१० बजे १० समाचार : काठमाडौँका गुण्डामाथि प्रहरीको निगरानीदेखि चौथो मुद्दामा पनि रवि लामिछाने रिहासम्म
![१० बजे १० समाचार : काठमाडौँका गुण्डामाथि प्रहरीको निगरानीदेखि चौथो मुद्दामा पनि रवि लामिछाने रिहासम्म](https://npcdn.ratopati.com/media/news/cover-bbb_wm5i16xlFq.jpg)
काठमाडौँ । आज मिति २०८१ माघ महिनाको २४ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको १० बजेको नियमित प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–
१. आक्रामक प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा बैठकमा बिहीबार निकै लामो सम्बोधन गरे ।
सम्बोधनका क्रममा प्रचण्डले मुख्यगरी तीन वटा सन्देश प्रवाह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति उनले आक्रामक रवैयालाई कायम राखेका छन् । यद्यपि सत्ता साझेदार नेपाली कांग्रेसप्रति उनले सद्भाव नै प्रकट गरे ।
प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतबाट उनले संसदमा रहेका साना दललाई भने सान्त्वना दिएका छन् । साना दलको संरक्षकका रूपमा उनले आफूलाई संसदमा प्रस्तुत गरे ।
२. गोलचक्करमा संसद
संसद्को हिउँदे अधिवेशन सुरु भएको दोस्रो दिनको प्रतिनिधि सभा बैठकमा सांसदहरूले शून्य, आकस्मिक र विशेष समयमा पछिल्ला राजनीतिक घटानाक्रमदेखि समाजमा भएका घटनाबारे प्रश्न, चर्चा र सवाल–जवाफ गरेका छन् ।
सत्ता पक्षका सांसदहरूले सरकारले गरेका निर्णय र कामकारबाहीको बचाउ गर्दा प्रमुख प्रतिपक्षसहित विपक्षी दलका सांसदहरूले सरकारको आलोचनामा समय बिताए । रवि लामिछाने, अध्यादेश र जातीय विभेदको गोलचक्करमा संसद् देखिएको छ ।
नेकपा एमालेका सांसद रघुजी पन्तले बिहीबार प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा गरेको सम्बोधनलाई कुण्ठा व्यक्तको संज्ञा दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै पन्तले संसद् कसैको कुण्ठा पोख्ने थलो नभएर तर्क र तथ्यका आधारमा सांसदहरू प्रस्तुत हुनुपर्ने भन्दै प्रचण्डको सम्बोधनलाई कुण्ठाको संज्ञा दिएका हुन् ।
३. पेस भएन अध्यादेश
सरकारले प्रस्तुत गरेको अध्यादेशको पारित गर्ने ‘ग्यारेन्टी’ नभए पश्चात् बिहीबारको राष्ट्रिय सभा बैठकमा अध्यादेशको विषय प्रवेश नै हुन सकेन । बिहीबार केही समयका लागि बसेको राष्ट्रिय सभा बैठकमा सरकारको तर्फबाट दुई वटा विधेयक मात्र पेस गरियो ।
राष्ट्रियसभाको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । आइतबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेगरी बैठक स्थगित भएको हो ।
४. घट्यो बजेटको आकार
सरकारले बजेटको आकार १ खर्ब ६८ अर्बले घटाएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेटको अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार घटाएका हुन् ।
जेठ १५ गते १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रहेको बजेट ल्याएको सरकारले अहिले १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाखमा झारिएको छ । यो सुरु बजेट अनुमानको ९०.१९ प्रतिशत हो ।
५. चौथो मुद्दामा पनि रवि रिहा
रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन् । चितवन जिल्ला अदालतले सहकारी ठगीमा मागेको ५४ लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर उनी रिहा भएका हुन् । उनी चौथो मुद्दामा पनि रिहा भएका हुन् । यसअघि उनी तीन अदालतबाट पनि सहकारी ठगीमै धरौटी बुझाएर रिहा भएका थिए ।
६. ग्यास व्यवसायीको धम्की
नेपाल एलपी ग्यास उद्योग संघले ग्यास आयात तथा बिक्री रोकी देशभरका उद्योग बन्द गर्ने चेतावनी दिएको छ ।
लामो समयदेखि ग्यास उद्योगमा समस्या परेको र समाधानका लागि राज्यबाट कुनै पहल नभएको भन्दै बिहीबार पत्रकार सम्मेलनमार्फत संघको चेतावनी आएको हो ।
७. सेयर बजार
बिहीबार सेयर बजार परिसूचक (नेप्से) ११.६४ अंकले घटेको छ । २७१४ बिन्दुबाट सुरु भएको कारोबार उतारचढावका बिच सामान्य अंकले घट्दा परिसूचक २७०० बिन्दुमा झरेको हो ।
८. बादलको अभिव्यक्ति
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले माओवादी जनयुद्ध हिंसा भएको टिप्पणी गरेका छन् । अछाममा आयोजित पत्रकार सम्मेलनमा उनले विगतमा आफू नै सहभागी भएको जनयुद्धबारे यस्तो टिप्पणी गरेका हुन् ।
९. गुण्डाहरुमाथि निगरानी
काठमाडौँ उपत्यकामा भएका गुण्डाहरूमाथि प्रहरीले निगरानी बढाएको छ । पुराना गुण्डाहरू शैली र नयाँ गुण्डाहरूबारे प्रोफाइल पुनरावलोकन गर्न थालिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
गुण्डागर्दी नियन्त्रण गर्न पुरानो सूचीमा भएकाहरूको प्रोफाइलिङ पुनरावलोकन गर्न काम भइरहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख (एआईजी) टेक बहादुर तामाङले बताए । बिहीबार आयोजित पत्रकार सम्मेलनमा तामाङले भने, ‘गुण्डाहरूको प्रोफाइलिङ गर्छौँ, गर्दै छौँ ।’
१०. राखेपको निर्णय
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यकारी समितिको ३३ औँ बोर्ड बैठकले राखेपद्वारा सोधिएको स्पष्टिकरणको अवाज्ञा गर्ने राष्ट्रिय खेल संघहरुलाई थप तीन दिनको समय दिने र सो अवधिभित्र पनि चित्तबुझ्दो जवाफ प्राप्त नभए कारवाही प्रकृया अगाडि बढाउने निर्णय गरेको छ ।
थप समाचार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रचण्ड ओलीप्रति आक्रामकदेखि रवि चौथो पटक धरौटी तिरेर रिहासम्म
-
प्रचण्डले असन्तुलित अभिव्यक्ति दिएको भन्दै शंकर पोखरेलको कटाक्ष
-
अर्जुन ट्रफी : डडेल्धुरा सेमिफाइनलमा
-
सुपर माछा खोला जलविद्युत् आयोजनाका लागि ऋण लगानी सम्झौता
-
हुलाकी सडकको काम तत्काल सुरु नगरे राजधानी केन्द्रित आन्दोलन गर्ने चेतावनी
-
उद्योगमन्त्री भण्डारीद्वारा विवादित चुनढुङ्गा खानीको स्थलगत अनुगमन