सुपर माछाखोलामा लगानी गर्न राष्ट्रिय वाणिज्य बैंक तयार, ६७ करोड ऋणका लागि फाइनान्सियल क्लोजर

काठमाडौं । ४.६ मेगावाटको सुपर माछाखोला जलविद्युत् आयोजनामा लगानी गर्न राष्ट्रिय वाणिज्य बैंक तयार भएको छ । उक्त आयोजनको विकासकर्ता कम्पनी बुढीगण्डकी हाइड्रोपावर प्रा.लि. र राष्ट्रिय वाणिज्य बैंकबीच बिहीबार फाइनान्सियल क्लोजरसम्बन्धी सम्झौता भएको हो ।
सम्झौतापत्रमा बुढीगण्डकी हाइड्रोपावर प्रा.लि.का अध्यक्ष खगेन्द्र न्यौपाने र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र रमण खनालले हस्ताक्षर गरे । यस अनुसार बैंकले आयोजनाका लागि ६७ करोड ४६ लाख रुपैयाँ ऋण लगानी गर्नेछ ।
यो हाइड्रोपावर उक्त ग्रुपको दोस्रो परियोजना हो । यसअघि विकास हाइड्रोपावर कम्पनीमार्फत् सोही समूहले अपर माछाखोला हाइड्रोपावर परियोजना सम्पन्न गरिसकेको छ । उक्त परियोजना तोकिएको समयभन्दा ६ महिना अघि नै सम्पन्न भई राष्ट्रिय प्रसारण लाइनसँग जोडिएर विद्युत् बिक्री समेत भइसकेको छ ।
उक्त परियोजना निर्माणको सफलताले नयाँ परियोजना निर्माणको लागि उत्प्रेरित गरेको अध्यक्ष न्यौपानेले बताए । पहिलो परियोजनामा २३ किलोमिटर प्रसारण लाइन र ११ किलोमिटर सडक परियोजनाले नै निर्माण गरेको अनुभव प्रस्तुत गर्दै न्यौपानेले कम्पनीका प्रबन्ध निर्देशक कृष्ण घिमिरे लगायतको टिमले अहोरात्र गरेको कामका कारण यो सफलता हासिल हुन सकेको बताए ।
अहिलेको आयोजना निर्माण गर्दा आफूहरूसँग अनुभव भइसकेकोले तोकिएको समयभन्दा अगाडि नै निर्माण सम्पन्न गरेर बैंक र सम्पूर्ण लगानीकर्तामाथि न्याय गर्ने प्रतिबद्धता समेत उनले जनाए ।
राष्ट्रिय वाणिज्य बैंकका सीईओ खनालले उक्त समूहले पहिलो परियोजनामा गरेको सन्तोषजनक प्रगतिका कारण बैंकले विश्वास गरेर छिटै वित्तीय व्यवस्थापनका लागि सहमति दिएको भन्दै पहिले जसरी समयमै परियोजना निर्माण अघि बढाउने विश्वास व्यक्त गरे ।
कम्पनीका प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरेले यो हाइड्रोपावरको १५/२० प्रतिशत काम अहिले सकिइसकेको भन्दै अबको डेढ वर्षभित्र सम्पूर्ण काम सक्ने लक्ष्य राखिएको बताए ।
सोही समूहले रुकुममा २४ मेगावाटको अर्को आयोजना समेत निर्माण गर्ने तयारी गरेको जानकारी दिइएको छ । अबका दिनमा २० मेगावाटभन्दा ठूला आयोजना मात्रै बनाउने कम्पनीका अध्यक्ष न्यौपानेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानलाई संशोधन गरेर सर्वमान्य बनाउनुपर्छ : सांसद यादव
-
प्रदेश सभातिर धाएर के सन्देश दिन खोज्दैछन् प्रधानमन्त्री ?
-
अन्तिम खेलमा बेंगलुरुसँग पराजित भएपछि मुम्बई एलिमिनेटर खेल्न बाध्य, दिल्ली सिधै फाइनलमा
-
प्रदेश सभामा प्रधानमन्त्रीले सम्बोधन गर्नु संघीयताप्रतिको प्रतिबद्धता नै हो
-
पैतालीस कोठाको घैरुङ स्वास्थ्य चौकी निर्माण सम्पन्न
-
सामान्य कुरा भन्न प्रधानमन्त्री प्रदेश सभामा आइरहन पर्दैन