शनिबार, २६ माघ २०८१
ताजा लोकप्रिय

साहित्य उत्सव : जनकपुरका विविध पक्षबारे मन्थन

शुक्रबार, २५ माघ २०८१, २२ : ५०
शुक्रबार, २५ माघ २०८१

धनुषा । जनकपुर साहित्य उत्सवको दोस्रो दिन आज पनि विभिन्न विषयमा गहन छलफल तथा विमर्श भएको छ । पहिलो सत्रमा ‘जनकपुरधामक चुनौती का अवसर’ विषयक बहसमा वक्ताहरूले जनकपुरधामको समग्र विकासका लागि आवश्यक कदमबारे चर्चा गरे ।

उक्त सत्रमा तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष एवं जनकपुरधामका पूर्वनगर प्रमुख वृषेश चन्द्रलालले जनकपुरधामको प्राचीन महत्वलाई पुनःस्थापित गर्न आवश्यक संरचनात्मक सुधार र दीर्घकालीन योजना अपरिहार्य भएको बताए ।

त्यसैगरी, जनकपुरधामका पूर्वनगर प्रमुख बजरङ्गप्रसाद साहले सहरको आर्थिक र सामाजिक विकासका लागि राजनीतिक इच्छाशक्ति र एकीकृत प्रयास आवश्यक भएको बताए । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले पनि सहरको सम्भावनालाई उजागर गर्दै हालको अवस्था सुधार्न आफू प्रतिबद्ध रहेको बताए ।

उनले सहरको विकास योजनामा जनसहभागिता र सरकारी निकायबीचको सहकार्यलाई प्रोत्साहन गर्दै जनकपुरधामको समृद्धि सुनिश्चित गर्नुपर्ने धारणा राखे ।  दोस्रो सत्रमा ‘डिजिटल युगमे पठन–संस्कृति’ विषयमा भएको छलफलमा डिजिटल प्रविधिले पठन संस्कृतिमा आएको परिवर्तन, चुनौती र सम्भावनाबारे बहस गरिएको थियो ।

सो सत्रमा मधेस प्रदेशसभाका प्रदेशसभा सदस्य रामअशिष यादव, अर्थशास्त्री डा सुरेन्द्र लाभ र शिक्षाविद् डा मञ्चला झाले आआफ्ना दृष्टिकोण प्रस्तुत गरे । यो सत्रको सहजीकरण पत्रकार सुजीतकुमार झाले गरेका थिए ।

प्रदेशसभा सदस्य रामअशिष यादवले डिजिटल युगले पठन संस्कृतिमा व्यापक प्रभाव पारेको बताए । ‘इन्टरनेटको सहज पहुँचले युवापुस्तालाई सतही जानकारीमा सीमित गराइरहेको छ’, उनले भने, ‘तर यो प्रविधि सही ढङ्गले उपयोग गरेमा गहिरो ज्ञान हासिल गर्न सकिन्छ ।’

डा. सुरेन्द्र लाभले डिजिटल पठनको आर्थिक पक्षमा जोड दिँदै यसले किताब, पत्रिका र प्रकाशित सामग्रीको माग घटाएको र डिजिटल सामग्रीको बढ्दो प्रयोगले व्यापारिक ढाँचामा परिवर्तन ल्याएको बताए ।
डा.मञ्चला झाले डिजिटल युगमा पठन–संस्कृतिलाई बचाइराख्न शैक्षिक प्रणाली र पाठ्यक्रममा सुधार आवश्यक रहेको बताइन्  । वक्ताहरूले पठन संस्कृतिको प्रवर्द्धनका लागि डिजिटल साधनको विवेकपूर्ण प्रयोग गर्नुपर्ने र शिक्षालाई प्रविधिसँग मिलाएर अगाडि बढाउनुपर्नेमा जोड दिए । 

त्यसैगरी तेस्रो सत्र ‘क्रिकेट : समस्या समाधान र सम्भावना’ शीर्षकमा सम्पन्न भयो । यस सत्रमा नेपाल क्रिकेटको हालको स्थिति, चुनौतीहरू र भविष्यको सम्भावनालाई केन्द्रबिन्दुमा राखेर गहन छलफल गरिएको हो ।

उक्त सत्रमा नेपाल क्रिकेट सङ्घका पूर्वकार्यकारी अधिकृत भावना घिमिरे, केन्द्रीय कार्यसमिति सदस्य सुदीप शर्मा र विराटनगर किङ्ग्सका लगानीकर्ता सुयश प्याकुरेलले आफ्ना विचार व्यक्त गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप