वन नजिकका बस्तीमा जङ्गली हात्तीको उपद्रो
महोत्तरी । महोत्तरीको उत्तरी भेगका वनक्षेत्र नजिकका बस्तीमा जङ्गली हात्तीले उपद्रो मच्चाएका छन् । पूर्वपश्चिम राजमार्गक्षेत्र दायाँबायाँका वन नजिकका बस्तीमा पछिल्ला तीन दिनयता जङ्गली हात्तीको उपद्रो बढेको हो ।
गौशाला र बर्दिबास नगरपालिका क्षेत्रका बस्तीमा समूह मै पसेका जङ्गली हात्तीले मध्यरातपछि उपद्रो मच्चाउने गरेको बर्दिबास–५ गणन्ताका ८५ वर्षीय धनबहादुर स्याङ्वा बताउँछन् । पछिल्लो एक सातादेखि दिनभरि वनक्षेत्रमा लुकेर राति बस्ती पस्ने हात्तीले बर्दिबास नगरक्षेत्रभन्दा गौशालामा बढी क्षति गरेको छ ।
बिहीबार रातीमात्र हात्तीले गौशाला–८ ढल्केबरमा पाँच/सातवटा गोठघर भत्काइ दिएको छ । गज, ढोइ र छावासहितको हात्तीको समूहले सागरनाथ वनविकास परियोजनाको प्लटसँगै जोडिएका गौशाला–८ का पाँचभन्दा बढी बस्तीमा उखु, केरा, कोवी, मकै र गहुँसहितका बाली उखेल्ने, माड्ने गरेर क्षति पुर्याएको छ । जङ्गली हात्तीको समूह बिहानपख बर्दिबास–५ को सोनापेटी, ढुङ्ग्रे र खयरमाराका दक्षिणीटोल पसेको स्थानीयले बताएका छन् ।
अधिकांश मध्यरातपछिको समयमा हात्ती बस्ती पस्ने गरेको र बिहान चार बजेअघि नै वनक्षेत्रको सुरक्षित बासस्थानतिर जाने गरेको गौशाला–८ ढल्केबरकै मीन रहपाल बताउँछन् ।
जङ्गली हात्तीले बर्सेनीजसो बर्दिबास र गौशालाका बस्तीमा उपद्रो मच्चाउँदै आएपनि यसको समाधान भने हुन सकेको छैन । हात्तीले गत वर्ष हिउँदमा बर्दिबास–३ पाटुमा दुई वटा घर नै लडाएर विचल्ली बनाएको थियो । त्यसअघि हात्तीले बर्दिबास–३ कै पर्साहीधाप र रजबासका सात घर भत्काएको पीडितले अझै बिर्सेका छैनन् ।
यसपालि सर्लाहीतिरबाट महोत्तरी पसेको हात्तीले एक साताअघि छिमेकका सर्लाहीका बस्तीमा बालीनाली निकै क्षति गरेको थियो । कहिले सिन्धुलीतिरबाट चुरे कटेर महोत्तरी पस्ने हात्तीले धनुषाको मिथिला नगरपालिकाको ढल्केबर शिरानका बस्तीसम्म उपद्रो मच्चाउने गरेको छ । पाँच वर्षअघि हात्तीले ढल्केबरमा घर भत्काएर मान्छेलाई सुँडले तान्दै पछारेर मारेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुष्पसदन टेबलटेनिसमा सेन्टमेरिज र डिलाईटको जित
-
बास्केटबलमा एक्सेल्सियरको दोहोरो जित
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, यी चार प्रदेशमा हिमपातको सम्भावना
-
यूएसएआईडीका दश हजार कर्मचारीको जागिर चट् पार्ने ट्रम्पको योजनामा अस्थायी रोक
-
७५३ वटै पालिकामा डीडीसीका उत्पादन बिक्रीको व्यवस्था मिलाउन माग
-
आज भीमा एकादशी व्रत, भगवान् विष्णुको पूजा गरी मनाइँदै