शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय
त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृंखला

घरेलु मैदानमा सान्त्वना जितको खोजीमा रहेको नेपालले थाइल्यान्डलाई दियो ८२ रनको लक्ष्य

शुक्रबार, २५ माघ २०८१, १३ : ४७
शुक्रबार, २५ माघ २०८१

काठमाडौँ । त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो अन्तिम खेलमा शुक्रबार घरेलु टोली नेपालले थाइल्यान्डलाई जितका लागि ८२ रनको लक्ष्य दिएको छ ।  कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपाली टोलीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८१ रन बनाएको हो । 

नेपाली टोलीका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन बनाइन् । उनले २९ बलको सामना गरी एक चौका हिर्काइन् । अर्की ओपनर विन्दू रावल भने सात रनमै पेभेलियन फर्किइन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी पूजा महतो पनि ६ रनभन्दा अगाडि बढ्न सकिनन् । अनुभवी ब्याटर रुविना क्षेत्री एक रनमै आउट भइन् । कप्तान इन्दू वर्माले टोलीको खातामा १० रन थपिन् ।

छैटौँ नम्बरकी ब्याटर कविता जोशी १२ बलमा एक छक्का र एक चौकाको मद्दतले १४ रन बनाउँदै आउट भइन् । सीता राना मगरले अविजित सात रन बटुलिन् ।  अलिशा यादवले भने खातासम्म खोल्न सकिनन् । राजमती ऐरीले १७ बलमा अविजित ११ रन जोडिन् । नेपाली टोलीले अतिरिक्त रुपमा पनि आठ रन पायो । 

थाइल्यान्डकी बलर ओनिचा कामचोम्फुले तीन विकेट लिइन् । जारी त्रिकोणात्मक शृंखलाको यो अन्तिम खेल हो । हालसम्म पाँच खेल खेलेको थाइल्यान्ड आठ अंकसहित पहिलो स्थानमा आसिन छ ।

६ खेल खेलेको नेदरल्यान्ड्स आठ अंकसहित दोस्रो स्थानमा छ । नेट रन रेटमा नेदरल्यान्ड्सभन्दा थाइल्यान्ड अगाडि छ ।  पाँच खेल खेलिसकेको नेपालले भने एक खेल पनि जित्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप