट पहिलेदेखि नै छुट रहँदै आएको छ ।

यिनै जनविश्वासले धनुषाधामको महत्तालाई दशकौँदेखि स्थापित गर्दै आएको छ । 

  • मेलाको विशेषता

धर्म र आस्थाका कारण जुट्ने विशाल जनसमूहका लागि यहाँ वर्षमा एकचोटि मेलाको आयोजना गर्ने गरिन्छ । मकर मेलाको नाउँले प्रचलित यस मेलामा नेपाल–भारतका लाखौँ श्रद्धालु आउँछन् । मेलामा खाने–पिउने, लत्ता–कपडा आदि सबै खाले सामग्री बिक्रीका लागि हुन्छन् । 

यस मेलाको थप आकर्षण भने पहाड र तराईको संगमस्थलमा आयोजना हुनु र त्यसमा दुवै समुदायका दर्शनार्थीको विशेष उपस्थितिलाई मान्नुपर्छ । मेलामा पहाडबाट सुन्तला, तेजपत्ता, खुकुरी, कम्बल, जडिबुटी आदि ल्याएर बेचिन्छन् भने मधेसबाट लगिएका लत्ता–कपडा, भाँडाकुडा, जुत्ता–चप्पल, नुन, फलामका घरायसी सामग्री, केसौर (फलविशेष) पहाडी समुदायले किन्ने गर्छन् ।

dhanushdham

मेलाको अर्को आकर्षण हुन्छ— महिलाहरूको बृहत् उपस्थिति । गाउँ–घरमा महिलालाई हतपत घरबाहिर जान छुट पहिले त छँदै थिएन, अहिले पनि नियन्त्रित रूपमै छ । तर धनुषा मेलामा महिलाहरूलाई जान घरबाट पहिलेदेखि नै छुट रहँदै आएको छ । 

नजिकका गाउँहरूमा बिहे भएकी छोरी, बहिनी, दिदीसँग भेट्न पनि महिलाहरू यस मेलामा जाने गर्छन् । भेटेपछि सँगै लगिएको पुरी–तरकारी, चूडा–दही खुवाई हालचाल सोध्ने र जाने बेलामा जेरी किनेर सन्देश दिने प्रचलन छ । युवाहरू माइतीमा रहेकी आफ्नी श्रीमती, सालीहरूसँग भेट्ने सुअवसरका रूपमा पनि यसको प्रयोग गर्छन् । त्यहाँ पनि पान, सुपारी, बिँडी–सिगरेटदेखि लिएर जेरी–मिठाइसम्मको सन्देशको आदान–प्रदान हुन्छ । यसका लागि बिचला–मकरलाई प्राथमिकतामा राख्ने गरिन्छ । दुई मकरपछिको मकरलाई बिचला–मकर भनिन्छ । यसमा लाखौँ श्रद्धालु पुग्ने गर्र्छन् ।

मेलामा सर्कस, खेल–तमासा पनि हुन्छन् । मेला भर्नेहरूका लागि मनोरञ्जनको भरपूर व्यवस्था गरिन्छ । रक्सी, माछा–मासु, जुवा–तासको पनि व्यवस्था रहेको हुन्छ । महिनाभरिको रमाइलो वासको निम्ति प्रत्येक प्रबन्ध मेलामा मिलाइएको हुन्छ । यद्यपि सर्कस, जुवातासका खाल अब प्रायः देखिँदैन । यसपालि जंगललाईे घेरेर सुरक्षित बनाउने काम गरिएको छ । 

  • मधेश प्रदेशको पर्यटकीय गन्तव्य

शताब्दियौँदेखि जनविश्वासले गर्दा स्वतःस्फूर्त रूपमा आध्यात्मिक केन्द्रबिन्दु रहँदै आएको धनुषाधामलाई कतैबाट पनि गम्भीरतापूर्वक पर्यटकीय गन्तव्यका रूपमा अगाडि सार्ने काम गरेको छैन । धनुषाधाममा बाह्रै महिना श्रद्धालुहरू पुग्ने गरेको भए पनि माघभरिको मेला अवधिलाई नै प्याकेजका रूपमा विकसित गरी अहिले बाँचिरहेको जंगलमा अस्थायी कटेजहरूको निर्माण गरी पर्यटक भित्र्याउन सकियो भने त्यो निकै लाभदायी हुन सक्छ । 

धार्मिक पर्यटकका लागि रामलीला, भजन–कीर्तन आदिको व्यवस्था गरेर बसाइँलाई भक्तिमय बनाउन सकिन्छ । त्यहाँ रहेको पवित्र वाणगंगा नदी र पोखरीको जीर्णोद्धार गरी आकर्षक बनाउन सकिन्छ । श्रद्धालुहरू यहीँ नुहाएर मन्दिरमा जल–फूल चढाउने गर्छन् । 

धनुषाधाममा बाँकी रहेको जंगललाई व्यवस्थित गरेर त्यहाँ पशुपक्षी पालेर आकर्षक गन्तव्य बनाउन सकिन्छ । त्यसमा वनभोज जस्तै व्यवस्थापन र स्थानीय नृत्यहरूको प्रस्तुति देखाउने व्यवस्था गरेर समुद्रपारि पर्यटकहरूलाई पनि आकर्षित गर्न सकिन्छ । धनुषाधाम क्षेत्रमा पाहुना बनेर बस्ने (होम–स्टे) प्रचुर सम्भावना रहेकाले पनि त्यसलाई प्याकेज अन्तर्गत व्यवस्थित गर्न सक्नुपर्छ । मधेस प्रदेशका पर्यटन विभागले यसलाई व्यवस्थित गर्न सके यो बाह्रै महिना पर्यटकीय गन्तव्यका रूपमा विकसित हुन सक्छ ।

धनुषाधाम पुग्न अब बाटो निकै राम्रो बनिसकेकाले यात्रुलाई निकै सहज भएको छ । जनकपुरधामबाट १८ किमि उत्तरपूर्व रहेको धनुषाधाम जान मुजेलियाबाट १६ किमि र पूर्वपश्चिम राजमार्गको धारापानीबाट १० किमि दक्षिणमा पर्ने भएकाले पूर्व–पश्चिमबाट र उत्तरबाट आउनेका लागि यो बाटो नै उपयुक्त हुन्छ । त्यहाँबाट पनि बस, टेम्पु सेवा नियमित छ । बाटो पनि फेरि फराकिलो बन्दै छ ।

  • बैगुन(भान्टा)को भार : एउटा मिथकीय विश्वास 

धनुषधाम मेलामा दर्शन गर्न जाँदा मन्दिरअगाडि र छेउछाउमा बैगुन (भान्टा)का भारहरू प्रशस्त मात्रामा बिक्ने गरेको देखिन्छ । बेच्न राखिएका मात्र हुँदैनन्, श्रद्धालुहरूले प्रशस्त मात्रामा किनेर हातमा उचाल्दै मन्दिरभित्र रहेका हनुमानजीको मूर्ति र धनुषको अवशेषमा श्रद्धा–भक्तिपूर्वक चढाउने गर्छन् । 

विश्वास गरिन्छ— जिउको कुनै ठाउँमा मुसा पलाएको छ भने धनुषजीलाई बैगुनको भार चढाउँछु भन्दै कबुला गरे त्यो आफैँ निको हुन्छ । फल प्राप्तिपछि मात्र धनुषाधाममा बैगुनको भार

अर्पण गरिन्छ । यति ठुलो मात्रामा भारको बिक्री हुनु र मन्दिरभित्र चढाउनुले जनविश्वास पूरा भएको रूपमा बुझ्न सकिन्छ । 

(लेखक मधेश प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोस कापडी भ्रमर
रामभरोस कापडी भ्रमर
लेखकबाट थप