मधेसमा मातृका ब्रान्डको अग्नि परीक्षा
![मधेसमा मातृका ब्रान्डको अग्नि परीक्षा](https://npcdn.ratopati.com/media/news/matrika_iiSDjFFyZa.jpg)
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकबाट पार्टीले मधेस प्रदेश इन्चार्जको जिम्मेवारी उपमहासचिव मातृका यादवलाई दिएको छ । यसअघि उक्त प्रदेशको इन्चार्ज लीलामणि पोख्रेल रहेका थिए ।
तर, आन्तरिक विवादका कारण विगतमा पार्टीले मधेसमा प्रभावकारी गतिविधि गर्न सकेन । विशेषगरी यादव र यसअघिका इन्चार्ज पोखरेलबिचको टकराब तथा मधेसमा रहेको मुख्यतः दुई विचार समूह पूर्व एकता केन्द्र र मातृका यादवको विचार समूहको कारणले पार्टीको कुनै गतिविधि गर्न नसकेको नेता कार्यकर्ताको बुझाइ छ । यही विचार समूहकै कारणले पोख्रेल असफल सिद्ध भए ।
गत पौष २१ गतेदेखि २३ चलेको पार्टीको केन्द्रीय समितिको बैठकमा मातृका यादवले उठाउँदै मुख्यतः भूगोल र पहिचानको सवालमा मधेसको जिम्मेवारी मधेसी नेताले पाउनुपर्ने धारणा राखेका थिए । विगतदेखि नै पार्टीसँग उनले यस्तो माग राख्दै आएको बेला यसपालि पार्टीको पदाधिकारी बैठकबाट सो माग सम्बोधन भएको छ ।
उनलाई मधेसमा संगठन निर्माण गर्न र पार्टीलाई विधि प्रक्रियामा ढाल्दै पार्टीलाई चलायमान बनाउनका लागि उनलाई महत्त्वपूर्ण अवसर प्राप्त भएको छ । उनले प्राप्त अवसर एवम् चुनौतीलाई कसरी सन्तुलन मिलाएर अघि बढ्छन् त्यो हेर्न बाँकी छ।
नेकपा माओवादी केन्द्रको मधेस प्रदेशको इन्चार्जको जिम्मेवारी पाएसँगै यादवले पार्टी संगठन निर्माण गर्दा विभिन्न अवसरहरू प्राप्त गर्न सक्छन्। यी अवसरहरूको सही उपयोग गरेर उनले पार्टीको सङ्गठनात्मक मजबुती र राजनीतिक प्रभाव बढाउन सक्छन् । यस्तै मधेस प्रदेशमा मधेसी जनताको बिचमा पार्टीले ठुलो समर्थन प्राप्त गर्न सक्छ । मधेसको अधिकार जनताको स्वायत्तता र विकासका मुद्दाहरूमा केन्द्रित गरेर पार्टीले जनताको विश्वास जित्न सक्छ।
मधेस प्रदेशमा युवा र महिलाहरूलाई पार्टीमा समावेश गरेर नयाँ नेतृत्व विकास गर्नु ठुलो अवसर छ । युवा तथा महिलाहरूको सहभागिताले पार्टीको संगठनलाई गतिशील बनाउन सहयोगी सिद्ध हुन सक्छ । उसो त युवा र महिलाहरूका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरेर पार्टीमा युवा महिलाका मुद्दाहरूलाई पार्टीको नीतिमा समावेश गर्नुपर्छ।
यस्तै मधेस प्रदेशका स्थानीय मुद्दाहरू कृषि, सिँचाइ, रोजगारी र शिक्षा स्वास्थ्यमा ध्यान दिएर पार्टीले जनताको विश्वास जित्न कार्यक्रम ल्याउनुपर्छ। स्थानीय मुद्दाहरूमा आधारित नीतिहरू पनि तय गर्नुपर्छ। जसमा सामुदायिक सहभागितामा आधारित विकास कार्यक्रमहरू सुरु गर्ने कार्य गर्नुपर्छ। र जनताको आवश्यकता अनुसार कार्यक्रम हरू तय गर्ने नीति अख्तियारी गर्नुपर्छ । यस्तै मधेस प्रदेशमा संगठन निर्माण गर्न र अहिले पार्टीको आन्तरिक कलह सुधार गर्न ठुलो अवसर आएको छ । जसका लागि पार्टीमा आन्तरिक पारदर्शिता र जवाफदेहिता समेत आवश्यक छ ।
अहिले मातृका प्रसाद यादवले मधेस प्रदेशमा पार्टी संगठन निर्माण गर्दा धेरै अवसरहरूको नेतृत्व प्रदान गर्न सक्छन् । यी अवसरहरूको सही ढङ्गले उपयोग गरेर पार्टीलाई सङ्गठनात्मक रूपमा मजबुत बनाउन सकिन्छ । यसका निम्ति स्थानीय मुद्दाहरूमा ध्यान केन्द्रित गरेर युवा र महिलाहरूलाई समावेश गर्ने जस्ता कार्यक्रमहरू चाल्नुपर्ने छ।
यसले नेकपा माओवादी केन्द्रलाई मधेस प्रदेशमा एक प्रभावशाली राजनीतिक शक्ति बनाउन मद्दत गर्न सक्छ । उसो त जुन क्रान्तिकारीपन उहाँमा पहिले थियो अब यो बिचमा ह्रास आएको छ। यो बिचमा उनी बाहिर मात्र देखिने क्रान्तिकारी र भित्रिरुपमा घोर समर्पणवादीमा रूपान्तरण भइसकेका छन् । वास्तवमा भन्ने हो भने पहिला जो मातृका ब्रान्ड थियो त्यो ब्रान्ड अब मधेसमा विश्वास राख्न सकेनन् ।
पहिलेको मातृका बोल्दा पुरै मधेस बोल्छ भन्ने विश्वास थियो। अहिलेको मातृका बोल्दा मधेसको सीमित समूह र एउटा सानो गुट बोल्छ। अहिले मधेस पार्टीले पुरानो मातृका यादव खोजिरहेको छ।
जो पहिले मधेसी समुदायको मातृका हो भन्ने लाग्थ्यो त्यही मातृकाको गर्जन, शान र स्वाभिमान युवालाई चाहिएको छ मधेसमा । अब उनीजस्ता राजनीतिक जीवनको उत्तरार्धमा रहेकाबाट युवा पुस्ताले केही रचनात्मक कार्यको अपेक्षा राखेको छ ।
अर्को कु्रा यदि अब पनि पार्टीभित्रका समूहहरूले मातृका प्रसाद यादवको नेतृत्वमाथि विश्वास गरेन भने उनले गरेको निर्णयहरूलाई चुनौती दिन सक्छन् । पार्टी गतिविधि र कार्यक्रमहरू सञ्चालनमा समस्या आउन सक्छ । र, कार्यकर्ताहरूबिच अनिश्चितता बढ्न जान्छ र समूहहरूबिच द्वन्द्व पनि बढ्न सक्छ। यसले कार्यकर्ताहरूको मनोबल गिर्न सक्छ भने पार्टीको सङ्गठनात्मक कार्य प्रणालीमा असर पर्छ।
माओवादी सँग २०६५ सालमा एकता गरेको तत्कालीन एकता केन्द्र अहिले पनि पूर्व जनमोर्चाको नाउँले मधेस प्रदेशमा एउटा बलियो विचार समूहबाट प्रभावित छ। त्यही विचार समूहको प्रभावित रहेको नेतृत्वबाट विगतमा मधेसमा पार्टीको नेतृत्व गरेको नेताहरूलाई मातृका यादवको विचार समूहले असहयोग र असफल गर्न भूमिका खेलेको थियो । अहिले त्यही पूर्व जनमोर्चाबाट प्रभावित रहेका विचार समूहले नवनियुक्त मधेस प्रदेशको इन्चार्ज मातृका यादवलाई सहयोग गर्छ भन्ने यक्ष प्रश्न हो। तर पार्टीको हितका लागि उनले सम्पूर्ण विचार समूहका नेता कार्यकर्तालाई गोलबन्द गरी पार्टीप्रति आशा विश्वास जगाउनुपर्छ ।
लेखक नेकपा (माओवादी केन्द्र)का युवा नेता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो थियो विक्की कट्रिनाको पहिलो भेट
-
मानव बस्ती बिचबाट लगिएको सव स्टेसनले जनताको उठिबास हुन्छ : सांसद गौतम
-
दुर्घटनामा ५ जनाको मृत्यु (विवरणसहित)
-
रविलाई जिल्ला घुमाएर पीडितको रकम फिर्ता हुन्छ ?
-
वैदेशिक रोजगारीमा विभिन्न देशमा पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
-
विद्युतीय व्यापार विधेयक प्रतिवेदनसहित प्रतिनिधिसभामा प्रस्तुत