शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

२ करोड ७९ लाख धरौटी बुझाइसकेका रवि लामिछानेसँग कति छ सम्पत्ति ?

शुक्रबार, २५ माघ २०८१, ११ : २८
शुक्रबार, २५ माघ २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रवि लामिछाने सहकारी ठगी प्रकरणमा धमाधम धरौटी रकम बुझाउँदै रिहा भएका छन् ।

चितवन, रुपन्देही, काठमाडौँ र कास्की जिल्ला अदालतमा लामिछाने धरौटी रकम बुझाएर रिहा भएका हुन् । लामिछाने चितवन जिल्ला अदालतमा ५४ लाख, रुपन्देहीमा १ करोड, काठमाडौँ जिल्ला अदालतमा ६० लाख र कास्की जिल्ला अदालतमा ६५ लाख रुपैयाँ गरी २ करोड ७९ लाख रकम धरौटीमा बुझाएर रिहा भएका हुन् ।  जसमा कास्कीमा रविविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा समेत दायर भएको थियो । अन्य अदालतमा भने सहकारी ठगी र संगठित अपराधमा मुद्दा दायर भएको थियो । रिहा हुँदा रविले अदालतमा बैंक ग्यारेन्टी बुझाएका हुन् ।  

जिल्लैपिच्छे यति धेरै रकम बुझाउने लामिछानेको सम्पत्ति विवरणचाहिँ कति छ ? भन्ने प्रश्न समेत उठ्न थालेको छ । लामिछाने राजनीतिमा आउनुअघिसम्म टेलिभिजन प्रस्तोता थिए । उनी २०७९ को निर्वाचनमा चितवनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । त्यहाँबाट निर्वाचित भएपछि दुई पटक उपप्रधान तथा गृहमन्त्री बनेका लामिछानेले २०८१ वैशाख ४ गते उपप्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाएको सम्पत्ति विवरण हेर्दा उनका नाममा भक्तपुर जिल्लामा १ रोपनी १ आना जग्गा रहेको उल्लेख छ । त्यो पनि उनले पैतृक सम्पत्तिका रूपमा देखाएका छन् । 

त्यस्तै नगद ग्लोबल आईएमई बैंकमा ५ हजार र नेपाल बैंक लिमिटेडमा १ लाख ५ हजार रकम गरी १ लाख १० हजार रुपैयाँ मौज्दात रहेको देखाएका छन् ।

लामिछानेको भन्दा उनकी श्रीमती निकिता पौडेलको नाममा भने धेरै चल अचल सम्पत्ति देखिन्छ । पत्नी निकिताको नाममा ४२ लाखमा खरिद गरेको टाटा नेक्सन इभी कार, गोपीकृष्ण मुभिज प्रालिमा ८ लाख ७५ हजार कित्ता शेयर, सिद्धार्थ बैंकमा ५ हजार, नेपाल बैंकमा ५ लाख,सनराइजमा १५ हजार, एनआइएमबीमा २८ हजार र प्रभु बैंकमा १० हजार ५१ रुपैयाँ मौजाद देखिन्छ । 

त्यस्तै निकिताकै नाममा ८० तोला सुन,२० केजी चाँदी र गोपीकृष्ण मुभिजमा निकिताको सेयर बापत १ करोडको सम्पत्ति देखिन्छ । त्यसमध्ये निकिताले घर किन्न १ करोड २५ लाख ऋण लिएको देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप