बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विपद् व्यवस्थापनमा सरकारको भूमिका खोज्दै बागमतीका सांसद

पहुँचमा बजेट हाल्दा चुनौती थपियो
बिहीबार, २४ माघ २०८१, २० : २४
बिहीबार, २४ माघ २०८१

बागमती प्रदेशसभाका सांसदहरूले विपद् व्यवस्थापनमा सरकार गम्भीर बन्न नसकेको बताएका छन् । सांसदहरूले गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाको कारण भएको विपद्को व्यवस्थापनमा सरकारको भूमिका कमजोर देखिएको बताए ।

बिहीबार बसेको प्रदेशसभाको बैठकको निर्वाचन क्षेत्रलक्षित विशेष समयमा सत्तापक्ष तथा प्रतिपक्षका सांसदहरूले सरकारले विपद् प्रभावित क्षेत्रमा ध्यान दिन नसकेको आरोप लगाए । 

बैठकमा सत्ता र प्रतिपक्षका ३१ सांसदले धारणा राखेका थिए । सभामुख भुवन कुमार पाठकको रुलिङअनुसार आफू प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्रको आवश्यकता र मागबारे उनीहरूले धारणा राखेका थिए ।

उनीहरूले सरकारले विपद् प्रभावित नागरिकहरूको आवास तथा व्यवस्थापन काम गर्न नसकेको बताए । विपद्बाट क्षति भएका सडक पूर्वाधारहरूको पुनर्निर्माण तीव्र बनाउन पनि उनीहरूले माग गरे ।

सभामुखले आफूहरूलाई निर्वाचन क्षेत्रमा मात्र सीमित बनाउन खोजेको उनीहरूको आरोप थियो । निर्वाचित सांसद प्रदेशभरको हुने भए पनि सभामुख पाठकले सांसदहरूको भूमिकालाई खुम्च्याएर आमनागरिकको मुद्दा उठाउने अधिकारमाथि हस्तक्षेप गरेको उनीहरूको भनाइ थियो । 

पछिल्लो समय निकुञ्ज र बफर जोनमा वन्यजन्तु र मानवहरूको द्वन्द्वका घटना बढेका भन्दै सरकारले वन्यजन्तुको आक्रमणबाट आक्रान्त भएका नागरिकहरूको लागि काम गर्न नसकेको पनि बताए । 

पहुँचमा बजेट हाल्दा चुनौती बढ्यो

सासंसदहरूले सरकारको गतिविधिका कारण व्यवस्थामाथि नै चुनौती थपिएको बताए । सरकारको कार्यशैलीकै कारण संघीयता र प्रदेश सरकारप्रति वितृष्णा बढेको उनीहरूको भनाइ थियो । 

मन्त्री र सरकारनिकट रहेका सांसदको क्षेत्रमा बजेट बढी पार्ने प्रचलनले समस्या भइरहेको उनीहरूको जिकिर थियो । साना र टुक्रे आयोजनामा सरकारको बजेट बढी परिरहेकोले त्यसलाई व्यवस्थापन गर्न उनीहरूले सुझाव दिए ।

बैठकमा ओमुकमारी श्रेष्ठ, रत्नप्रसाद ढकाल, प्रभात तामाङ, गोविन्द लम्साल, रामकुमार पहाडी, उद्धव थापा, जगन्नाथ थपलिया, कृष्णप्रसाद शर्मा खनाल, केशव प्रसाद पोखरेल, गिरबहादुर तामाङ, भारती पाठक, ठाकुर प्रसाद ढकाल, वसन्त मानन्धर, अमृता नेपाल लगायतले धारणा राखेका थिए ।

बैठकमा मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश लोक सेवा आयोगको गत आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन पेस गरेका थिए । 

प्रदेशसभाको अर्को बैठक माघ २६ गते दिउँसो २ बजे बस्नेगरी स्थगित गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप