शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मेक्सिकन क्लब मोन्टेरीमा आबद्ध भए रियल म्याड्रिडका पूर्वखेलाडी सर्जियो रामोस

शुक्रबार, २५ माघ २०८१, १६ : ०३
शुक्रबार, २५ माघ २०८१

काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिडका पूर्वखेलाडी सर्जियो रामोस मेक्सिकन क्लब मोन्टेरीमा आबद्ध भएका छन् । प्रभावशाली डिफेन्डर रामोसले मेक्सिकन क्लब मोन्टेरीसँग एक वर्षका लागि सम्झौता गरेको समाचारमा जनाइएको छ ।

३८ वर्षीय रामोस स्पेनिस राष्ट्रिय टोलीका पूर्वसदस्य पनि हुन् । स्पेनिस क्लब सेभिया छाडेपछि उनी कतै आबद्ध भएका थिएनन् । सन् २०२३–२४ सिजनको समाप्तिसँगै सेभियासँग उनको सम्झौता अवधि पनि टुंगिएको थियो । 

सेभियाकै सिनियर टोलीबाट उनले आफ्नो खेलजीवन सुरु गरेका थिए । रामोसले सन् २००५ देखि सन् २०२१ सम्म स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडबाट खेलेका थिए । रियल म्याड्रिडको थुप्रै सफलतामा उनको महत्त्वपूर्ण योगदान रहेको छ । 

रामोस स्पेनलाई विश्वकपको उपाधि चुमाउने टोलीका प्रभावशाली सदस्य पनि हुन् । रामोससहितको स्पेनिस टोलीले सन् २०१० मा फिफा विश्वकपको उपाधि जितेको थियो । यसका अतिरिक्त रामेसले स्पेनलाई सन् २००८ र सन् २०१२ को युरो कप जिताउन पनि महत्त्वपूर्ण योगदान गरेका थिए ।

उनी कति पारिश्रमिकमा मोन्टेरीमा आबद्ध भएका हुन् भन्ने विषयमा केही खुलाइएको छैन । मोन्टेरीबाट खेल्दा रामोसले ९३ नम्बरको जर्सी लगाउने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप