शनिबार, २६ माघ २०८१
ताजा लोकप्रिय
संस्मरण

पुस्तक, कुकुर र राजा

शनिबार, २६ माघ २०८१, १३ : ००
शनिबार, २६ माघ २०८१

पुस्तक ! पाठकसँग पठनको जिज्ञासा र एकाग्रतासिवाय कहिल्यै केही नमाग्ने, आफूसँग जो भएको दिन कहिल्यै कत्ति कन्जुसी नगर्ने । पुस्तक ! मानिसको सुखदुःखको साथी, अन्धकारको प्रकाश, निराश क्षणको आशाको फिलुङ्गो, बिफल घडीको सान्त्वनाको ढाडस, विगतका प्रतिभाहरूका अनुभव–अनुभूतिको सुरक्षित वासस्थल, आगतका प्रतिभाहरूको सिर्जन–यात्राको भरपर्दो सहारा ।

पुस्तक ! पुस्तक भ्रष्टाचारी र तानाशाह समेतको कारागारको उदार साथी । यस्तो जीवनदायी पुस्तक अहिले छिमल–छिमल गरी आफ्नो कैदकक्षबाट फुत्तफुत्त खुला डबलीमा निस्किरहेछ । 

‘फाइन प्रिन्ट’कृत ‘बुक वर्म’को साहित्यिक कुम्भमेला सिद्धिनु के थियो ‘साझा प्रकाशन’को पुस्तक मेला सुरु भइहाल्यो । 

अदृष्टिगोचर भगवान्का भक्तका लागि निष्प्राण शक्तिपीठ जस्तो हो, पुस्तकप्रेमीका लागि त्यस्तै हो जीवन्त पुस्तकहरूको रमणीय मेला । र नै त गएँ म उमङ्गले फुरुङ्ग हुँदै मेरो डब्लुटी ऊर्पm होल टाइपमर मित्र पुस्तकको दर्शन गर्न राष्ट्रिय सभागृह, भृकुटीमण्डपमा । प्रदर्शनीको विशाल टहरोभित्र जब पसेँ, भद्रगोल वातावरणमा त्यसै त्यसै निसासिएँ म । प्रदर्शनीको अस्तव्यस्त दृश्य मेरा आँखामा अत्यासलाग्दो गरी बिझायो । कुन स्टलको टेबुल कहाँ टुङ्गिन्छ र कहाँदेखि सुरु हुन्छ अर्को टेबुल, मेसो पाउनै गाह्रो । 

पुस्तकका प्रकारहरू सर्वत्र छ्यासमिस भएका छन्, कहाँ के खोज्ने हो भेउ पाउनै मुस्किल । पुस्तकको मूल्य बुझाउन लम्बेतान लाममा उभिएर पट्यार लागुन्जेल पालो कुर्नुपर्ने । माथि मुहान जस्तो छ, तल जलप्रवाह उस्तै हुने त हो । ‘साझा प्रकाशन’ सरकारी दाम र तजबिजी कृपाद्वारा सञ्चालित जराजीर्ण प्रकाशन हो । साझा त साझा, यसका ख्वामित् र सेवकहरूका शुष्क मतिमा साझा, सुस्त गतिमा साझा, भ्रष्टाचारमा साझा, विलासितामा साझा ! यो भद्रगोल पुस्तक मेला मानौँ सिंहदरबारका दाज्यैज्यूहरूको मति, गति र कार्यशैलीको जीवन्त प्रतिविम्ब हो ।

मेलो न मेसो अलिबेर टहराको यो छेउदेखि ऊछेउसम्म रनभुल्ल मुद्रामा घुमेँ म । हेर्दै जाँदा म तीन छक् परेँ, जता हेर्‍यो ठेलीका ठेली अनुदित पुस्तकहरू कति धेरै ! त्यहाँ कार्ल माक्र्सको ‘दास क्यापिटल’देखि चाल्र्स डार्बिनको ‘दी ओरिजिन अफ स्पिसिस’सम्मका अनुवादहरू छन् । अनि संस्कृत वाङमयबाट नेपालीमा उल्थ्याइएका पुस्तकहरू कति कति ! अहो ! इलमविनाका डुकुलन्डुहरूको भयावह भीड भएको उद्यमविहीन यो देशमा साहित्यका नाउँमा कति चाँच्चाँडो कति धेरै पुस्तक छापिएका ! यो औतारी मुलुकमा पुस्तक पढ्नेभन्दा पुस्तक लेख्ने पो धेरै भए कि ! विषय र शिल्पको गुणवत्ताका दृष्टिले यी अनेकानेक पुस्तक कस्ता होलान् मलाई थाहा छैन । परिमाणको चाङका दृष्टिले भने भृकुटीमण्डप पुस्तक मेलामा आज रमिता छ ।

कुकुर अघि लाएर पुस्तक मेलामा सवारी हुने को हो त्यो उपरवाले ख्वामित् ?’ झोँक चलेको क्षणमा मेरो कण्ठबाट वचन फुत्किहाल्यो । कुकुर डोर्‍याउने सुरक्षाकर्मीले डस्ने आँखाले मलाई पुलुक्क हेर्‍यो ।

उखर्माउलो गर्मी भएर टहरो बाहिर निस्किने तरखरमा थिएँ म । मलाई पिँडुलामा तातो–तातो कुनै भुवादार चिजले स्पर्श गरेको आभास भयो । यसो निहुरिएर हेर्छु त मेरीबास्सै, त्यहाँ त भयङ्कर कुकुर पो छ ! अरे, पुस्तक मेलामा कुन पाजीले कहाँबाट किन ल्याएको होला यो पाजी कुकुर ? एक अपरिचित पुस्तक सिकारीले परिचित प्रतीत हुने आँखाले हेर्दै मेरा कानमा खुसुक्क भने— ‘दाइ, सवारी छ । यो सवारीको सुरक्षा जाँच गर्ने कुकुर हो ।’ 

‘कुकुर अघि लाएर पुस्तक मेलामा सवारी हुने को हो त्यो उपरवाले ख्वामित् ?’ झोँक चलेको क्षणमा मेरो कण्ठबाट वचन फुत्किहाल्यो । कुकुर डोर्‍याउने सुरक्षाकर्मीले डस्ने आँखाले मलाई पुलुक्क हेर्‍यो । बन्दुके प्रशिक्षण र दासमुखी संस्कारीकरणले उसलाई सिकाएको आखिर त्यही त थियो । सतर्क हुँदै म फटाफट बाहिर निस्केँ । 

अहो ! बाहिरको वातावरण त अघि नै रणभूमिजस्तो भइसकेछ । जता हेर्‍यो, बर्दीधारी प्रहरी नै प्रहरी ! वाकीटकीमा कुरा गर्दै गरेका कोही, लाठा बोकेर यताउता हिँड्दै गरेका कोही । कोही बन्दुक बोकेर असिनपसिन गर्दै कुदिरहेका, कोही ढाल बोकेर मूर्तिसमान खडा भएका । कोही पुस्तकप्रेमीहरूका झोला खोतलिरहेका, कोही तिनका छाती र नितम्बका खल्ती छामिरहेका । प...र भित्तामा छ हामीलाई पक्रिएर कोच्न तम्तयार राखिएको सैनिक गाडी । अहो ! सुरक्षाको नाउँमा कुकुरलाई अघि लाएर सवारी हुने को हो त्यो उपरवाले मनुवा ?

‘के सिंहासनबाट लखेटिएको अत्याचारी राजा फर्केको हो ?’ मेरो जिब्रोबाट अनायासै वचन फुत्किहाल्यो ।

‘न, न दाइ’— मेरो छेउमा उभिएका एक तरुणले भने— ‘यो त टोपीधारी नयाँ राजाको सवारी हो ।’ 

एत्तेरी जेठ्दाइ ! तनावले मेरा कन्चट ताते । चिया पिएर चित्त शान्त गर्ने मनसुवाले हत्तपत्त बाहिर सडकमा निस्किएँ म । चियाको स्वादमा मलाई राजोन्मुख टोपीधारीको दिगमिगलाग्दो झझल्को आइरह्यो । चिया खाएको नखायै भयो । म पुनः प्रदर्शनीस्थलतिर लम्किएँ । 

‘झोला हेरुँ त, सर ।’ गेटमा उभिएका प्रहरी जवानले हात लम्काउँदै भने । ‘ठूलाबडाको गाथ–गादी ताक्ने बम मसित छैन, भाइ । किन हेर्ने ?’ मुसुमुसु हाँस्दै मैले सोधेँ । 

‘सवारी छ, सर ।’ झोला छाम्दै विनयशील भावमा उनले भने । ‘सवारी कसको ? राजाको हो ?’ 

हामीले समवेत स्वरमा भन्न सक्नुपर्थ्यो— ‘नागरिकका डरले थुरथुर हुने राजोन्मुख टोपीधारीहरूलाई पुस्तक मेलामा आतङ्कका लहर फैलाउने अधिकार कसले दियो ? यस्तै आचारण गर्नु छ त तिनले पुस्तक छान्नु किन पर्‍यो ? किन्नु किन पर्‍यो ? पढ्नु किन पर्‍यो ? अनि एक थान राजप्रेतको सुरक्षार्थ हजारौँ पुस्तकप्रेमीको मानसिक चैन बिथोल्नुपर्‍यो किन ?’

‘राजाजस्तैको हो, सर । अहिले राष्ट्रपति भन्ने छन् नि, हो तिनको ।’ प्रहरी जवानले ढुक्कै भने । 

कर्तव्यपरायण जवानले कथित सुरक्षाको कर्मकाण्ड पूरा गर्न मेरो सिट्ठा नितम्ब धरी छामिहाले । 

उद्विग्न दृष्टिले भित्रको वेचैनीयुक्त वातावरण नियालेँ । प्रहरीको लर्को र तिनको भयकारी चहलपहल झनै बढेको छ । नतिजास्वरूप पुस्तक प्रदर्शनीको लय नराम्ररी भङ्ग भएको छ । मेला भर्न आउनेहरू आँखा–आँखामा क्रोध र क्षोभ लिएर खासखुस गरिरहेका छन् । गणतन्त्र नेपालमा राजतन्त्रको भूतको हाकाहाकी विरोध गर्ने दम त्यहाँ म देख्दिनँ । मानौँ कायरता र लाचारी नै यस देशको चारित्रिक विशेषता वा दीर्घरोग हो । 

हामीले समवेत स्वरमा भन्न सक्नुपर्थ्यो— ‘नागरिकका डरले थुरथुर हुने राजोन्मुख टोपीधारीहरूलाई पुस्तक मेलामा आतङ्कका लहर फैलाउने अधिकार कसले दियो ? यस्तै आचारण गर्नु छ त तिनले पुस्तक छान्नु किन पर्‍यो ? किन्नु किन पर्‍यो ? पढ्नु किन पर्‍यो ? अनि एक थान राजप्रेतको सुरक्षार्थ हजारौँ पुस्तकप्रेमीको मानसिक चैन बिथोल्नुपर्‍यो किन ?’

ह्वाङ्ग द्वारबाट प्रदर्शनी कक्ष चियाएर हेरेँ । सुरक्षा आतङ्क झनै बढेको छ । भित्र बर्दीधारी जबान र सादा पोशाकधारी जासुसको बिगबिगी छ । बाहिरबाट डाक्टर अभि सुवेदी कालो कोट जखेर लमरङ–लमरङ आएका देखेँ । असहज वातावरणको गन्ध सुँघेर प्रदर्शनी कक्षमा पाइलै नटेकी अभिदाइ सुइत्त बाटो लागे ।

पुस्तक संसारमा झन्डै दुई घण्टाको तनावपछि जनसाधारणको सातो खाने साइरन बजाउँदै सवारीका गाडीको लर्को दृष्टिगोचर भयो । मैले गाडी गनेँ— एक, दुई, पाँच, सात, नौ.... अहो ! एक थान नाथे शासकको सवारीमा यतिका गाडी ! कसलाई देखाउन हो यो रबाफ र ठाँटबाँट? यो कङ्गाल देशमा कुन पाजीको दम्भी मनोवभावको अभिव्यक्ति हो यो ? हिजो श्रीपेचधारी राजा यसै गथ्र्यो । के यो टोपीधारी काजीले राजालाई अत्युत्तम आदर्श मानेर निजका बासी पाइला सभक्ति पछ्याएको हो ?

म देख्दैछु, कुकुर, लाठा, बन्दुक, ढाल र पक्राउ गर्ने वाहन अघिअघि छन्, राष्ट्रपतिको सवारी छ तिनका पछिपछि । जब सवारी प्रदर्शन कक्षतिर मोडियो, दृश्यमा फगत राष्ट्रपति देखिए । पुस्तकहरू राष्ट्रपतिको राजसी गाथको रक्षार्थ रचिएको वातावरणको छायामा परे । भित्र मलाई निसास लाग्यो । चैनको सास फेर्न बाहिर निस्केँ म । अभाव, असुरक्षा, अन्योल र अनिश्चतताको आहबाट उम्केर अलिबेर किञ्चित् चैनको सास फेर्न पुस्तकप्रेमीहरू मेलामा भेला भएका थिए । सवारी आतङ्कले तिनका चैनको आशामा तुषारापात गरिदियो । 

बाहिर खासखास खुसखुस चल्यो । 

‘हिजोको सवारी योभन्दा कडा थियो ।’ एक रुष्ट मानवले चित्तको तीतो पोखे । 

‘हिजो प्रधानमन्त्रीको सवारी भएको थियो । तिनले त अहो ! सारा मानिसलाई खेदेर बाहिर निकाले, प्रदर्शनी कक्ष कब्जा गरे र एक्लै पुस्तक नजर गरे । ती प्रधानमन्त्री हेरी यी राष्ट्रपति त यार, कति कति उदार ! यिनले सारा मानिसलाई बाहिर निकालेर पुस्तक मेलाको सत्तै कब्जा त गरेनन् नि ।’ 

सुनेर म भित्रभित्रै कित्कित्–कित्कित् हाँसे । अहो ! तिनको त्यो कत्रो कठोरता ! यिनको यो कत्रो उदारता !

देहको थकान र मनको बेचैनीले गलित भई बाहिर निस्केर चउरमा बसेँ म । स्मृतिको पर्दामा उनै सवारीमार्गी काजीहरू घुमिरहेका थिए । तिनको चरित्रउपर मैले किञ्चित् गम खाएँ । जो आफ्नो क्षमता र योगदानको बलले क्रमशः सत्ताको सिँढी चढ्दै माथि पुग्छ, उसमा शायद केही न केही विनयशीलता, करुणा र परोकारिताको भावना हुन्छ । ऊ शायद अरुका आँखाका ऐनामा आफूलाई हेर्न र आफूलाई साइजमा राख्न न्यूनाधिक यत्न गरिरहन्छ । लोकका दृष्टिमा देखिन, चिनिन र मानिन उसले यस्तो ठाँटबाँट र फाइँफुट्टी गर्नुपर्दैन । राजनीतिको नाटकमा काकताली, षड्यन्त्र र चाकरीको बलले उफारिएर जो सत्ताका उच्च गद्दामा पुग्छ, उसका खुट्टा भूइँमा हुँदैनन् । आखिर भुइँफुट्टा भनिने पात्रहरू यस्तै त हुन् । के पुस्तक मेलामा कुकुरादिको पछि लागेर भएको राजोन्मुख पात्रहरूको सवारीको अर्थ यसरी बुझे हुन्छ ?

अतीतबाट साभार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप