'जनवरी २० पछि देश निकालाका लागि आइसले मागेको छैन नेपालीको ट्राभल डकुमेन्ट'
!['जनवरी २० पछि देश निकालाका लागि आइसले मागेको छैन नेपालीको ट्राभल डकुमेन्ट'](https://npcdn.ratopati.com/media/news/amrica_BofvGNeYAF.webp)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेदेखि जनवरी २० पछि कुनै नेपालीलाई अमेरिकाबाट देश निकालाका लागि अमेरिकी अध्यागमन आइसबाट ट्राभल डकुमेन्टको अनुरोध नआएको वासिङ्टन डिसीमा रहेको नेपाली दूतावास श्रोतले जनाएको छ । देश निकालामा पर्ने कुनै नेपालीको पासपोर्ट नभएको खण्डमा वा पासपोर्टको म्याद सकिएको खण्डमा अमेरिकी अध्यागमन आइसले दूतावास समक्ष ट्राभल डकुमेन्टका लागि अनुरोध गर्दै आएको छ ।
अमेरिकाबाट देश निकाला हुने आफ्ना नागरिक नेपालले सहज रूपमा नै स्वीकार गर्दै आएको छ । सोही अनुरूप वासिङ्टन डिसीमा रहेको नेपाली दूतावासले पनि आइसबाट अनुरोध आएको खण्डमा सहज रूपमा नै अमेरिकाबाट देश निकाला हुने नेपाली नागरिकको ट्राभल डकुमेन्ट बनाइदिँदै आएको छ । दूतावासले तोकिएको शुल्क लिएर नै ट्राभल डकुमेन्ट बनाइदिने गरेको र उक्त शुल्क आइसले तिर्ने गरेको जनाइएको छ ।
आइसले न्युयोर्कमा रहेको नेपाली कन्सुलेटमा भने ट्राभल डकुमेन्टका लागि अनुरोध नपठाउने गरेको जनाइएको छ । न्युयोर्कको कन्सुलेटको कार्यक्षेत्राधिकारभित्र पर्ने क्षेत्रबाट देश निकालामा पर्ने नेपालीहरूका लागि समेत आइसले वासिङ्टन डिसीमा रहेको दूतावास समक्ष नै ट्राभल डकुमेन्टका लागि अनुरोध गर्दै आएको छ ।
अमेरिकाबाट देश निकाला हुने आफ्ना देशका नागरिकहरू स्वीकार नगर्ने देशलाई कारबाही गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिँदै आएका छन् । सोही अनुरूप कतिपय देशका सरकारी अधिकारीहरूलाई अमेरिकी भिसामा अमेरिकाले बेलाबेलामा प्रतिबन्ध समेत लगाउँदै आएको छ । तर नेपालका सन्दर्भमा भने कहिले पनि यस्तो समस्या उत्पन्न भएको छैन ।
देश निकालामा पर्ने नेपालीहरूको म्यादसहितको पासपोर्ट भएमा भने आइसले दूतावासमा कुनै जानकारी नदिई त्यस्ता व्यक्तिलाई देश निकाला गर्ने गरेको छ । यद्यपि त्यस्ता नेपालीबारे आइसले नेपालको अध्यागमन विभागलाई भने जानकारी प्रदान गर्ने गरेको छ ।
आइसले पक्राउ गरेर तुरुन्तै देश निकाला गर्न सक्ने भनेको अमेरिकाबाट पहिले नै देश निकालाका आदेश पाइसकेका वा अमेरिकामा कुनै कागजात फाइल नगरी बसेका अमेरिका आएको २ वर्ष नपुगेका कागजातविहीनलाई मात्र हो । अन्य व्यक्तिलाई देश निकालाका लागि आइसले अध्यागमन अदालतमा पेस गरेर त्यहाँबाट देश निकालाको आदेश लिनुपर्छ । र, यो प्रक्रियाका लागि कैयन महिना लाग्न सक्छ ।
खसोखासले जनवरी २० पछि कुनै नेपाली देश निकाला भए नभएकोबारे आइससँग विवरण मागेको छ । तर यो समाचार तयार पार्दासम्म कुनै विवरण प्राप्त भएको छैन । यद्यपि बाइडेन प्रशासनको ४ वर्षमा अमेरिकामा १३२ जना नेपालीहरूलाई आइसले पक्राउ गरेको र १३० जनालाई डिपोर्ट गरेको आइसले जनाएको छ । त्योबाहेक सिमाक्षेत्रमा सीबीपीले पक्राउ गरेर आइसको हिरासतमा पठाएका नेपालीहरूको सङ्ख्या २७ सयभन्दा बढी रहेको थियो । आइसको रिपोर्ट अनुसार ४ वर्षको अवधिमा आइसको हिरासतमा २८९१ जना नेपालीहरू परेका थिए ।
आइसले बाइडेन कार्यकालको पहिलो वर्ष आर्थिक वर्ष २०२१ मा ११, २०२२ मा ३०, २०२३ मा ५६ र २०२४ मा ३५ जना नेपालीहरूलाई अमेरिकाका विभिन्न क्षेत्रबाट पक्राउ गरेको थियो । जसमध्ये २०२४ मा १० जना नेपालीहरू विभिन्न अपराधमा दोषी ठहरिएकाहरू थिए भने २०२३ मा पक्राउ परेकाहरूमा ११ जना विभिन्न अपराधमा दोषी ठहरिएकाहरू रहेको आइसले जनाएको खसोखास डट कमले उल्लेख गरेको छ ।