शनिबार, २६ माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ्

१२ बजे, १२ समाचार : रविको धरौटी तिर्ने बैंकले धोका खानेदेखि विपिन जोशीको रिहाइका लागि सभामुखको पहलसम्म

शनिबार, २६ माघ २०८१, ०० : ३१
शनिबार, २६ माघ २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१. रविको सम्पत्ति विवरण
जिल्लैपिच्छे सहकारी ठगी प्रकरणमा धरौटी रकम बुझाउने रास्वपाका सभापति रवि लामिछानेको सम्पत्ति विवरणचाहिँ कति छ ? भन्ने चासो समेत धेरैमा छ ।   लामिछाने राजनीतिमा आउनुअघिसम्म टेलिभिजन प्रस्तोता थिए । उनी २०७९ को निर्वाचनमा चितवनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । त्यहाँबाट निर्वाचित भएपछि दुई पटक उपप्रधान तथा गृहमन्त्री बनेका लामिछानेले २०८१ वैशाख ४ गते उपप्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाएको सम्पत्ति विवरण हेर्दा उनका नाममा भक्तपुर जिल्लामा १ रोपनी १ आना जग्गा रहेको उल्लेख छ । त्यो पनि उनले पैतृक सम्पत्तिका रूपमा देखाएका छन् । त्यस्तै नगद ग्लोबल आईएमई बैंकमा ५ हजार र नेपाल बैंक लिमिटेडमा १ लाख ५ हजार रकम गरी १ लाख १० हजार रुपैयाँ मौज्दात रहेको देखाएका छन् । यसले, रविको धरौटी रकमको ग्यारेन्टी बस्ने बैंकले धोका खाने देखिएको आँकलन जानकारहरुले गरेका छन् । 

२. रविप्रति नरम प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार संसदमा सम्बोधन गर्नेक्रममा पूर्वगृहमन्त्री सभापति रवि लामिछानेको बचाउमा उत्रिए । प्रमुख प्रतिपक्ष दलको हैसियतमा सम्बोधन गरेका उनले न्यायपालिकालाई धम्क्याएर सरकारले रविलाई जेलमा सडाइछाड्ने षड्यन्त्र गरेको आरोप लगाए । प्रधानमन्त्री केपी ओलीप्रति आक्रोश पोखेका प्रचण्डले रविविरुद्ध प्रतिशोध र पूर्वाग्रह राखेर सरकारले सिङ्गो राज्य शक्तिको दुरुपयोग गरेको जिकिर गरे । प्रचण्ड रविप्रपति नरम देखिँदै आएका छन् ।

३. युक्रेनी जेलबाट फर्किए नेपाली
९ महिना युक्रेनी अध्यागमनको हिरासतमा रहेका दुई जना नेपाली स्वदेश फर्किएका छन् । त्यसरी फर्किनेहरूमा दोलखाका शेर साङ्बो शेर्पा र तेह्रथुमका फुर्वा शेर्पा रहेका छन् । भाषा अध्ययनसँगै रोजगारीका लागि युक्रेन पुगेका उनीहरूलाई अध्यागमनले कानुन तोडेको केशमा नियन्त्रणमा लिएको थियो ।  

४. नजर उपेन्द्रतिर
अध्यादेश पारित गर्ने सन्दर्भमा राष्ट्रियसभामा निर्णायक भएका कारण उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालतर्फ यतिबेला सबैको ध्यान केन्द्रित छ । अहिलेकै अवस्थामा यादवको पार्टी अध्यादेशको पक्षमा नउभिने छनक पाएसँगै सरकार बिहीबार दुवै सदनको कार्यसूचीबाट अध्यादेशलाई निणयार्थ पेस गर्ने तयारीबाट पछि हट्न समेत बाध्य भएको थियो । उपेन्द्रले सार्वजनिक रुपमै अध्यादेशबारे असन्तुष्टि जनाउँदै आएका छन् । 

५. कमजोर बजेट खर्च
चालु आर्थिक वर्षको ६ महिनामा कुल ६ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख रुपैयाँ बजेट खर्च भयो । सरकारले विनियोजन गरेको १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँमध्ये यो अवधिमा ३५।८९ प्रतिशत बजेट खर्च भएको छ । यसरी भएको खर्चमध्ये पनि ऋण तिर्ने खर्ब सबैभन्दा उच्च छ । यो वर्ष २ खर्ब ६७ अर्ब २८ करोड ३२ लाख रुपैयाँ विनियोजन भएको वित्तीय व्यवस्था खर्चमा ४३।२० प्रतिशत खर्च हुँदा कुल खर्च १ खर्ब ५८ अर्ब ६६ करोड ६९ लाख रुपैयाँ पुगेको छ । ऋण तिर्ने प्रयोजन मात्रै भएकोले यो वर्ष बजेट खर्चको लक्ष्य पनि ९९ प्रतिशत भन्दा माथि राखिएको छ ।

६. संसद् बैठक
प्रतिनिधि सभाको बैठक माघ २७ गते बस्नेगरी स्थगित भएको छ । सभामुख देवराज घिमिरेले अर्को बैठक माघ २७ गते बस्नेगरी स्थगित भएको घोषणा गरेका हुन् । शुक्रबारको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेस गरेका छन् । त्यस्तै कानुनमन्त्री अजयकुमार चौरसियाले कानुन न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयक २०८० र विधायन विधेयक २०८१ लाई पारित गरियोस् भनेर प्रस्ताव पेस गरेका छन् ।

७. सदस्य नियुक्ति
५१ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पहिलो चरणमा उनीहरूलाई नियुक्त गरेका हुन् ।

८. आठ दलीय मोर्चा मौन
कांग्रेस–एमाले नेतृत्वको गठबन्धनले संविधान संशोधन गरेर थ्रेसहोल्ड प्रतिशत बढाउने तयारी गरेपछि त्यसविरुद्ध मधेस केन्द्रित दलहरूले पनि मोर्चाबन्दी गरे । तर, सरकारले ल्याएको अध्यादेशको विषयमा भने मधेस केन्द्रित ८ दलको मोर्चा अहिलेसम्म मौन देखिएको छ ।

९. जोशीको रिहाइको पहल
सभामुख देवराज घिमिरेले हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि पहल गरेका छन् ।  सभामुख घिमिरेले अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई शुक्रवार पत्र लेख्दै विपिन जोशीको सकुशल रिहाइका लागि विशेष पहल गरिदिन अनुरोध गरेका हुन् ।

१०. मुख्यमन्त्रीसँग प्रमखको भर्चुअल बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा प्रवाह, सुशासन, समग्र प्रगति, विद्यमान चुनौती र सङ्घीय सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा आज मुलुकका सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल बैठक गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘एक्सन रुम’ बाट प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरूसँग पहिलोपटक यस प्रकारको संवाद गरेका हुन् ।

११. स्थानीय तहका कर्मचारी आन्दोलित 
कर्णाली प्रदेश सरकारले गत असोज २९ गते जारी गरेको ‘स्थानीय सेवा (गठन र सञ्चालन) ऐन-०८१’ विभेदकारी भएको भन्दै स्थानीय तहका कर्मचारीहरु यतिबेला काम ठप्प पारेर वीरेन्द्रनगरमा आन्दोलन गरिरहेका छन् । पटक–पटक लिखित र मौखिक रुपमा ऐन संशोधनको आवाज उठाउँदै आएका कर्मचारीको प्रदेश सरकारले सुनुवाई नै नगरेपछि आन्दोलनमै होमिएका हुन् । 

१२. विष्फोटमा चार जनाको मृत्यु
भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा शुक्रबार एउटा पटाखा कारखानामा भएको भीषण विस्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पश्चिम बङ्गालको राजधानी कोलकाताबाट करिब ५५ किलोमिटर उत्तरमा रहेको नादिया जिल्लाको कल्याणी क्षेत्रमा विस्फोट भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप