शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय

समाजवादी क्रान्तिको सङ्कल्प गर्ने बेला आयो : अध्यक्ष प्रचण्ड

शुक्रबार, २५ माघ २०८१, २० : ०१
शुक्रबार, २५ माघ २०८१

काभ्रे । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको सङ्कल्प गर्ने बेला आएको बताएका छन् । माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेपलान्चोकको आयोजना धुलिखेलमा भएको राजनीतिक वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । 

उनले अहिले देशभरि भइरहेका भेला र प्रशिक्षणहरूलाई समाजवादी क्रान्तिकै तयारीको रूपमा बुझ्न पनि कार्यकर्ताहरूलाई आग्रह गरे । ‘हामीले जनयुद्धको तयारी गर्दा पनि यसरी नै देशभरि भेला र प्रशिक्षण गरेका थियौँ’, उनले भने, ‘अहिले हामी समाजवादी क्रान्तिको तयारीको चरणमा फेरि त्यस्तै कार्यक्रमहरू गरिरहेका छौँ, यो हामीले समाजवादी क्रान्तिको सङ्कल्प गर्ने बेला हो ।’

जनयुद्ध गर्नुअघि माओवादी शक्तिलाई विरोधीले नपत्याएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले स्पष्ट विचार, सिद्धान्त र कार्यक्रमका आधारमा जनयुद्ध अघि बढाएकाले देशकै प्रमुख शक्तिको रूपमा स्थापित हुन सफल भएको बताए । ‘पछिल्लो शान्तिकालमा हामी कतै लरबरायौँ, अलिकति सुधारवाद र उदारवादमा हरायौँ, जसले गर्दा हाम्रो आफ्नै वर्गले पनि क्रान्तिका बाँकी सपना अधुरै रहन हुने कि भन्ने आशंका गर्न थाल्यो’, उनले भने, ‘तर, अहिले हामीले गम्भीर आत्मसमीक्षा गरेका छौँ, भर्खरैको केन्द्रीय समिति बैठकपछि हामीले सुधारवाद र उदारवाद होइन, वामपन्थ र क्रान्तिकारी लाइन दह्रोसँग पकड्ने सङ्कल्प गरेका छौँ, यही नै हाम्रो समाजवादी क्रान्तिप्रतिको सङ्कल्प हो ।’

शान्ति सम्झौता गरेर पार्टी बहुदलीय प्रतिस्पर्धामा आएपछि दायाँ र बायाँ गर्दै अघि बढ्ने क्रममा माथिदेखि तलसम्म नेता कार्यकर्ताहरू बढी नै दायाँतिर ढल्कन थालेको यथार्थ बोध गरेर नै अब पार्टीलाई बायाँतिर अघि बढाउने नीति र कार्यक्रम अघि सारिएको उनले स्पष्ट गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप