काठमाडौँ महानगरले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड दिने
![काठमाडौँ महानगरले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड दिने](https://npcdn.ratopati.com/media/news/476063865_637689072267736_8445613400138368741_n_s8C2rqtYNJ.jpg)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको शिक्षण क्रियाकलापका लागि स्मार्ट एलइडी बोर्ड उपलब्ध गराउने भएको छ । बिहीबार नगर शिक्षा समितिका संयोजक एवं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको समितिको बैठकले बोर्ड वितरण गर्ने निर्णय गरेको हो ।
शिक्षा विभागले सार्वजनिक खरिद प्रक्रियामार्फत प्राप्त गरेका वोर्डहरु सूचना प्रविधि विभागबाट बोलपत्रको स्पेशिफिकेसन सम्बन्धी प्राविधिक जाँच गराएर विद्यालयहरूमा वितरण गर्ने निर्णय गरेको हो । यसका लागि ३१३ थान बोर्डहरू खरिद गरिएका छन् ।
बैठकले आधारभूत तह (कक्षा–८) उत्तीर्ण परीक्षा समितिका सदस्य मनोनयन गरेको छ । काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा नियमावली, २०७४ को नियम ३६ (२) मा आधारभूत शिक्षा उत्तीर्ण परीक्षाको सञ्चालन र व्यवस्थापन गर्नका लागि शिक्षा अधिकारीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गर्ने व्यवस्था छ ।
यसमा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुमध्ये एकजना, स्थायी शिक्षकहरूमध्ये आधारभूत र माध्यमिक तहबाट एक जना पर्ने गरी २ जना सदस्य शिक्षा समितिले मनोनयन गर्ने व्यवस्था छ ।
यसअनुसार बाल व्यवसायी माध्यमिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद ढुङ्गाना, कुलेश्वर माध्यमिक विद्यालयका माध्यमिक तहका गणित शिक्षक मञ्जु मगराती र विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वरका निम्न माध्यमिक तहका नेपाली शिक्षक विष्णुहरि अधिकारी मनोनीत भएका छन् ।
यस्तै संस्थागत विद्यालयका शिक्षकहरूमध्ये ज्ञानमन्दिर माध्यमिक विद्यालयका शिक्षक रविन बस्नेत र अभिषेक ज्ञान मन्दिर माध्यमिक विद्यालयका शिक्षक श्याम योञ्जन मनोनयन भएका छन् । समितिको सदस्य सचिवमा विभागबाट परीक्षा हेर्ने अधिकृत रहनेछन् ।
समितिले सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाको संयोजकत्वमा संस्थागत विद्यालय वर्गीकरण तथा शुल्क प्रस्ताव समिति गठन गरेको छ । शिक्षा समितिका सदस्य एवं वडाध्यक्ष चिनीकाजी महर्जन, दिनेश महर्जन र विनोदकुमार राजभण्डारी समितिको सल्लाहकार रहेका छन् ।
आयोगका सहायक विज्ञ सस्मित पोखरेल, शिक्षा अधिकृत रुक्मिला इटनी, अभिभावक संघको अध्यक्ष वा सदस्य वा त्यस्तो संघ नभएमा अभिभावकहरूमध्ये २ जना मनोनीत, महानगरपालिका स्तरीय प्याब्सन, एनप्याब्सन, शिक्षा विभागको इन्जिनियर समितिको सदस्य हुनेछन् । समितिको सदस्य सचिवको काम शिक्षा विभागका प्रमुखले गर्नेछन् ।
मापदण्डका आधारमा विद्यालयको वर्गीकरणको प्रारुप तयार पार्ने, शुल्क सम्बन्धी सिफारिस तयार पार्ने, शुल्कबमोजिम सेवा सम्बन्धी अवस्था अध्ययन गरेर शिक्षा समितिमा पेस गर्ने दायित्व समितिलाई दिइएको छ ।
शिक्षक दरबन्दी मिलान सम्बन्धी प्रस्तावमा बैठकले छलफल गरेको थियो । काठमाडौँ महानगरपालिकाको दरबन्दी मिलान तथा प्रधानाध्यापक नियुक्ति सम्बन्धी कार्यविधि, २०८० बमोजिम गठन गरिएको ‘दरबन्दी मिलान समिति’ ले शिक्षा समितिमा प्रतिवेदन पेस गरेको छ ।
प्रचलित व्यवस्था र सिफारिसका बुँदा आपसमा बाझिएकोले २०८१ वैशाख ९ गते बसेको नगर शिक्षा समितिको बैठकले सहरी योजना आयोगका विज्ञ सदस्य इन्जिनियर झाको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरेको थियो । यो समितिले प्रमुख समक्ष प्रतिवेदन पेस गरिसकेको छ ।
प्रतिवेदनको सिफारिस र प्रचलित व्यवस्थाबमोजिम शिक्षक दरबन्दी मिलान तथा पुनर्वितरण तालिकालाई स्वीकृतिका लागि नगर कार्यपालिकाको बैठकमा प्रस्ताव पेस गर्ने समितिले निर्णय गरेको छ ।
शिक्षा ऐन, २०२८ तथा शिक्षा नियमावली २०५९ (संशोधनसहित) को अनुसूची १२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को २०७६ भाद्र ४ गतेको निर्णय, नेपाल सरकारको शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६ दरबन्दी मिलानसँग सम्बन्धी व्यवस्था हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साहित्य उत्सव : जनकपुरका विविध पक्षबारे मन्थन
-
तातोपानी गाउँपालिकाद्वारा १७ विधेयक पारित
-
धरानमा ‘प्रदेश प्रिमियर लिग’ फुटबल प्रतियोगिता हुने
-
काम ठप्प पारेर कर्णालीका स्थानीय तहका कर्मचारी आन्दोलन गर्न वीरेन्द्रनगरमा
-
कामपाले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराउने
-
गाउँदा गाउँदै स्टेजमै भक्कानिएकी एलिनालाई ऋचा शर्माको ढाडस