शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय

८ दलीय मोर्चाविरुद्ध बन्यो अर्को मोर्चा

शुक्रबार, २५ माघ २०८१, १५ : १४
शुक्रबार, २५ माघ २०८१

काठमाडौँ । मधेस केन्द्रित ८ दलीय मोर्चाविरुद्ध अर्को मोर्चा बनेको भएको छ । रिजवान अन्सारी नेतृत्वको संघीय समाजवादी नेपाल पार्टी र हरिनन्दनकुमार रञ्जनको नेतृत्वमा रहेको बहुजन एकता पार्टी नेपालबिच संयुक्त मोर्चा बनेको हो ।

नेपालमा दलित, बहुजन, मधेसी, मुस्लिम तथा अन्य सीमान्तकृत समुदायहरूको राजनीतिक तथा सामाजिक अधिकार सुनिश्चित गर्ने उद्देश्यले मोर्चा बनाउन लागिएको संघीय समाजवादी नेपाल पार्टीका अध्यक्ष अन्सारीले बताए । विगतमा पनि मधेस केन्द्रित दलहरूले मोर्चा बनाएर सत्ताको खेलमा लागेर मुद्दा विसर्जन गरेको भन्दै उनले अहिले फेरि उनीहरू मोर्चा बनाएर सत्ताको खेलमा लाग्ने निश्चित भएको देखेर आफूहरू मोर्चा बनाउन लागेको बताए । 

उनले भने, ‘यी आठ दलीय मोर्चा बाहिर रहेका दलहरूको बिचमा मोर्चाबन्दी हुने तयारी भइरहेको छ । फागुनको पहिलो हप्ता यसको घोषणा हुन्छ ।’ अहिले दुई दलले मोर्चाको अगुवाइ थालेको भन्दै उनले  बिस्तारै अन्य दलहरूलाई जोड्दै जाने बताए । उनले मोर्चामा आदिवासी जनजातिसँग सम्बन्धित दलहरूलाई पनि समावेश गर्ने बताए ।

अध्यक्ष अन्सारीले मधेसी, आदिवासी जनजाति, पिछडिएको समुदायको अधिकार र पहिचानका लागि संघर्ष गर्न मोर्चा बनाउने दाबी गरे । मोर्चाका लागि दुई दलका अध्यक्षबिच भएको भेटवार्तामा वर्तमान सरकारद्वारा प्रस्तावित संविधान संशोधनबारे छलफल भएको छ । वर्तमान गठबन्धन सरकारको नीति नै समानुपातिक प्रतिनिधित्व खारेज गर्ने, दुई दलीय व्यवस्था लाद्ने र थ्रेसहोल्ड बढाएर सीमान्तकृत समुदायहरूको राजनीतिक सहभागितालाई सीमित गर्ने रहेको निष्कर्ष दुवै दलले निकालेर मोर्चाबन्दी गर्न तयार भएका हुन् ।

नेपालमा संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने, बहुजन–मुस्लिम आदिवासी जनजाति निषाद समुदाय र पिछडा वर्ग मधेसी लगायत समुदायलाई अझै पछाडि धकेल्ने कुनै पनि प्रयासलाई आफूहरूले सहेर नबस्नका लागि मोर्चा बनाउन लागेको उनले बताए ।  

बहुजन एकता पार्टी नेपालका अध्यक्ष रञ्जनले संविधान संशोधनको नाममा बहुजन समुदायको हक कुण्ठित गर्न खोजिएकाले आफूहरू संगठित हुन लागेको बताए ।

मोर्चाले देशव्यापी जनजागरण अभियान सञ्चालन गर्ने, राजनीतिक र कानुनी प्रतिरोध अघि बढाउने तथा अन्य समावेशी शक्तिहरूसँग सहकार्य गर्ने रणनीति बनाउने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप