अस्ट्रेलिया जाने खर्च जुटाउन राइसकुकर मर्मतकर्तालाई हनीट्रयापको ‘जाल’
![अस्ट्रेलिया जाने खर्च जुटाउन राइसकुकर मर्मतकर्तालाई हनीट्रयापको ‘जाल’](https://npcdn.ratopati.com/media/news/ashmita-acharya-10.25-(2081)_aEL8r92zxD.jpg)
काठमाडौँ । चितवन रत्ननगर नगरपालिका–८ घर भएर कुलेश्वर बस्ने अस्मिता आचार्य अहिले जिल्ला प्रहरी परिसर काठमाडौँका हिरासतमा छिन् । उनीमाथि लागेको आरोप हो, ‘हनीट्रयाप’ । अर्थात पुरुषलाई जालमा पारेर रकम असुल गर्न खोजेको आरोप ।
२८ वर्षीया आचार्यले ५० वर्षीय पुरुषलाई हनीट्रयापमा पारेको आरोपमा माघ २२ मा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । अनुसन्धान कार्यालयको पत्रको आधारमा काठमाडौँ प्रहरीले उनीविरुद्ध आपराधिक लाभ लिन खोजेको कसुरमा अनुसन्धान गरिरहेको छ ।
करिब ४ महिनाअघि अस्मिता कुलेश्वर स्थित एक इलेकट्रोनिक सामग्री मर्मत पसलमा जान्छिन् । त्यहाँ उनले राइसकुकर मर्मत गरिदिन भनिन् । राइसकुकर मर्मतकर्ताको फोन नम्बर लिइन्, कुरा गर्न थालिन् । अर्कोपटक उनी हटपट मर्मत गराउन गइन् । मर्मतकर्तासँग उनले ऋण सापट लिन थालिन् ।
सुरुमा चार–पाँच हजार ऋण लिएपछि उनले २ लाख रुपैयाँ मागिन् । पसल सञ्चालकले दुई लाख रुपैयाँ दिन आनाकानी गरेपछि उनलाई अस्मिताले ठमेलमा गएर सँगै खाजा खान आग्रह गर्छिन् । एकपटक उनीहरूले ठमेलमा गएर खाजा खाएको अनुसन्धानमा संलग्न उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी रोशन खड्काले रातोपाटीलाई बताए ।
अस्मिता जाल बिछ्याउँदै थिइन् । एकदिन उनले प्रस्ताव गरिन्, ‘सिनामंगल तिर एउटा होटलमा गएर बसौँ ।’ दुवैजना होटलमा पुग्छन् । होटलमा गएपछि अस्मिताले ‘रकम नदिए बलात्कार मुद्दामा फसाउँछु’ भनेपछि पुरुष छाँगाबाट खसेजस्तै भए । अस्मिताले पुरुषसँग १० लाख माग्न थालिन् ।
४ दिनसम्म पैसा नदिएपछि राइसकुकर मर्मतकर्ताको छोराको फेसबुक म्यासेन्जरमा म्यासेजर गरेर उनले भनिन्, ‘तिम्रो बुवाले मलाई बलात्कार गरेको छ, प्रहरीकहाँ उजुरी लिएर जान्छु ।’
त्यसपछि मर्मतकर्ताको परिवारमा हल्ला फैलियो । उनी १० लाख दिन राजी भए । ३ लाखको चेक दिएर एक हप्तामा दिने सहमति गरे ।
घटनाबारे जानकारी पाएपछि अस्मितालाई ३ लाख चेक लिएको अवस्थामा चेकसहित पक्राउ गरिएको एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
आरोपीको बयान : अस्ट्रेलिया जाने खर्च जुटाउन योजना बनाएँ
अस्मिताले अस्ट्रेलिया जाने खर्च जुटाउन मर्मतकर्तालाई हनीट्रयापमा पार्ने योजना बनाएको प्रहरीलाई बताएकी छन् । अनुसन्धान अधिकृतहरूसँग उनले भनेकी छन्, ‘श्रीमान् अस्ट्रेलियामा हुनुहुन्छ, म पनि जाने तयारीमा थिएँ पैसाको खाँचो थियो ।’
हनीट्रयापलाई उनले खर्च जोहो गर्ने माध्यम बनाएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको अनुसन्धानमा संलग्न डीएसपी खड्काले बताए । अस्मिताले बिबिए सम्मको अध्ययन गरेकी छन् ।
काठमाडौँ महानगरपालिका–१३ कुलेश्वर बस्ने अस्मिताविरुद्ध प्रहरीले अदालतबाट आपराधिक लाभ लिन नहुने कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।