‘काठमाडौँ विश्वविद्यालयको रिफर्म गर्नुपर्ने अवस्था आयो’
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको पुनर्संरचना (रिफर्म) आवश्यक रहेकोमा सरोकारवालाहरूले जोड दिएका छन् ।
शिक्षा पत्रकार समाज (सेज)ले आयोजना गरेको ‘काठमाडौँ विश्वविद्यालयभित्रको समस्या र अबको बाटो’ विषयक अन्तर्क्रियामा शिक्षाविद् प्राडा मनप्रसाद वाग्लेले विश्वविद्यालयको ‘रिफर्म’ आवश्यक रहेको बताएका हुन् । ‘२०४८ सालमा जुन लिगेसीका साथ विश्वविद्यालय खोलिएको थियो, अहिलेसम्म परिवर्तन हुन सकेन,’ वाग्लेले भने, ‘अहिले उच्च शिक्षाको अवस्था धेरै माथि पुगिसक्यो । अब यसको रिफर्म गर्नुपर्ने बेला आयो ।’
विश्वविद्यालयका संस्थापक उपकुलपति प्राडा सुरेशराज शर्माले २० वर्ष विश्वविद्यालयको नेतृत्व सम्हालेका र पाँच पटक उपकुलपति बनेर विश्वविद्यालयलाई जुन स्थानमा पुर्याएका थिए, अहिले समयअनुसार रिफर्म हुनुपर्ने उनको भनाइ थियो ।
छैटौँ पटक उपकुलपति बनेका बेला एक वर्षको कार्यावधिमै तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले शर्मालाई हटाएका थिए ।
विश्वविद्यालय उकास्ने हो भने गभरनेन्स राम्रो हुनुपर्ने वाग्लेले बताए । त्यसका लागि अब पुरानो लिगेसीलाई परिवर्तन गर्नुपर्ने उनको धारणा थियो ।
तत्कालीन समयमा नेपालमै गुणस्तरीय शिक्षा पढ्न चाहनेलाई लक्षित गरेर विश्वविद्यालय खोलिएको थियो । तर, अहिले धनीहरू पनि विदेश नै जाने गरेका र मध्यमवर्गीय व्यक्तिहरू समेत ऋण खोजेर भए पनि विदेश जाने गरेका उनको भनाइ थियो । यस्तो अवस्थामा अब आउने उपकुलपतिले लिगेसी परिवर्तन गरेर विश्वविद्यालयको रिफर्म गर्नसक्नुपर्ने उनले बारम्बार जोड दिए ।
धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार व्यञ्जुले आजको आवश्यकताका आधारमा विश्वविद्यालयमा शैक्षिक कार्यक्रम हुनुपर्ने बताए । विद्यार्थीहरू हाम्रा लागि एम्बेस्डर भएका र उनले अब नयाँ नयाँ फ्याकेल्टीमा जानुपर्ने सुझाए ।
राष्ट्रको आवश्यकताका आधारमा शैक्षिक कार्यक्रम राखेर विश्वविद्यालयलाई पुनरवलोकन गनिुपर्नेमा उनले पनि जोड दिए । ‘धेरै नै विद्यार्थीको आकर्षण भएको विश्वविद्यालयमा अहिले त्यो गति कमजोर छ, अब अध्ययन अनुसन्धान गरेर जानुपर्ने बेला भएको छ’, उनले भने ।
काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएका स्कुल अफ एजुकेसनका डीन प्राडा बालचन्द्र लुईंटेलले समाजमा आएको परिवर्तनअनुसार जान नसक्दा चुनौती बढिरहेको स्वीकार गरे । विश्वविद्यालय पूरै खराब नै भइनसकेको तर समस्या रहेको प्रस्ट पारे ।
‘एकदमै भनिहालेजसरी विग्रिहालेको पनि होइन, बिग्रिने लक्षणचाहिँ देखिएको हो । केही विभागमा समस्या आएको हो । त्यसलाई सुधार गर्नुपर्ने देखिन्छ,’ प्राडा लुईंटेलले भने ।
हाल काठमाडौँ विश्वविद्यालयमा २२ हजार विद्यार्थी अध्ययनरत छन् । नेपाली समाजमा विविधता देखिएकाले विश्वविद्यालयले आफ्ना कार्यक्रमहरू त्यहीअनुसार लैजानुपर्नेमा वक्ताहरूले जोड दिए ।
हालका कार्यवाहक उपकुलपति तथा विश्वविद्यालयका रजिस्टार प्राडा अच्युत प्रसाद वाग्लेले उच्च शिक्षाको अर्थशास्त्र र काठमाडौँ विश्वविद्यालयको अर्थशास्त्र बुझ्नुपर्ने बताए ।
पैसा तिरेर पढाउन सक्ने खालका विद्यार्थी पढाउने उद्देश्यले विश्वविद्यालय खोलिए पनि अहिले त्यो अवस्था नरहेको उनले बताए । पैसा तिर्न सक्ने र नसक्ने सबैको ध्यान विदेशतिर रहेकाले त्यसका लागि सबैले आफ्नो क्षेत्रबाट काम गर्नुपर्नेमा उनले जोड दिए ।
पछिल्लो १२ वर्षमा काठमाडौँ विश्वविद्यालयमा नेतृत्व संकटमा परेको पनि उनको भनाइ थियो । ‘प्राडा शुरेशराज शर्माले छोडेपछि नेतृत्व संकटमा परेको देखियो । लिडरसिप क्राइसिस देखियो । जसको कारण तीन वर्ष ११ महिना पूर्वभीसी र वर्तमान भिसीबीच बोलचाल नै हुन सकेन्,’ उनले भने ।
पूर्वाधारको विकासलाई समेत नयाँ तरिकाले अघि बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डले असन्तुलित अभिव्यक्ति दिएको भन्दै शंकर पोखरेलको कटाक्ष
-
अर्जुन ट्रफी : डडेल्धुरा सेमिफाइनलमा
-
सुपर माछा खोला जलविद्युत् आयोजनाका लागि ऋण लगानी सम्झौता
-
हुलाकी सडकको काम तत्काल सुरु नगरे राजधानी केन्द्रित आन्दोलन गर्ने चेतावनी
-
उद्योगमन्त्री भण्डारीद्वारा विवादित चुनढुङ्गा खानीको स्थलगत अनुगमन
-
आहा ! रारा पोखरा गोल्डकप : चर्च व्वाइज क्वाटरफाइनलमा