जदौ दाहाल यज्ञनिधि र अभिजात वर्ग
रेडियो नेपालको सुनौलो इतिहासमा एउटा नाम सधैँ गुञ्जायमान रहन्छ, त्यो हो दाहाल यज्ञनिधि । उनको नामसँगै जोडिएको छ एउटा मिठासपूर्ण आवाज, एउटा सिर्जनात्मक चेतना र नेपाली रेडियो प्रसारणको एउटा यस्तो युग, जसले धेरैका मन–मस्तिष्कलाई छोएको छ । यिनै नाम र उनैले राष्ट्रिय प्रसारणबाट उद्घोष गरेको ‘जदौ’ अभिवादनको उपनामले उनी परिचित छन् ।
यज्ञनिधिको आवाजको जादुले रेडियो नेपालका कार्यक्रममा एक अद्वितीय आत्मा थप्थ्यो । उनको स्वर रेडियो–तरङ्गबाट गुञ्जिदा देशका कुना–कुनासम्मका श्रोताका कान ठाडा हुन्थे । काम रोकिन्थे र रेडियो सुन्न झुम्मिन्थे । तिनलाई लाग्थ्यो— उनीहरूका आफ्नै घरका कुनै प्रिय सदस्यले माया र प्रेरणाले भरिएको सन्देश सुनाइरहेका छन् । यसरी सरल, मिठो र आत्मीय स्वरले उनले नेपाली समाजलाई प्रभाव पारेका थिए ।
प्रस्तुति शैलीले मात्र नभएर, उनले प्रकट गरेको ज्ञान र साहित्यिक सौन्दर्यले उनलाई अरूबाट भिन्न बनायो । उनी रेडियो कार्यक्रमहरूमा कहिले कविताको रसमा डुब्थे, कहिले साहित्यका काव्यिक रङहरू प्रस्तुत गर्थे । उनका शब्दहरूले मात्र होइन, स्वरको आरोह–अवरोहले पनि भावनाको गहिराइ महसुस गराउँथ्यो । श्रोताहरूको मनलाई छुने क्षमताका कारण उनले रेडियो नेपाललाई जनताको रोजाइको केन्द्रमा राख्न विशेष भूमिका खेले ।
दाहाल यज्ञनिधिको योगदान रेडियोमै मात्र सीमित थिएन । उनी एक उत्कृष्ट लेखक, कवि र सांस्कृतिक अभियन्ता पनि थिए । नेपाली भाषा र संस्कृतिप्रतिको उनको माया र समर्पण प्रेरणाको स्रोत हो । रेडियोका माध्यमबाट उनले देशका विभिन्न भागलाई एउटै डोरीमा बाँध्ने प्रयास गरे । विशेषगरी गाउँ–सहर, धनी–गरिब, जातभातको दूरी मेटाउँदै उनले मानिसको जीवनमा उत्साह र प्रेरणाका नयाँ रङ भरे । हरेक कार्यमा नवीन सोचको सञ्चार गरे ।
आजको प्रविधि र सामाजिक सञ्जालको युगमा, रेडियोको पुरानो आकर्षणलाई पुनः सम्झिँदा, दाहाल यज्ञनिधिको योगदान झन् प्रस्ट हुन्छ । उनको स्वर र व्यक्तित्वले नेपाली समाजमा गहिरो प्रभाव पार्न सफल भयो । उनका कार्यक्रमले मात्र होइन उनको सम्पूर्ण जीवनले एउटा सन्देश दिएको छ— सच्चा सिर्जनशीलता र समर्पण कहिल्यै पुरानो हुँदैन ।
यज्ञनिधि अर्थात् एउटा युग, एउटा आवाज र नेपाली श्रोता–संसारको अमर प्रतीक । रेडियो नेपालको इतिहासमा उनले भरिदिएको मिठास, झर्रो, खर्रो तर सत्य वाणी र उचाइलाई सधैँ स्मरण गरिनेछ ।
रेडियो नेपालको इतिहासको पानामा एउटा नाम अमर भइसकेको छ— दाहाल यज्ञनिधि । उनी निम्सरो ज्यान र दूरदराजका अपहेलित आत्माका प्रतिनिधि आवाज र जीवनको प्रतीक थिए । उनको आवाजमा रहेको मिठास, गम्भीरता र आत्मीयताले हरेक सुन्ने कानलाई छुन्थ्यो । यसरी छुनुसँगै प्रभावित र सचेत पार्ने क्षमता राख्थ्यो ।
‘जदौ’ एउटा शब्द मात्र होइन, एक भावना हो । दाहाल यज्ञनिधिले यसलाई आफ्नो हस्ताक्षर शैली बनाएर श्रोताहरू माझ चिनाए । रेडियोमा कार्यक्रम प्रस्तुत गर्दाको ‘जदौ’ शब्दले सन्देश दिन्थ्यो— आत्मीय अभिवादन, सभ्य सम्बोधन र एक किसिमको श्रद्धा ।
रेडियोका माध्यमबाट उनले लाखौँ श्रोतालाई छोए । त्यो आवाज, जुन कहिल्यै पुरानो हुँदैन, जुन कहिल्यै मेटिन्न । उनको बोलीमा एउटा जादु थियो— जसले हृदयको गहिराइसम्म छुन्थ्यो । त्यो जादुले मानिसलाई खुसी दिन्थ्यो । हौसला र जीवन जिउन नयाँ दिशानिर्देश गरिदिन्थ्यो ।
रेडियो नेपालको इतिहासमा श्रोताको मनमा गहिरो छाप छोडेका केही प्रिय आवाज छन् । तिनै आवाजमध्ये एउटा कर्णप्रिय र सजीव आवाजको प्रस्तोता दाहाल यज्ञनिधि । उनको सरल, प्रभावकारी र विशिष्ट आवाजले रेडियो नेपाललाई श्रोताहरूको घरआँगन, मेलापातसम्म पुर्यायो । उनले बोलेर ल्याएको एउटा शब्द ‘जदौ’ विशेष चर्चा र भावनाको केन्द्र बन्यो ।
‘जदौ’ एउटा शब्द मात्र होइन, एक भावना हो । दाहाल यज्ञनिधिले यसलाई आफ्नो हस्ताक्षर शैली बनाएर श्रोताहरू माझ चिनाए । रेडियोमा कार्यक्रम प्रस्तुत गर्दाको ‘जदौ’ शब्दले सन्देश दिन्थ्यो— आत्मीय अभिवादन, सभ्य सम्बोधन र एक किसिमको श्रद्धा ।
‘जदौ’ शब्द परम्परागत नेपाली अभिवादन हो, जसले आदर र आत्मीयताको मिश्रणलाई प्रस्तुत गर्छ । उनैले यो शब्दलाई आधुनिक प्रसारण माध्यममा प्रयोग गरेर यसलाई नयाँ जीवन दिए । रेडियो नेपालको भित्री स्टुडियोबाट गुन्जिएको ‘जदौ’ शब्दले पहाडदेखि तराईसम्मका श्रोतालाई जोडेको थियो ।
उनको यो शब्दको प्रयोगले नेपाली समाजमा एउटा सकारात्मक प्रभाव पनि पारेको छ । यो औपचारिक अभिवादनका रूपमा सीमित रहेन, बरु सामाजिक सम्बोधनका रूपमा पुनःस्थापित भयो । मानिसहरूले रेडियो सुन्दा मात्र होइन, दैनिक जीवनमा पनि ‘जदौ’ भन्ने चलनलाई फिर्ता ल्याए ।
श्रोता उनीप्रति यति धेरै आकर्षित थिए कि उनको स्वरले मात्र होइन, उनले बोलेका हरेक शब्दहरूले पनि गहिरो अर्थ राख्थे । उनले ‘जदौ’मार्फत मानवीय सम्बन्धमा आदर र आत्मीयताको महत्त्वलाई सरल भाषामा प्रस्तुत गरे । त्यसैले त, रेडियो सुन्दा धेरैले महसुस गर्थे, ‘यो आवाज त हाम्रै हो, हाम्रो गाउँघरको हो ।’
जदौ दाहालले रेडियोमार्फत नेपाली भाषालाई मात्र जगेर्ना गरेनन्, नेपालीपनलाई पनि उजागर गरे । आज हामीले रेडियो सुन्दा उनको ‘जदौ’ शब्दलाई सम्झन्छौँ भने त्यो उनको शब्द होइन, नेपाली भावनाको समष्टि हो ।
जीवनका अनगिन्ती आयाम छन् । शब्दहरूले तिनलाई रङ्गीन बनाइदिन्छन् । त्यस्तै एक विशेष र महत्त्वपूर्ण शब्द ‘जदौ’ । यो शब्द र यसभित्रको सम्बोधनसँगै यसमा आत्मीयता, श्रद्धा र सम्मानको एक अनौठो सुगन्ध छ । यसलाई उच्चारण गर्दा मानिसको हृदयमा एउटा मिठो मित्रवत् झङ्कार पैदा हुन्छ ।
‘जदौ’ भन्नु कुनै साधारण अभिवादनको शैली मात्र होइन, नेपाली समाजको मौलिक पहिचान पनि हो । गाउँका उकाली, भञ्ज्याङका वरपिपल र ढुंगेचौतारीमा वा खेतीकिसानी, मेलापातहरूमा, घाँस–दाउराको भारी बोकेर गइरहेका किसानका मुखबाट जब ‘जदौ’ शब्द निस्कन्छ, त्यो मृदुभाषी बोली; पवित्र भावना र स्नेहको संकेत हुन्छ ।
‘जदौ’को अर्थ अभिवादन नभएर हाम्रो जीवनशैलीको प्रतिविम्ब पनि हो । यो शब्दको प्रयोगले मानिसको स्वभाव, उसको मूल्य र संस्कार झल्काउँछ । खासगरी ग्रामीण समाजमा यसको प्रयोगले समाजमा आपसी सद्भाव र आत्मीयता फैलाउने काम गरेको छ । आफ्नोपनलाई मन पराउने, बचाउने तिनका लागि यो लोकप्रिय र सनातन शब्द हो । यसको प्रभावले मानवीय सम्बन्धहरूलाई पनि मजबुत बनाउँछ ।
समयसँगै ‘जदौ’ शब्दको प्रयोगमा केही कमी आएको छ । आजको व्यस्त जीवनशैलीमा जहाँ सबैजना आफ्नो उद्देश्य पछाडि दौडिरहेका छन्, यस शब्दको मर्मलाई बिर्सिंदै गइरहेका छौँ । तर जब यो शब्द सुनिन्छ, आज पनि पुरानै भावनाहरू जाग्छन् ।
‘जदौ’ शब्द नभएर एउटा संस्कार हो, जसले हामीलाई हाम्रो मौलिकता र परम्परासँग जोड्छ । हामीले यसको मर्मलाई बुझ्दै, यसको प्रयोगलाई निरन्तरता दिनुपर्छ । यसले हामीलाई हाम्रो जरा सम्झाइराख्छ ।
‘जदौ’ भन्नु औपचारिकताको भावनाका साथै हाम्रो संस्कृतिलाई जीवित राख्न मद्दत गर्ने शब्द पनि हो । हाम्रो हृदयमा सधैँ स्थान दिनुपर्छ, बोली र व्यवहारमा जदौका सुमधुर गुञ्जन गुञ्जिरहनुपर्छ ।
‘जदौ’ शब्द रेडियोमा गुञ्जिएको ध्वनि–तरङ्ग मात्र नभई त्यो समयको आवाज हो । यसले मानवीय सम्बन्धलाई सुन्दर शब्दमा बाँध्ने प्रयास गर्यो । दाहाल यज्ञनिधिको यो साधारण तर गहिरो शैलीले उनलाई नेपाली रेडियोको अमिट इतिहासको पानामा अमर बनायो ।
‘जदौ, दाजु तपाईंको आवाजमा हामीले हाम्रो आत्मीयता भेट्यौँ । जदौको सनातन शब्दमा हामीले हाम्रा पुर्खाको ढोगभेट सम्झ्यौँ’ भन्नेहरू यसै भन्थे ।
यज्ञनिधिसँग जोडिएका हरेक पल, हरेक प्रसङ्ग, एउटा अमूल्य सम्झना हो । उनीसँगको यात्रा सधैँ प्रेरणादायक रह्यो । त्यो आत्मीय मुस्कान, सबैलाई माया गर्ने उनको स्वभाव, अनि कहिल्यै थाक्न नजान्ने उनीको जाँगरले जीवनलाई अझ अर्थपूर्ण बनाइदियो ।
म उनलाई व्यक्तिगत रूपमा भेट्न पाएको सौभाग्य अगाडि नै उनका आवाज मेरा लागि साथी बनिरहे । उनको आवाज मेरो बाल्यकालको साथी थियो, मेरो संघर्षका पलहरूको प्रेरणा थियो । रेडियोमा उनले भन्ने शब्दहरूले जीवनलाई एक अद्भुत उत्साह दिने गथ्र्यो ।
आज उनी शारीरिक रूपमा हामीसँग छैनन् तर उनीको माया, आवाज र आत्मीयता हामीसँग सधैँ रहनेछ । उनको स्मृतिहरू एक पुस्तकको पानाजस्तै छन्, जसलाई हामी बारम्बार पल्टाएर हेर्नेछौँ । उनले हामीलाई देखाएको बाटो, दिएको शिक्षा र छोडेको सन्देश सधैँ प्रेरणादायी रहिरहनेछन् ।
जिन्दगीका कतिपय पाटाहरू सधैँभरिको सम्झनाका चिरस्थायी कोष बनेर मनमा बस्छन् । रेडियोको त्यो प्रिय आवाज पनि त्यस्तै एउटा स्मृति हो, जसले समयको भित्तामा लेखिएका कथाहरूलाई कहिल्यै मेट्न दिँदैन ।
अभिजात वर्गका मानिसहरू रेडियो सुन्ने क्रममा पनि आफ्नो छुट्टै आडम्बर देखाउँथे । उनीहरूका रेडियो सेट महँगा, आयातीत र ठुलो स्वरका हुन्थे ।
‘जदौ दाहाल’ यो आवाजमा अभिव्यक्तिको अपनत्व थियो । यस शब्दले मानिसका मनमा उषाको झुल्काझैँ ऊर्जामय वातावरण सिर्जना गथ्र्यो । बाल्यकालमा रेडियोको प्रत्येक बिहान यही शब्दको अनुगुञ्जनबाट सुरु हुन्थ्यो । लाग्थ्यो, यो आवाज कुनै देवदूतको उद्घोष हो । यसले गाउँ–सहरका घरका भित्ताहरू र मनका कुना–कन्दरालाई एकैसाथ स्पर्श गर्छ ।
तिनताका रेडियो सूचना र मनोरञ्जनको साधन मात्र थिएन । त्यो एउटा गहिरो भावनात्मक सम्पर्कको माध्यम थियो । यसमा प्रतिध्वनित हुने आवाजहरूले मानिसहरूलाई समाज, राजनीति र संस्कृतिको एउटा धरोहरमा बाँधेर राख्थ्यो । रेडियोमा उद्घोषण गर्ने ती व्यक्ति जनताको जीवनका अभिन्न साथी थिए ।
रेडियोमा उद्घोष गर्ने एउटा नाम यज्ञनिधि ! उनको स्वर लहरीले अभिजात वर्गको मानसिकता र सर्वसाधारणको चाहनालाई एउटा साझा बिन्दुमा ल्याएको थियो । उनको स्वरको मिठासले अभिजात वर्गका लागि ‘शान’ र सर्वसाधारणका लागि ‘चाह’ बन्ने पुल खडा गरिदिएको हुन्थ्यो ।
अभिजात वर्गका मानिसहरू रेडियो सुन्ने क्रममा पनि आफ्नो छुट्टै आडम्बर देखाउँथे । उनीहरूका रेडियो सेट महँगा, आयातीत र ठुलो स्वरका हुन्थे । सर्वसाधारणका घरमा मुस्किलले सानो र सामान्य रेडियो हुन्थ्यो तर यसबाट विषयवस्तु र कार्यक्रमका लागि चाह भने समान थियो । यो समानताको सूत्रधार यज्ञनिधिजस्तै व्यक्तित्व थिए ।
उनको आवाजले एकताको बिगुल बजाउँथ्यो । उनको स्वर सुन्दा दर्शक–श्रोता चुपचाप सियो खसे आवाजमा हुन्थ्यो । एकातिर उनले अभिजात वर्गका मानिसको मनोविनोदमा कटाक्ष गर्थे । अर्कातिर उनले सर्वसाधारणलाई शिक्षित र जागरुक बनाउँथे । उनको बोलीले लट्ठ नपर्ने कोही हुँदैनथ्यो । यी पंक्तिकारसँग जदौ दाजुका गफ सुन्दै डाँडा काटेको पत्तै नपाएका बग्रेल्ती सम्झनाका बिस्कुन छन् । गफैगफमा रात छर्लङ्गै बितेको धेरै सम्झनाका कैरनहरू छन् ।
रेडियोको त्यो प्रिय आवाज उद्घोषण थिएन । त्यो भावना, एकताको प्रतीक र समयको स्मृति थियो । यज्ञनिधिजस्ता व्यक्तित्वले रेडियोको मञ्चलाई सूचना प्रवाहको साधन मात्र होइन, मानिसका मनको गहिरो आवाज बनाइदिए ।
त्यसैले रेडियोको प्रिय आवाज थिए जदौ दाहाल यज्ञनिधि । बिहानको सन्नाटा तोड्दै घरको कुनाबाट सुनिने रेडियोको सुमधुर त्यो आवाज प्रिय आवाज । यसले रेडियो सुन्ने हाम्रो बालापनलाई प्रेरणा दिने गथ्र्यो । नेपाली रेडियोका प्रसिद्ध आवाज जदौ दाहाल यज्ञनिधिको झर्रो नेपाली, ठेट ग्रामीण मिठास, अनि मन–मुटु छुने स्वरले हामी माझ छुट्टै प्रभाव पारेको थियो ।
यज्ञनिधि दाहालको भाषामा सहर–बजारदेखि ग्रामीण बस्तीका देउराली र चौतारीसम्म सबैलाई बाँधेर राख्थ्यो । त्यो झर्रो नेपाली, जसमा उकाली–ओरालीको नागबेलीझैँ गीति लय हुन्थ्यो । त्यो प्रिय मिठासले गाई चराउँदै बसेका गोठालादेखि सिकुवामा गुन्द्री बुन्दै गरेकी आमासम्म र घाँसे–दाउरेलाई समेत रेडियोको नजिक बोलाउँथ्यो । उनको बोलीमा घर–गाउँको सुगन्ध हुन्थ्यो । त्यसमा हृदयको स्पर्श मिल्थ्यो । ‘जदौ’सँगै अभिजात वर्गप्रति लुकिछिपी होइन प्रत्यक्ष कटाक्ष हुन्थ्यो । आजको भाषामा ‘भुइँमान्छे’प्रति जदौ दाहालको हार्दिक प्रेम अथाह अभिव्यक्त हुन्थ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँझो जग्गामा सामूहिक आलुखेती
-
नेपाल–कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल
-
‘केबलकारले पहिचानको प्रवर्द्धन गर्छ, नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ’
-
२७ वर्षपछि दिल्लीमा भाजपाको पुनरागमन
-
केजरीवालको हारलगत्तै दिल्ली मुख्यमन्त्रीको सचिवालयमा मोदीले गराए सिल
-
आगलागीपछि खानेपानी मन्त्रालयको मर्मत सम्भार कार्य सुरु