सरकारसँग ग्यासको गुणस्तर परीक्षण गर्ने ल्याब नै छैन, विस्फोट हुनबाट कसरी बच्ने ?
![सरकारसँग ग्यासको गुणस्तर परीक्षण गर्ने ल्याब नै छैन, विस्फोट हुनबाट कसरी बच्ने ?](https://npcdn.ratopati.com/media/news/mmm_m3nP85UwHb.jpg)
काठमाडौँ । बिहीबार कमलपोखरीस्थित सान्दार मःम पसलमा ग्यास पड्कियो । केशव श्रेष्ठको घरमा भाडामा सञ्चालनमा रहेको उक्त पसलमा बिहान अचानक दुर्घटना हुँदा त्यहाँ काम गर्ने ११ जना घाइते भए ।
जसमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार तत्काल उद्धार गरी घाइतेलाई हिमाल अस्पताल पुर्याइएको थियो । त्यहाँ उपचारपछि सबैलाई कीर्तिपुर बर्न सेन्टर लगिएको थियो।
यसअघि गत बुधबार मात्रै कैलालीको धनगढीमा ग्यास सिलिन्डर विस्फोट हुँदा ६५ वर्षीया वृद्धाले ज्यान गुमाइन् । दुर्घटनमा वर्मा विष्टको ज्यान पनि गयाे । उनको घर पनि ध्वस्त भयो । अहिले उनका श्रीमान् र उनकी १५ वर्षीया नातिनी उपचाररत छन्।
ग्यास सिलिन्डर विस्फोटका घटना बढ्दै गएका छन् । जसका कारण ठुलो धनजनको क्षति हुने गरेको छ । तर, यस्ता घटना बढ्दै जाँदा पनि सरकारले आवश्यक जनचेतना फैलाउन नसकेको एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरे बताउँछन् ।
उनका नेपालमा सिलिन्डर परीक्षण भए पनि ग्यास परीक्षण गर्ने ल्याब नै छैन । उनले भने, ‘खाना पकाउने ग्यासको गुणस्तर मापन गर्ने ल्याब नेपाल सरकारसँग छैन, ग्यासको गुणस्तरबारे निगम, उद्योगी, बिक्रेता, उपभोक्ता पनि अनभिज्ञ छन्।’
साथै सरकारले ग्यास प्रयोगको सुरक्षासम्बन्धी जनचेतना कार्यक्रम प्रभावकारी रूपमा गर्नुपर्ने पनि उनले बताए ।
नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले घिमिरेको कुरा स्वीकार गर्दै भारतबाट परीक्षण भएर ग्यास आयात हुने भएकाले नेपालमा आवश्यक नठानिएको बताए।
‘उद्योगीले कुन रिफाइनरीमा आयात गर्ने हो त्यही ग्यास परीक्षण गरेर बुलेटमा लोड हुन्छ,’ उतै परीक्षण गरेर ल्याउने भएकाले नेपालमा ग्यासको गुणस्तर परीक्षण गर्ने ल्याब आवश्यक छैन ।' तर सिलिन्डर, रेगुलेटर र पाइपको गुणस्तर भने नापतौल विभागले परीक्षण गर्ने गरेको उनले दाबी गरे।
नेपालमा ग्यास विस्फोट हुनुमा ग्यास, सिलिन्डर मात्र नभएर चुल्हो र त्यसमा प्रयोग गरिने रेगुलेटरका कारण पनि हुन् ।
‘ग्यास बालेर छोडेर बाहिरतिर गइदिने, ग्यास सिलिन्डर अग्लो स्थानमा राखेर बाल्ने, लामो समयसम्म पाइप, रेगुलेटर चेन्ज नगर्दा विस्फोट हुने गरेको छ,’ उनले भने, ‘ससाना कमजोरीका कारण विस्फोट भई ठुलो क्षति हुने गरेको छ ।’
नेपाल आयल निगमले बेलाबेलामा विभिन्न सञ्चारमाध्यमबाट जनचेतना फैलाउने कार्य गरिरहेको उनले बताए ।
नेपाल गुणस्तर तथा नापतौल विभागका प्रवक्ता प्रभातकुमार सिंहले आफूहरुले ग्यास सिलिन्डरको मापदण्डअनुसार परीक्षण गर्दै आएको दाबी गरे । 'हाम्रो मापदण्डअनुसार बनेको सिलिन्डरमात्र ग्यास उद्योगीले खरिद गर्छन् । ग्यास उद्योगीले ग्यास भरेर बजारमा पठाउँछन्,’ उनले भने, ‘त्यसको बिचबिचमा हामी निरीक्षण गर्छौँ ।’
रेगुलेटर पाइपको पनि मापदण्ड रहेको उनले बताए । बजारमा उपभोक्ताले सस्तोभन्दा बलियो हेरेर खरिद गर्नुपर्ने उनले सुझाव दिए । ‘सिलिन्डर पड्किने मुख्य कारण सिलिन्डरभित्र भएको ग्यासमा प्रेसर बढ्नु हो । भित्रसम्म आगो हतपत जाँदैन। तर, कुनै कारणवश र बाहिरको वातावरणले तातेर विस्फोट हुन सक्छ,’ सिंहले भने,‘सिलिन्डर त निश्चित अवधिमा परीक्षण गरिन्छ । त्यसको तौल सुरुभन्दा ५ प्रतिशत घटबढ भएमा उक्त सिलिन्डर प्रयोग गर्नु हुँदैन/ पाइँदैन ।’
ग्यास विस्फोट हुनबाट कसरी बच्ने ?
प्रवक्ता सिंहका अनुसार सामान्यतया ग्यास खरिद गर्दा मिति हेर्नुपर्छ। रेगुलेटर, पाइप, चुल्होजस्ता वस्तु सरकारबाट गुणस्तर पाएको मात्र प्रयोग गर्नुपर्छ ।
सिलिन्डर कहिल्यै पनि गुडाउन नहुने र खरिद गर्दा चुहावट छ/छैन यकीन गर्न पनि उनले सुझाव दिए। यस्तै सिलिन्डर ठाडो बनाएर राख्ने र चुल्होसँग सम्बन्धित उपकरणहरू, हरेक दुई वर्षमा फेर्न पनि उनले अनुरोध गरे। खाना पकाइसकेपछि रेगुलेटर अनिवार्य रूपमा बन्द गर्ने र खाना पकाउँदा झ्याल र ढोका खुला राख्ने गर्नुपर्ने उनको भनाइ थियो। त्यस्तै खाना पकाउन बस्दा सुतीको कपडा लगाउन पनि उनले सुझाए ।
ग्यास लिक हुँदा गन्ध आउने भएकाले रेगुलेटर बन्द गर्ने र सिलिन्डरमा क्याप लगाएर कोठा बाहिर राख्नुपर्ने पनि उनले सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साविक विजेता नेपालगञ्ज सेन्ट जेभियर्स र होप इन्टरनेशनलबिच उद्घाटन खेल
-
रोकिएका धेरै काम द्रुत गतिमा अगाडि बढेका छन् : प्रधानमन्त्री ओली
-
जलवायु न्याय सम्बन्धी सङ्गोष्ठी सम्पन्न
-
कैलालीको गोदावरीमा आमा–छोरी मृत भेटिए
-
कालिकोटमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु
-
मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीले भर्चुअल संवाद गर्ने