शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कैलारीमा थेगिनको लापरबाही : सुर्मीनाला मोटरेबल पुल अलपत्र

शुक्रबार, २५ माघ २०८१, १२ : ४८
शुक्रबार, २५ माघ २०८१

धनगढी । कैलालीको कैलारी गाउँपालिका ३ स्थित सुर्मीनाला मोटरेबल पुल अलपत्र परेको छ । निर्माण कम्पनी थेगिन कन्स्ट्रक्सन कम्पनीको चरम लापरबाहीले सो पुल अलपत्र परेको हो ।

पुल निर्माणका लागि पूर्वाधार कार्यालय कैलाली र थेगिन कन्स्ट्रक्सनबिच डेढ वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी २०७७ साउन १८ गते सम्झौता भएको थियो । जसअनुसार निर्माण कम्पनीले २०७८ पुस १८ गतेभित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर ४ वर्ष बिते पनि सो पुल अधुरै रहेको छ ।  पुल नै अलपत्र छोडेर निर्माण कम्पनी भागेको स्थानीयले बताएका छन् ।

स्थानीय फागुराम चौधरीले निर्माणको कार्य नै छोडेर कम्पनी भागेको बताए । उनले भने, ‘केही समय अगाडि कामदारहरू काम गर्न आएका थिए । तर कामदारहरुको ज्याला भुक्तानी नभएपछि कामदारहरू काम गर्न छोडेर गएका छन् । अहिले पुलको सबै काम अलपत्र छ ।’

पक्की पुल निर्माणस्थलमा यसअघि स्थानीयवासीले आवात जावातको लागि काठे पुल बनाएका थिए । उनीहरूले सोही काठे पुलमार्फत बर्षौसम्म गुजारा चलाए । सो काठे पुल विस्थापन गर्न सुदूरपश्चिम प्रदेश सरकार मातहतको पूर्वाधार कार्यालयले पुल निर्माणका लागि ४ करोड ९६ लाख ९१ हजार ४९३ रुपैयाँ बजेटसहित थेगिन कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरेको थियो । तर हालसम्म निर्माण सम्पन्न नहुँदा स्थानीयवासीलाई सास्ती भएको हो ।

स्थानीय गीता चौधरीले भनिन्, ‘पानी परेपछि हिँड्नै सकिन्न । बर्खामा आएको बाढीले पुल नहुँदा एक घण्टाको घुमाउरो बाटो हिँड्नुपर्ने हुन्छ ।’ खोला वारी र पारी बरकामुराका साथै अन्य गाउँहरू पर्दछन् । वारिका स्थानीयवासीको खेतबारी खोला पारी छ भने खोला पारीका स्थानीयको खेतबारी वारी छ । उनीहरूले खेतबारीको कामसहित दैनिक जीवनयापनका लागि त्यही बाटो प्रयोग गर्नुपर्छ । तर पुल नबन्दा स्थानीयवासीले सास्ती भोगिरहेका छन् ।

पुल समयमा नबनेपछि स्कुले बालबालिका समेत अप्ठेरोमा परेका छन् । उनीहरूले जोखिम मोलेर त्यो बाटो प्रयोग गर्नुपर्छ या एक घण्टाको घुमाउने बाटो प्रयोग गर्नुपर्छ । खोला पारी घर भएकी बरकामुराकी दुर्गा चौधरी हसुलिया बजारमा रहेको एक विद्यालयमा अध्ययनरत छिन् । उनले दैनिक त्यही बाटो हिँड्नुपर्छ । तर पुल नबन्दा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता भएको उनले सुनाइन् ।

पूर्वाधार विकास कार्यालय धनगढीका प्रमुख रामचन्द्र खत्रीले पनि निर्माण व्यवसायीको काम गर्ने नियत राम्रो नभएको प्रतिक्रिया दिए । आफूहरूले पटक–पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले काम नगर्दा समस्या आएको बताउँदै खत्रीले अझै काम नगरे सम्झौता नै रद्द गर्ने अवस्था आउन सक्ने चेतावनी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप