शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय

नेपाली पाइलटहरूबिच एकता र सहकार्यमा जोड

शुक्रबार, २५ माघ २०८१, ११ : ५३
शुक्रबार, २५ माघ २०८१

काठमाडौँ । नेपाली पाइलटहरूबिच एकता र सहकार्यमा जोड दिइएको छ । नेपाल पाइलट सङ्घले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने पाइलटहरूले एकता र सहकार्यमा जोड दिएका हुन् ।

काठमाडौँमा आयोजित कार्यक्रममा पाइलटहरू, उड्डयन क्षेत्रका सरोकारवालाहरूले एकत्रित भएपछि मात्रै नेपालको उड्डयन क्षेत्रलाई समृद्ध र बलियो बनाउन सकिने बताएका हुन् ।

कार्यक्रमको सञ्चालन गरेका पाइटल जनक अधिकारीले सङ्घको उद्देश्य, दृष्टिकोण र पाइलटहरूबिचको एकताको महत्वलाई प्रस्ट्याएका थिए । ‘सङ्घ पाइलटहरूको हितका लागि समर्पित छ । यो रोजगारी अस्थिरता वा द्वन्द्वको विषय होइन, यो सामूहिक प्रगति र समर्थनको अभियान हो,’ उनले भने ।

पाइटल अधिकारीले सङ्घको नवीन स्टिकर कोष सङ्कलन अभियान (प्रति स्टिकर रु. १००) को सुरुवात गरिएको समेत बताए । सङ्घको आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल र मोबाइल एप्लिकेसनको योजनाबारे समेत जानकारी गराए ।

सङ्घका अध्यक्ष पाइलट रोहित मल्लले उड्डयन क्षेत्रमा एकताको आवश्यकता रहेको बताएका थिए । त्यसका लागि सबैले आफ्नो तर्फबाट सहजताका साथ पहल गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘हामीले आधार तयार गरिसकेका छौँ, अब हामीलाई अगाडि बढाउन एकता चाहिन्छ ।’

कार्यक्रममा सङ्घका सचिव पाइलट लेखनाथ पोखरेलले सङ्घको लक्ष्य हासिल गर्न व्यापक सहभागिताको आवश्यकता रहेको बताए । पाइलट–एटीसी अन्तरक्रिया कार्यक्रम तथा अन्तर्राष्ट्रिय उड्डयन सङ्घसँग सहकार्य गर्ने योजनाबारे जानकारी दिए ।

त्यस्तै कार्यकारी सदस्य पाइलट सुरज भण्डारीले सङ्घलाई कार्यक्रमको आयोजक मात्र नभई ज्ञान आदान प्रदानको केन्द्रका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए । उनले सीटीईभीटी वा अन्य संस्थामार्फत व्यावसायिक (vocational) डिग्रीलाई शैक्षिक (academic) डिग्रीको समानता मान्यता दिलाउने पहल भइरहेको बताए । व्यक्तिगत शक्ति प्राप्तिका लागि विभाजनकारी गतिविधिहरूबाट जोगिन आग्रह गरे ।

सङ्घले आगामी दिनमा विभिन्न कार्यक्रम गर्ने योजना बनाएको छ । २१ फेब्रुअरी २०२५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल पर्यटन मन्त्रालयको सहयोगमा Foreign Object Debris (FOD) सचेतना अभियान सञ्चालन गर्ने योजना बनाएको छ ।

त्यस्तै ८ मार्च, २०२५ मा नेपाली उड्डयन क्षेत्रका महिला अगुवाहरूको सम्मान गर्दै भावी पुस्तालाई प्रेरित गर्ने ‘महिला दिवस विशेष कार्यक्रम’ गर्ने कार्यक्रम अघि सारेको छ ।

कार्यक्रमले नेपाल उड्डयन क्षेत्रमा एकताको नयाँ आधारशिला बनाउने महत्त्वपूर्ण कोसेढुंगा बनेको पाइलटहरूको बुझाई छ । सहकार्य, वकालत र नवीन सोचको माध्यमबाट सङ्घले नेपाली पाइलटहरूको पेसागत विकास र कल्याणलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको सङ्घका अध्यक्ष मल्लले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप