विपिन जोशीलाई छुटाउन प्रधानमन्त्री र राष्ट्रपतिको तर्फबाट पहल गर्दा हुँदैन ?
![विपिन जोशीलाई छुटाउन प्रधानमन्त्री र राष्ट्रपतिको तर्फबाट पहल गर्दा हुँदैन ?](https://npcdn.ratopati.com/media/news/bipin-joshi_6TSeRGXfGH.jpg)
काठमाडौँ । इजरायल र हमासबिच युद्धविराम भएपछि अपहरणमा परेकाहरू धमाधा रिहा हुँदैछन् । तर, नेपाली विद्यार्थी विपिन जोशीको अवस्था भने अझै अज्ञात नै छ ।
हमासको कब्जामा अब विपिनसहित २ जना मात्रै विदेशी नागरिक छन् । अरू सबै इजरायली छन् । उनी कहिले छुट्ने हुन् त्यसको टुङ्गो अझै लाग्न सकेको छैन । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको अमेरिका भ्रमणका क्रममा विपिनको विषयसमेत उठान गरेका छन् । अर्थात इजरायलले विपिनको रिहाइका लागि कुनै कसर बाँकी राखेको देखिँदैन ।
नेपाली कामदारहरूका कारण इजरायलसँग नेपालको सुमधुर सम्बन्ध छ । जसले गर्दा पनि इजरायलले विपिनको रिहाइका लागि उच्च तहको प्रयास गरिरहेको हो ।
इजरायलले त्यसरी पहल गरिरहँदा नेपालको उच्च तहबाट केही प्रयास भएको देखिँदैन । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेल यो विषयमा मौन छन् ।
यो विषयमा इजरायलका अधिकारीहरूले राजदूत प्राध्यापक धनप्रसाद पण्डितसँग पटक पटक कुरा गरेका छन् । उनीहरूले नेपालका प्रधानमन्त्री तथा राष्ट्रपतिबाट उच्च तहको पहल गराउन अनुरोध गर्दै आएका छन् ।
नेपालको परराष्ट्रमन्त्रीको तहबाट गरिएको पहलले पुगेन । प्रधानमन्त्री र राष्ट्रपतिबाट पहल गर्न लगाउनुपर्यो भनेर इजरायली अधिकारीहरूले राजदूत पण्डितलाई पटक पटक अनुरोध गरे । सोही आधारमा राजदूत पण्डितले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालसँग धेरै पटक सम्पर्क गरेका थिए । तर, केही पहल हुन सकेन ।
यसअघि थाइल्यान्डका राजा र प्रधानमन्त्रीले हमाससँग नजिक भएका टर्की र इजिप्टका राष्ट्रपति तथा कतारका राजासँग पटक पटक फोन सम्पर्क गरेर आफ्ना नागरिकको रिहाइका लागि पहल गरिदिन अनुरोध गरेका थिए । सोही आधारमा अपहरणमा परेका थाइल्यान्डका नागरिक यसअघि नै रिहा भइसकेका छन् । तर, विपिनको भने कूटनीतिक पहल नपुगेको इजरायली अधिकारीहरूले राजदूत पण्डितसँग गुनासो गर्ने गरेका छन् ।
प्रधानमन्त्री ओलीको सचिवालयले भने सरकारको तर्फबाट पहल भइरहेको बताएको छ । प्रधानमन्त्रीको सचिवालयका सदस्य प्रकाश सिलवालले प्रधानमन्त्रीले आफ्नो तर्फबाट समेत पहल गरिरहेको बताए । केही दिन अगाडि विपिनका आमा बुबासँगको भेटमा समेत प्रधानमन्त्री ओलीले रिहाइका लागि पहल भइरहेको बताएका थिए ।
विपिनको रिहाइका लागि नेपालले कतार, इरान लगायतका देशसँग कूटनीतिक पहल गर्दै आएको छ । परराष्ट्र मन्त्रालयमार्फत सरकारले पहल गर्दै आएको हो । तर, उनको रिहाइका लागि गरिएको कूटनीतिक पहलले सार्थकता पाउन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार महासंघलाई नमागेको सल्लाह
-
प्रधानमन्त्रीको निर्णय नेपाल चिकित्सक संघद्वारा स्वागत, आवासीय चिकित्सकको तलब ४८ हजार
-
८ दलीय मोर्चाविरुद्ध बन्यो अर्को मोर्चा
-
घरेलु मैदानमा जितविहीन बन्दै टुंगियो नेपाली टोलीको यात्रा, थाइल्यान्डसँग ७ विकेटले पराजित
-
लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा
-
काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : उपप्रधानमन्त्री सिंह