शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय
सन्दर्भ : रोज डे

गुलाफ कसरी प्रेम र रोमान्सको प्रतीक बन्यो ?

शुक्रबार, २५ माघ २०८१, ०७ : ४८
शुक्रबार, २५ माघ २०८१

काठमाडौँ । ‘जीवनमा धेरै फूलहरू हुन सक्छन्... तर गुलाफ एउटा मात्र हुन्छ,’ एक जना अज्ञात लेखकले दाबी गर्छन् ।

सबै प्रकारका फूलहरू हेर्नेहरूका लागि आकर्षक उपहार हुन्, तर यो पनि सत्य हो कि फूलहरूको पदानुक्रममा गुलाफले सर्वोच्च स्थान हासिल गर्छ, प्रायः प्रेम, सौन्दर्य, भक्ति र रोमान्सको परम प्रतीकको रूपमा । 

जीवाश्म प्रमाणका आधारमा गुलाफ ३ करोड ५० लाख वर्षभन्दा बढी समयदेखि अस्तित्वमा छ ।  प्रेम, सौन्दर्य र रोमान्ससँग गुलाफको सम्बन्ध कलाको विकाससँग लगभग पर्यायवाची रूपमा सुरु भयो, विशेष गरी कवितामा (जुन लेखिनुभन्दा शताब्दीयौँ अघि मौखिक रूपमा अस्तित्वमा थियो) । मानिसहरूले प्रेमको गहिरो र कोमल भावनाहरू व्यक्त गर्दै आएको लामो समयदेखि नै गुलाफ उनीहरूलाई यसमा मद्दत गदै आइरहेको छ ।

ग्रीक र रोमन मिथकहरू
ग्रीक पौराणिक कथा अनुसार रातो गुलाफ प्रेमकी देवी एफ्रोडाइटले सिर्जना गरेकी थिइन् । एफ्रोडाइटकी प्रेमी एडोनिस जंगली बँदेलको शिकार गर्दा मारिएका थिए । जब एफ्रोडाइट उनलाई बचाउन दौडिइन्, उनको खुट्टालाई सेतो गुलाफले घोच्यो, त्यो रातो भयो, जुन उनको रगतको रङ पनि थियो, र अनन्तसम्म त्यस्तै रह्यो । एफ्रोडाइटको आँसुले गुलाफ भिजेपछि त्यो फस्टाउँदै गयो र धेरै अन्य गुलाफहरू जन्मायो । 

रातो गुलाफको सिर्जनाको किंवदन्ती रोमन पौराणिक कथामा पनि छ । त्यहाँ एफ्रोडाइटको ठाउँमा शुक्र ग्रहलाई राखिएको छ । धनी रोमनहरूले नरम, सुखद गन्ध र सुन्दर दृश्यहरू प्रदान गर्न आफ्नो शयन कक्षहरू गुलाफका गुलदस्ताले सजाउने गर्थे । 

भर्जिन गुलाफ : इसाई धर्मको प्रभाव
प्राचीन इसाई धर्मले गुलाफलाई यसको रोमान्टिक र यौनको अर्थबाट केही हदसम्म अलग राख्यो । यसले गुलाफलाई शुद्धता, निर्दोषता र प्रेमसँग जोड्यो, यद्यपि यो अझ पवित्र प्रकारको थियो । 

तेस्रो शताब्दीको इसाई धर्ममा रातो गुलाफ भर्जिन मेरीको प्रतीक बन्यो । क्रिश्चियानिटीका धेरै प्रारम्भिक विद्वानहरूले इडनको बगैँचा काँडाविहीन गुलाफहरूले भरिएको थियो भन्ने विश्वास गर्थे जसले इडनको पतन र मौलिक पाप (ओरिजिनल सिन) को सृष्टि पछि मात्र आफ्नो काँडा प्राप्त गरेका थिए । यस कारणले गर्दा, भर्जिन मेरीलाई प्रायः ‘काँडाविहीन गुलाफ’ भनेर चिनिन्छ, किनभने उनी एक्लै ‘पापरहित’ रहिन् ।

बाह्रौँ शताब्दीमा गुलाफ समातेर वा गुलाफको झाडी छेउमा उभिएकी भर्जिन मेरीको तस्बिरले लोकप्रियता प्राप्त गर्‍यो । तेह्रौँ शताब्दीमा सेन्ट डोमिनिकले भर्जिन मेरीका लागि प्रार्थनाको शृङ्खला सिर्जना गर्दा मेरी र गुलाफ बिचको यो सम्बन्ध बलियो भयो । रोजीहरूले वास्तवमा ‘गुलाफ’ शब्दबाट आफ्नो नाम पाएका हुन् र जसलाई गुलाफको मालाको प्रतीकको रूपमा प्रयोग गरिन्छ । 

गुलाफ र दिव्य प्रेम बिचको सम्बन्ध आज पनि कायम छ जहाँ ‘गुलाफको चमत्कार’ का धेरै कथाहरूसँग जोडिन्छ । यो एक रहस्यमय घटना हो, जहाँ गुलाफको वृद्धिले ईश्वरको कार्यलाई संकेत गर्दछ । 

गुलाफको चमत्कारको बारेमा धेरै कथाहरू छन्, तर सबैभन्दा प्रसिद्ध कथा तेह्रौँ शताब्दीको मध्यतिर हंगेरीको सेन्ट एलिजाबेथसँग सम्बन्धित छ । उनी धनी परिवारबाट आएको भए पनि उनलाई गरिबहरूप्रति गहिरो करुणा थियो । उनी आफ्नो गाउँका गरिबहरूलाई खुवाउन उनको परिवारको भण्डारबाट निरन्तर खाना चोर्थिन् । 

एक दिन त्यसै गरी उनले रोटी, मासु र अण्डा चोरेर आफ्नो लुगामुनि लुकाइन् । त्यसलाई बाँड्न गाउँ जाँदै गर्दा, बाटोमा उनले आफ्नो पतिलाई भेटिन् । पतिलाई शंका लागेर उनलाई ‘लुगामुनि के छ ?’ भनेर सोधे । जब उनलाई लुगाभित्र लुकाएको कुरा देखाउन बाध्य पारियो, त्यहाँ लुकाएर राखेको खाना चमत्कारिक रूपमा गुलाफको गुलदस्तामा परिणत भएको थियो ।

यस कथामा गुलाफले रोमान्टिक प्रेमको प्रतिनिधित्व नगरे पनि, तिनीहरू निश्चित रूपमा उदारता र करुणाको प्रतीक हुन् । 

पूर्वीय संसारमा गुलाफ
संसारभरि, हामीले बगैँचामा गुलाफ उब्जाउने परम्परा चीनलाई धन्यवाद दिनुपर्छ । त्यहाँ लगभग ५ हजार वर्ष पहिले गुलाफ बगैँचामा खेती गर्न थालिएको थियो । 

चिनियाँहरूले हामीलाई गुलाफको बगैँचा दिए पनि वास्तवमा प्राचीन हिन्दुहरू र प्राचीन अरबहरू (प्राचीन ग्रीकहरूसँगै) ले पहिलो पटक गुलाफलाई प्रेम, सौन्दर्य र रोमान्ससँग जोडेका थिए ।

  
शताब्दीयौं पुरानो हिन्दु मान्यताले भाग्य र समृद्धिकी देवी र भगवान् विष्णुकी पत्नी लक्ष्मीलाई १०८ ठुला र १,००८ साना गुलाफका पंखुडीहरूबाट सृष्टि गरिएको विश्वास गर्छ ।

विष्णुले आफ्नी पत्नीलाई गहिरो माया गर्थे, र सामान्यतया उनको महान् सुन्दरताको बारेमा कुरा गर्थे, जसले गुलाफ, रोमान्स र भक्ति बिचको प्रारम्भिक सम्बन्ध सिर्जना गर्‍यो ।

एउटा प्राचीन अरबी किंवदन्तीले गुलाफलाई सांकेतिकरुपमा प्रेमसँग र शाब्दिक रूपमा हृदयको रगतलाई रूपमा जोड्छ । यो किंवदन्तीले सेतो गुलाफसँग प्रेममा परेको बुलबुल चराको कथा बताउँछ । उसको प्रेम यति प्रगाढ थियो कि यसले बुलबुललाई पहिलो पटक गाउन बाध्य बनायो, र त्यसो गर्दा, उसले आफ्नै गीतको सुन्दरता महसुस गर्‍यो । आफ्नो प्रेम र आफ्नै गायनको आवाज दुवैबाट यति अभिभूत भएर, बुलबुलले आफूलाई गुलाफमाथि थिच्यो, र एउटा काँडाले उसको मुटु छेड्यो र फूललाई रगतले रातो बनायो । आफ्नो पीडाको बाबजुद पनि, बुलबुलले गुलाफलाई थिच्न जारी राख्यो, र अन्ततः गुलाफलाई आफ्नो शरीरमा समातेर जीवन त्याग गर्‍यो । 

यी सबै कथाहरू, चाहे ती ग्रीक, रोमन, अरबी वा हिन्दु हुन्, ले व्यक्तिको हृदयको रगत र तीव्र भक्तिको भावनाहरू बिच एक स्थायी सम्बन्ध सिर्जना गर्छन् । वास्तवमा, सभ्यताको प्रारम्भिक दिनदेखि नै, गुलाफ स्थायी प्रेम र असीम सुन्दरताको प्रतीक थियो ।

आधुनिक समाजमा गुलाफ 
गुलाफ र प्रेम बिचको सम्बन्ध प्राचीन कालमा रोकिएन । मध्ययुगीन चित्रहरूदेखि सेक्सपियर र आधुनिक रोमान्टिक चलचित्रहरूसम्म गुलाफ देखिन्छ ।

कलामा प्रेम व्यक्त गर्न गुलाफ कसरी प्रयोग गरियो भन्ने केही उदाहरणहरू हेर्ने हो भने १३ औँ शताब्दीमा, गुइलाउम डे लोरिसको फ्रान्सेली कविता ‘रोमान्स अफ द रोज’ मा गुलाफलाई प्रमुख रूपमा चित्रण गरिएको थियो । त्यहाँ गुलाफलाई महिला कामुकताको प्रतीकको रूपमा प्रयोग गरिएको छ । 

कविताको पहिलो भागले प्रेमीको ‘गुलाफ’ को खोजीको विवरण दिन्छ, जुन उसले प्रेम र विवाह गर्न चाहेको महिलाको प्रेमको प्रतीक हो ।  

प्रेम र रोमान्सको लागि रूपकको रूपमा गुलाफको यो प्रयोग पछि पनि जारी रह्यो, विशेष गरी सेक्सपियरका कृतिहरूमा । रोमियो एन्ड जुलीयट, अ मिडसमर नाइट्स ड्रीम र एन्टोनी एन्ड क्लियोपेट्रा जस्ता नाटकहरूमा उनले गुलाफको सन्दर्भ उदारतापूर्वक प्रयोग गरेका थिए । आफ्ना अघिका कलाकार र लेखकहरू जस्तै, सेक्सपियरले प्रेम, सौन्दर्य, इच्छा र शुद्धताको प्रतीकको रूपमा गुलाफको प्रयोग गरे । 

सन् १७४० को फ्रान्सेली परी कथा ‘ब्यूटी एण्ड द बिस्ट’ मा बेलेले आफ्नो बुबालाई व्यापार यात्राबाट फर्कँदा एउटा गुलाफ ल्याउन आग्रह गर्छिन्, जबकि उनका दुई ठुली दिदीबहिनीहरूले गहना र फेन्सी लुगाहरू माग्छन् । स्पष्ट रूपमा, गुलाफ बेलेको सुन्दरताको प्रतीक मात्र होइन, तर उनको दयालु भावना र लोभ नभएको प्रतीक पनि थियो । 

स्कटिश कवि रोबर्ट बन्र्सले आफ्नो सन् १७९४ को कविता ‘रेड, रेड रोज’ मा गुलाफलाई रोमान्सको प्रतीकको रूपमा अमर बनाए । उनले आफ्नो प्रेमलाई रातो गुलाफसँग तुलना गरे । 

सन् १८०० को दशकमा, भिक्टोरियनहरूले आज हामीले सोचेजस्तै रोमान्स र गुलाफ बिचको स्थायी सम्बन्धलाई बलियो बनाए । भिक्टोरियनहरू फूलहरूको भाषा, वा फ्लोरियोग्राफीसँग मोहित थिए । उनीहरूले फूलको हरेक रङको लागि छुट्टै अर्थ विकास गर्दै र साथीहरू, परिवार र प्रेमीहरूलाई पठाए । यो परम्पराले गुलाफलाई रोमान्सको प्रतीकको रूपमा पुनः पुष्टि गर्‍यो । 

त्यस समयमा सार्वजनिक रूपमा भावनाहरू व्यक्त गर्नु स्वीकार्य मानिँदैन थियो, त्यसैले फूलहरूको भाषा र गुलाफको उपहार यस सीमित युगमा स्नेह व्यक्त गर्ने एक कोमल तरिका थियो । 

प्रेम सम्बन्ध र डेटिङमा प्रेमको प्रतीकको रूपमा र सन्देश प्रणालीको रूपमा गुलाफको प्रयोग शताब्दीयौँदेखि कायम छ । मानिसहरूको भावनालाई राम्ररी नबोल्ने प्रतीकहरू अन्ततः हराउँछन् । गुलाफहरू भने शताब्दीयौँदेखि प्रेमको प्रतीकको रूपमा अस्तित्वमा छन् भन्ने तथ्यको अर्थ मानिसहरूले बारम्बार यो सम्बन्ध महसुस गरेका छन् । गुलाफहरूले हाम्रो हृदयको नजिकका भावनाहरूलाई समेट्न र प्रतिनिधित्व गर्न सक्छन् जुन शब्दहरूमा व्यक्त गर्न गाह्रो हुन सक्छ ।

रातो गुलाफको विज्ञान 
रातो गुलाफको आकर्षण सांस्कृतिक मात्र होइन वैज्ञानिक पनि छ । गुलाफको पंखुडीमा रहेको गाढा रातो रङद्रव्यको कारण ‘एन्थोसायनिन’ हो, जसले तिनीहरूको समृद्ध रङ उत्पादन गर्दछ । 

यो रङको तीव्रताले प्रायः प्रेमसँगको मनोवैज्ञानिक सम्बन्धलाई चालु गर्दछ, किनकि रातो रङले जोस, उत्साह र इच्छा जस्ता बलियो भावनाहरू जगाउँछ । अझ रातो गुलाफको नाजुक सुगन्धले तिनीहरूको रोमान्टिक आकर्षण थप्छ र संवेदनात्मक अनुभवलाई बढाउँछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप