शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय

शरीफुल नै थिए सैफलाई हमला गर्ने व्यक्ति

शुक्रबार, २५ माघ २०८१, १४ : १०
शुक्रबार, २५ माघ २०८१

नयाँ दिल्ली । बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण गरेको आरोप लागेका शरीफुल इस्लामको केही औँलाको छाप अभिनेताको घरबाट लिइएका नमुनाहरूसँग मेल खाएका छन् । १५ जनवरीको अबेर रातमा सैफको घरमै उनीमाथि आक्रमण भएको थियो । जनवरी २२ मा, मुम्बई प्रहरीले औँठाछाप र अन्य नमुनाहरू सङ्कलन गरेको थियो र अनुसन्धानको लागि सीआईडीको प्रयोगशालामा पठाएको थियो ।

मुम्बई प्रहरीबाट प्राप्त जानकारी अनुसार, सैफ अली खानमाथि आक्रमण गर्ने आरोपी शरीफुल इस्लामको फिङ्गरप्रिन्ट परीक्षणको लागि पठाइएका केही नमूनाहरूको रिपोर्ट आइपुगेको छ । यसमा केही औँलाको छापहरू मिलेका छन् । तर, प्रहरी अन्तिम रिपोर्टको पर्खाइमा भएको बताइएको छ । सैफका दुई महिला कर्मचारीले फेब्रुअरी ६ मा अभियुक्त शरीफुलको पहिचान पुष्टि गरेका थिए । आक्रमणको समयमा सैफका कोठामा उपस्थित एरियाना फिलिप र जुनुलाई हालै मुम्बईको आर्थर रोड जेलमा अभियुक्तको पहिचान गर्न बोलाइएको थियो ।

सीसीटीभीमा देखिएका व्यक्ति फरक भएको शरीफुलका बुबा र उनका वकिलको दाबी छ । उनीहरूले लगातार सैफको आक्रमणकारी अर्कै भएको दाबी गरिरहेका छन् । प्रहरीले गलत व्यक्तिलाई पक्राउ गरेको उनीहरूको आरोप थियो । यसैबीच, प्रहरीले सीसीटीभीमा कैद भएको अभियुक्तको अनुहारसँग शरीफुलको अनुहार मिलाउन अनुहार पहिचान परीक्षण गरेको थियो । मुम्बई प्रहरीले अनुहार पहिचान परीक्षण रिपोर्टले अभिनेताको घरमा पसेर छुरा प्रहार गर्ने व्यक्ति शरीफुल इस्लाम भएको पुष्टि गरेको बताएको छ ।

  ‘अनुहार पहिचान रिपोर्ट बाहेक, हामीसँग सीसीटीभी फुटेज, मोबाइल फोन लोकेसन र इन्टरनेट प्रोटोकल विवरण रिपोर्ट जस्ता प्राविधिक प्रमाणहरू छन्, जसले शरीफुल वास्तविक अभियुक्त हो भनेर प्रमाणित गर्दछ,’ मुद्दाबारे जानकारी दिँदै एक वरिष्ठ प्रहरी अधिकारीले भने ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप