शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय

जलवायु न्याय सम्बन्धी सङ्गोष्ठी सम्पन्न

शुक्रबार, २५ माघ २०८१, ०९ : २२
शुक्रबार, २५ माघ २०८१

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले सोलुखुम्बुको स्यानबोचेमा जलवायु न्याय सम्बन्धी सङ्गोष्ठी सम्पन्न गरेको छ। क्लिन इनर्जी नेपाल, हरिण नेपाल, नेपाली युवा जलवायु अभियान, वर्ल्ड्स युथ फर क्लाइमेट जस्टिस, युथ एक्शन फर सस्टेनेबल एण्ड इको नेपाल, तथा युथ इनिसिएटिभ नेपालको संयुक्त आयोजनामा गरिएको हो ।

कार्यक्रमको आयोजना गर्न नेपाल विद्यार्थी सङ्घले सहकार्य गरेको थियो । “हिउँ पग्लिनु अघि नै कारबाही गरौँ” भन्ने नारासहित आयोजना गरिएको नेविसंघ प्रवक्ता सुरज सेजुवालले जानकारी दिए। 

सङ्गोष्ठीको आयोजना “जय नेपाल टी-२० अन्तर्राष्ट्रिय अन्तर-विश्वविद्यालय क्रिकेट प्रतियोगिता” को सफल समापनपछि गरिएको थियो । जसको मुख्य सन्देश “One Earth One Voice: Act on Climate Change” भन्ने थियो। 

यस कार्यक्रममा जय नेपाल क्रिकेट प्रतियोगिताको विजयी टिम (मध्यपश्चिम विश्वविद्यालय), सगरमाथा राष्ट्रिय निकुञ्जका प्रतिनिधि, हिमालयन ट्रेकर्स नेपालका प्रतिनिधि, स्थानीय बासिन्दा, ट्रेकरहरू, नेपाल विद्यार्थी सङ्घका सदस्यहरू तथा जलवायु अभियन्ताहरू को सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन वर्ल्ड्स युथ फर क्लाइमेट जस्टिसकी राष्ट्रिय अभियानकर्ता सुस्मिता क्षेत्रीले गरेकी थिइन।

नेपाल विद्यार्थी सङ्घका अध्यक्ष डुजाङ शेर्पाले क्रिकेट मात्र नभएर एउटा अभियान भएको बताए। जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय जागरूकता बढाउने तथा नेपालमा जलवायु परिवर्तनका प्रभावहरू उजागर गर्ने उद्देश्यले क्रिकेट प्रतियोगिता आयोजना गरिएको उनले स्पष्ट पारे । 

नेपाल विद्यार्थी सङ्घले आगामी फागुन २ गते प्रत्येक प्रदेशबाट ७ जना जलवायु च्याम्पियनहरू सम्मान गर्ने कार्यक्रम रहेको समेत बताए ।

सगरमाथा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विवेक बैजूले स्थानीय सन्दर्भमा जलवायु परिवर्तनका चुनौतीहरूबारे प्रकाश पारे। केही वर्षअघि यो मौसममा हिउँले ढाकिएको क्षेत्र अहिले भने हिउँविहीन भएको बताए। जलवायु परिवर्तनका कारण निकुञ्जभित्रका जैविक विविधतामा असर परे पनि राष्ट्रिय निकुञ्ज भएकोले केही हदसम्म संरक्षण हुन सकेको उनको भनाइ थियो। सरकारले नेपालको हिमनदीहरूको अध्ययन गर्न थालेको तथा केही पहलहरू गरिरहेको पनि बताए  ।

हिमालयन ट्रेकर्स नेपालका प्रतिनिधि नवा छिरिङ शेर्पाले जलवायु परिवर्तनले ट्रेकिङ तथा पर्यटन व्यवसायमा पुर्‍याएको असरबारे चर्चा गरे । जलवायु परिवर्तनले रोजगार तथा जीवनशैलीमा असर पुर्याएको भन्दै पर्यटन क्षेत्रलाई जोगाउन तत्काल उपाय अपनाउनुपर्नेमा जोड दिए।

होटल एभरेस्ट भ्युका सञ्चालक आङ शेर्पाले जाडो मौसम पहिलेको जस्तो चिसो नभएको र हिमालहरू कालो चट्टानमा परिणत भइसकेको बताए। हिमनदीहरू तीव्र गतिमा पग्लँदै गएको र जसले पर्यटन व्यवसायमा प्रत्यक्ष असर पारिरहेको बताए । जलवायु परिवर्तनले कृषि उत्पादनमा समेत नकारात्मक प्रभाव पारेको र उत्पादन घटेको बताए । 

मध्यपश्चिम विश्वविद्यालयका सहायक प्राध्यापक विक्रम खड्काले जलवायु परिवर्तन र हिमनदी पग्लिरहेको विषय पुस्तकमा पढेको र सुनेको भए पनि प्रत्यक्ष अवलोकन गर्दा धेरै कुरा सिक्न पाएको महसुस भएको बताए। 

युथ इनिसिएटिभ नेपालकी उपाध्यक्ष अलीशा ढुंगानाले हिमालय क्षेत्र हिउँविहीन देखिनु दुखद रहेको बताए । 

जलवायु न्यायको प्रतिबद्धता

कार्यक्रमको अन्त्यमा सबै सहभागीहरूले “जलवायु न्याय” लेखिएको ब्यानरमा हस्ताक्षर गर्दै अन्तर्राष्ट्रिय समुदायलाई जलवायु न्यायको माग राखे । साथै, क्रिकेट प्रतियोगितामा भएका जम्मा रन संख्याको बराबर वृक्षारोपण गर्ने प्रतिबद्धता अनुसार सहभागीहरूले रूख रोपण पनि गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप