बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय

आफूविरुद्ध पार्टीले कारबाही गरेपछि कानुनी उपचार खोज्दै वडाध्यक्ष

बिहीबार, २४ माघ २०८१, २१ : ०८
बिहीबार, २४ माघ २०८१

बुटवल । घोराही नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष जितेन्द्र शाह आफूमाथि पार्टीले गरेको कारबाहीविरुद्ध कानुनी उपचारमा जाने भएका छन्। 

शाहलाई नेकपा एमाले जिल्ला कमिटी दाङले कारबाही गर्ने निर्णय गरेको थियो। त्यसपछि उनी कानुनी बाटो खोज्न बाध्य भएका हुन्। 

पार्टीबाट कारबाही भोगेका एमाले पूर्वजिल्ला कमिटी सदस्यसमेत उनले घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीले नगरपरिषद्मा गरेको नराम्रा कामको विरोध गर्दा आफूलाई पार्टीबाट निकालिएको बताउँदै आएका छन्।  

एमालेले निर्वाचन आयोगमा आफूलाई वडाध्यक्ष पदबाट हटाउन पत्राचार गरेको र यसको विरोधमा सर्वोच्च अदालत जाने तयारीमा रहेको उनले रातोपाटीलाई बताए । उनले भने, 'मैले आज पनि वडा कार्यालय गएर सबै काम गरेको छु । यदि निर्वाचन आयोगमा पार्टीले पत्राचार गरे म अदालत जाने तयारी गरेर बसेको छु।'

एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षता तथा मेयर चौधरीको प्रमुख आतिथ्यमा बसेको जिल्ला कमिटी बैठकले शाहलाई हिजो (बुधबार) कारबाही गर्ने निर्णय गरेको थियो ।

पार्टी जिल्ला कमिटी बैठकको निर्णय केन्द्रीय कार्यालयमा पठाउने र  त्यस थप प्रक्रिया विधिसम्मत हुने अध्यक्ष आचार्यले बताए। उनले भने, 'पार्टीको गतिविधिविरुद्ध भएकाले कारबाही गरिएको हो।' 

कारबाहीको कारण : वडाध्यक्ष र मेयरबिचको द्वन्द्व  

वडाध्यक्ष शाह र मेयर चौधरीबिच लामो समयदेखि द्वन्द्व चर्किरहेको थियो। मेयरविरुद्ध अभिव्यक्ति दिएपछि भने पार्टीले शाहलाई स्पष्टीकरण सोधेको थियो। तर, शाहले जिम्मेवार रूपमा जवाफ नदिएको भन्दै उनीविरुद्ध पार्टी कमिटीले डन्डा चलाएको हो। 

वडाध्यक्ष शाहले एमाले पोलिटब्युरो सदस्य एव घोराहीका मेयर चौधरीको चर्को आलोचना गर्दै आएका थिए। शाहले मेयर चौधरीले बजेट विनियोजित गर्दा शिक्षा स्वास्थ्यमा ध्यान नदिएको उनले आरोप लगाउने गरेका थिए। कार्यपालिका बैठकमा पनि आपत्ति प्रकट गरेका थिए। 

गत वर्षदेखि नै मेयरले गरेका नराम्रा काम गर्दै आएको र मेयरले पार्टीको प्रयोग गरेर आफूलाई कारबाही गरेको उनले बताएका छन्। 

नगरपालिकाले गत वर्ष तीन ठाउँमा डम्पिङ गरेर नदीजन्य पदार्थ बिक्री गर्ने निर्णय उल्टाउनुपरेको र हालै असारमा बसेको नगरपरिषद्मा बजेट विषयमा आफूले नोट अफ डिसेन्ट लेखेको बताए । 

उनले भने, 'नगरपरिषद्मा उपस्थित ९७ मध्ये ९६ जनाले समर्थन गर्दा म एक्कैले विरोध गरेको थिएँ।' 

नगरपालिकाले करवृद्धि गर्दा आफूले विरोध गरेको र जसका कारण आफ्नो वडामा बजेटसमेत नदिएको उनले आरोप लगाए । 

तीन महिना पहिले सामाजिक सञ्जालमा पार्टीका नीतिविपरीत मनपरी लेखेको भन्दै एमाले जिल्ला कमिटीले वडाध्यक्ष शाहलाई लिखित रूपमा स्पष्टीकरण बुझाउन भनेको थियो। त्यसअघि नै उनले आफूले पार्टी त्यागेको र स्वतन्त्र भएको सार्वजनिक रूपमा घोषणा गरेका थिए। 

पछि नेताहरूको आग्रहमा उनी पार्टीमा फर्किएका थिए। 

यता एमाले पोलिटब्युरो सदस्य एव घोराही उपमहानगरका मेयर नरुलाल चौधरीले भने आफ्नो व्यक्तिगत रूपमा कुनै समस्या नभएको रातोपाटीलाई बताए। उनले भने, 'यो नगरपालिकाभन्दा पनि पार्टीको विषय हो।'

 शाहलाई कारबाही गर्न नगरपालिकामा बहुमत पुग्ने पनि उनले दाबी गरे। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप