शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय
अर्धवार्षिक समीक्षा

६ महिनामा सरकारले गर्‍यो २०० किलोमिटर  सडक कालोपत्रे

शुक्रबार, २५ माघ २०८१, ०८ : ४९
शुक्रबार, २५ माघ २०८१

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले झण्डै २०० किलोमिटर सडक कालोपत्रे गरेको छ । सरकारले विभिन्न अवस्थामा रहेका सडकलाई यो अवधिमा कालोपत्रे गरेको हो । यो दैनिक झण्डै १.१२ किलोमिटर हो । यसरी निर्माण भएको सडकमध्ये दुई लेन सडकतर्फ १८१.४२ किलोमिटर तथा चार लेन सडकतर्फ २०.५८ किलोमिटर सडक कालोपत्रे गरिएका छन् । 

चालु आर्थिक वर्षभित्र सरकारले ९२० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको छ । यसमध्ये दुई लेन सडकतर्फ ८०० किलोमिटर र चार लेन सडकतर्फ १२० किलोमिटर रहेको छ । लक्ष्यको तुलनामा ६ महिनाको प्रगति क्रमशः १९.७२ प्रतिशत र १७.१५ प्रतिशत हो । 

त्यस्तै, यो अवधिमा २१ वटा पुल निर्माण गरिएका छन् । जबकी यो वर्ष कुल १५० वटा पुलको निर्माण गर्ने लक्ष्य राखिएको थियो । लक्ष्यको तुलनामा पुल निर्माणको प्रगति जम्मा १४ प्रतिशत रहेको देखिएको छ ।

चालु आर्थिक वर्षमा कुल ५ किलोमिटर रेलवे ट्रयाकबेड निर्माण गर्न लागिएकोमा २ किलोमिटर सम्पन्न भएको छ । त्यस्तै, रेलवे अन्तर्गत ३ वटा पुल निर्माण गर्ने लक्ष्य राखिएकोमा सबै पुलको निर्माण सम्पन्न गरिएको अर्थ मन्त्रालयले जनाएको छ । 

कहाँ कति सडक भए कालोपत्रे ? 
यो अवधिमा सबैभन्दा धेरै सडक हुलाकी राजमार्गमा कालोपत्रे भएको छ । उक्त राजमार्गमा ४२.५ किलोमिटर सडक कालोपत्रे गरिएको हो । त्यस्तै, मध्यपहाडी पुष्पलाल लोकमार्गमा ११ किलोमिटर, कालीगण्डकी कोरिडोर अन्तर्गत गैडाकोट–राम्दी–मालढुङ्गा खण्डमा ५ किलोमिटर र मालढुङ्गा–बेनी–जोमसोम कोरोला सडकमा १५.५ किलोमिटर कालोपत्रे भएको उल्लेख गरिएको छ भने कोशी कोरिडोर अन्तर्गत १.५ कि.मी. कालोपत्रे सम्पन्न भएको छ । 

यो अवधिमा कर्णाली कोरिडोर अन्तर्गत १९.२ किलोमिटर सडक खण्डास्मित (ग्राभेल) गरिएको, सिद्धबाबा सुरुङ मार्गको १ हजार १२६ मिटर मुख्य सुरुङ खन्ने काम सम्पन्न भएको, राष्ट्रिय राजमार्ग, रणनीतिक सडक तथा स्थानीय सडक अन्तर्गत २० वटा सडक पुल निर्माण सम्पन्न भएको तथा ३५ किलोमिटर राष्ट्रिय राजमार्गको आवधिक मर्मत गरिएको मन्त्रालयले जनाइएको छ ।

यो वर्ष भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत १ खर्ब ५० अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । दोस्रो त्रैमाससम्म यो रकममध्ये ३५ अर्ब ४८ करोड १८ लाख रुपैयाँ खर्च भएको छ जुन २३.५९ प्रतिशत बराबर हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप