बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय

लाभा बचत तथा ऋण सहकारीको स्वतन्त्र अडिट सुरु, एक महिनामा प्रतिवेदन बुझाउन महानगरको निर्देशन

बिहीबार, २४ माघ २०८१, २० : २०
बिहीबार, २४ माघ २०८१

विराटनगर । विराटनगर–८ मा कार्यालय रहेको लाभा बचत तथा ऋण सहकारी संस्थाको अध्ययन गर्न विराटनगर महानगरपालिकाको सहकारी शाखाले छुट्टै लेखापरीक्षक नियुक्त गरेको छ ।

महानगरपालिका सहकारी शाखाकी प्रमुख चाँदनी राईले उक्त सहकारीको लेखापरीक्षण सुरु गरिएको जानकारी दिइन् । ‘गत आइतबारदेखि लेखापरीक्षण सुरु भएको छ । त्यहाँबाट एक महिनामा आउने प्रतिवेदनको आधारमा छानबिनका लागि हामी जिल्ला प्रहरी कार्यालयमा पठाउँछौँ,’ उनले भनिन्, ‘प्रतिवेदन तयार पार्न एक महिना लाग्छ ।’ विराटनगरमा भएका लेखापरीक्षकहरुले उक्त सहकारीको लेखापरीक्षण गर्न नमानेपछि काठमाडौँबाट लेखापरीक्षक झिकाइएको हो ।

उक्त सहकारीले सहकारीबाटै ऋण दिएर ३६ प्रतिशतसम्म ब्याज लिने गरेको समाचार बाहिरिएको थियो । सहकारीका अध्यक्ष विष्णु पोखरेल र व्यवस्थापक बाबुराम बाँस्तोलाको संलग्नतामा सहकारीलाई नै मिटरब्याजको धन्दामा लगाएको पीडित बताउँछन् ।

उक्त सहकारीले गरेको अनियमितताको विषयमा छानबिन गर्न यसअघि नै विराटनगर महानगरपालिकामा उजुरी परेको थियो । सहकारी, सहकारीका अध्यक्ष पोखरेल र व्यवस्थापक बाँस्तोलाले आफूलाई ठगेको भन्दै विराटनगर ४ का रोहित दाहालले गत भदौ ३० गते अनुचित लेनदेन सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मोरङमार्फत जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका थिए । उक्त उजुरीको विषयमा प्रहरीले सामान्य छलफल गरेर अनुसन्धान प्रतिवेदन दिन विराटनगर महानगरपालिकाको सहकारी शाखामा पठाइदिएको थियो । तर, सहकारीको कारोबार हेर्ने विज्ञ कार्यालयमा नभएको र कोही पनि लेखापरीक्षकले लेखापरीक्षण गर्न नमानेको भन्दै सहकारीको कारोबार छानबिन भएको थिएन ।

यसअघि पनि सहकारीका अध्यक्ष पोखरेलले सहकारीको रकम मिटरब्याजमा लगाउने गरेको आरोप लागेको समाचार प्रकाशन भएको थियो । उनले विभिन्न तमसुक बनाउने, हस्ताक्षर गरेको खाली चेक लिएर फिर्ता नगर्ने र चेक बाउन्सको मुद्दा हाल्ने, विभिन्न व्यक्तिहरूबाट ऋण लिएर आफ्नो नाममा जग्गा लिने र पछि फिर्ता नगर्ने गरेको पीडितहरू बताउँछन् ।

पोखरेलले विराटनगर ६ का आनन्द मोहन झा, विराटनगर–४ का लक्ष्मण घिमिरे, विराटनगर ४ कै रोहितकुमार दाहाल, विराटनगर ३ की अनिता गुप्तालगायतलाई ठगी गरेको उजुरी परेको छ । ती उजुरीका विरुद्धमा पोखरेलले पनि उजुरी दिएका छन् । तर, पोखरेल अध्यक्ष रहेको लाभा बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक बाबुराम बाँस्तोलालाई प्रयोग गरेर उनले मिटरब्याजको धन्दा चलाउने गरेको पीडित दाबी गर्छन् ।

सहकारीका व्यवस्थापक बाँस्तोलाले २०७८ सालमा मात्रै ९ करोड ७५ लाखको ऋण कारोबार गरेको तथ्याङ्कले देखाउँछ । विराटनगर महानगरपालिका वडा नम्बर ८ को वडा कार्यालयमा उनले एक वर्षमा सो बराबरको रकम ऋण लिएको कागज बनाएको रेकर्ड छ । जसमा आशिस खनाललाई दुई पटक गरेर १ करोड ७५ लाख, रोहितकुमार दाहाललाई ५० लाख, चन्द्रभुषण यादवलाई ५ करोड, सन्तोष कार्कीलाई एक करोड रुपैयाँ ऋण लगानी गरेको विराटनगर ८ को वडा कार्यालयको लेनदेन खातामा अभिलेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप