शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय
त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृंखला

घरेलु मैदानमा जितविहीन बन्दै टुंगियो नेपाली टोलीको यात्रा, थाइल्यान्डसँग ७ विकेटले पराजित

शुक्रबार, २५ माघ २०८१, १५ : ०८
शुक्रबार, २५ माघ २०८१

काठमाडौँ । त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपाली टोलीको यात्रा जितविहीन बन्दै टुंगिएको छ । नेपाली टोली शुक्रबार खेलिएको आफ्नो अन्तिम खेलमा पनि थाइल्यान्डसँग सात विकेटले पराजित भयो । 

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपाली टोलीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको थाइल्यान्डले भने १७ ओभरमै केवल तीन विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो । 

त्रिकोणात्मक शृंखलाको यो अन्तिम खेल हो । सहभागी तीनवटै टोलीले अन्तिम खेल खेलिसक्दा १० अंकसहित थाइल्यान्ड तालिकाको अग्रस्थानमा रह्यो । नेदरल्यान्ड्स आठ अंकसहित दोस्रो भयो । घरेलु टोली नेपालले भने एक खेल पनि जित्न सकेन । 

शुक्रबार खेलिएको अन्तिम खेलमा थाइल्यान्डको जितमा कप्तान नरुएमोल चाइवाईले अविजित २७ रनको योगदान गरिन् । उनले ३४ बलमा दुई चौका पनि हिर्काइन् । नानापत कोनचारोनकाईले पनि २३ रन बनाइन् । उनले ३२ बलमा एक चौका प्रहार गरिन् । नेपाली टोलीकी बलर ईन्दू वर्माले दुई र पूजा महतोले एक विकेट लिए । 

त्यसअघि, नेपाली टोलीका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन बनाएकी थिइन् । उनले २९ बलको सामना गरी एक चौका हिर्काइन् । अर्की ओपनर विन्दू रावल भने सात रनमै पेभेलियन फर्किइन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी पूजा महतो पनि ६ रनभन्दा अगाडि बढ्न सकिनन् । अनुभवी ब्याटर रुविना क्षेत्री एक रनमै आउट भइन् । कप्तान इन्दू वर्माले टोलीको खातामा १० रन थपिन् । 

छैटौँ नम्बरकी ब्याटर कविता जोशी १२ बलमा एक छक्का र एक चौकाको मद्दतले १४ रन बनाउँदै आउट भइन् । सीता राना मगरले अविजित सात रन बटुलिन् । अलिशा यादबले भने खातासम्म खोल्न सकिनन् ।  राजमती ऐरीले १७ बलमा अविजित ११ रन जोडिन् । नेपाली टोलीले अतिरिक्त रुपमा पनि आठ रन पायो । थाइल्यान्डकी बलर ओनिचा कामचोम्फुले तीन विकेट लिइन् । 

नेपाली टोली आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाली टोलीलाई थाइल्यान्डले चार विकेटले हराएको थियो । आफ्नो तेस्रो खेलमा पनि नेपाली टोली नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको थियो ।

जारी शृंखलामा निराशाजनक प्रदर्शन गरेको नेपाली टोली आफ्नो चौथो खेलमा पनि थाइल्यान्डसँग पाँच रनले हारेको थियो । आफ्नो पाँचौँ खेलमा नेपाली टोली नेदरल्यान्ड्ससँग १० विकेटको फराकिलो अन्तरले पराजित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप