प्रचण्डको सम्बोधन : ओलीको आलोचना, देउवालाई ढाडस, साना दललाई सान्त्वना
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा बैठकमा बिहीबार निकै लामो सम्बोधन गरे ।
सम्बोधनका क्रममा प्रचण्डले मुख्यगरी तीन वटा सन्देश प्रवाह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति उनले आक्रामक रवैयालाई कायम राखेका छन् । यद्यपि सत्ता साझेदार नेपाली कांग्रेसप्रति उनले सद्भाव नै प्रकट गरे ।
प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतबाट उनले संसदमा रहेका साना दललाई भने सान्त्वना दिएका छन् । साना दलको संरक्षकका रूपमा उनले आफूलाई संसदमा प्रस्तुत गरे ।
ओलीप्रति आक्रोश
प्रचण्डले सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीप्रति निकै आक्रोश पोखे । हिउँदे अधिवेशन सुरु भएकै दिन प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बैठकलाई सम्बोधनका क्रममा दिएका अभिव्यक्ति उद्धृत गर्दै प्रचण्डले जवाफ दिनुका साथै केही गम्भीर प्रश्न पनि गरे ।
माघ ८ गते संसदको बैठक आह्वान गरिएको तर त्यसको ६ दिनअघि दर्जनौँ ऐन संशोधन गर्ने गरी पाँच–पाँचवटा अध्यादेश ल्याइएको भन्दै प्रचण्डले सरकारको आलोचना गरे ।
उनले प्रश्न गरे, ‘पछिल्ला ३५ वर्षमा नेपाली कांग्रेसले १२ पटक प्रधानमन्त्री चलाएछ, नेकपा एमालेले सात पटक । ३५ वर्ष शासन गरेपछि आज आएर देशको विकास ६ दिन ढिलो हुने भयो भनेर ल्याउनुभयो त अध्यादेश ?’
यी अध्यादेश विकासका लागि हुन्थे भने संसदीय समितिमा रहेका विधेयकमा खुला छलफलसँग सरकार किन डरायो भन्ने प्रश्न पनि उनले उठाए । सरकार र संसदले चाहँदा फास्ट ट्र्याकबाट विषयगत समिति, प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट दश दिनमै पनि विधेयक पारित गर्न सकिने जबकि प्रतिस्थापन विधेयकले ६० दिनको लामो प्रक्रिया पार गर्नुपर्ने उनको भनाइ थियो ।
प्रचण्डले प्रश्न गरे, ‘देश र जनताका लागि सोचेको भए तपाईंहरू संसदसँग डराउनुहुने थिएन । स्वार्थसमूहहरूलाई पोस्नुपर्ने भएकैले तपाईंहरूले अध्यादेशको चोरबाटो समाउनुभयो । कार्यपालिकाले नै सबै गर्ने भए किन चाहियो त व्यवस्थापिका ?’
प्रधानमन्त्री ओलीले रचनात्मक आलोचना पनि सहन नसक्ने प्रचण्डले प्रस्ट पारे । ‘यो पटकपटक प्रमाणित तथ्य हो । उहाँले सक्नुभयो भने सिङ्गो देशलाई आफ्नो पार्टी नेकपा (एमाले) जस्तै एकदमै प्रश्नमुक्त, एकदमै आलोचनामुक्त र खासमा एकदमै विवेकमुक्त बनाउन चाहनुहुन्छ,’ उनले भने ।
अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक र प्रेस स्वतन्त्रतालाई कुल्चन ओली प्रयत्नरत हुनुलाई आफूले अनौठो नमान्ने प्रचण्डले बताए । यस्तो प्रयास प्रधानमन्त्रीकै रुपमा ओलीले यसअघि पनि पटकपटक गरिसकेको उनको भनाइ थियो ।
ओलीले हिउँदे अधिवेशन सुरुवात भएको दिन प्रतिनिधि सभालाई सम्बोधन गर्दै ‘ढलेँ, ढलेँ, ढलेँ....’ गीतको शैलीमा प्रचण्डतिर लक्षित गर्दै सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनेर दिन गन्दै बसेको चर्चा गरेका थिए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओलीका सोही अभिव्यक्तिलाई लिएर बिहीबार जवाफ दिए । ‘तपाईंहरूबिच विश्वास छ भने दिनदिनै म यति महिनापछि शेरबहादुरजीलाई छाड्छु, भनिरहनुपर्छ ? हरेक ठाउँमा भनिरहनुपर्ने ? के शेरबहादुरजी कान सुन्नुहुन्न ? सुन्नोस्, हामी टिप्न हिँड्दैनौँ यो सरकार, तर यो कुहिएर झर्नेवाला छ । हामीले भनेको त्यो हो ।’
विपक्षीका डरले हरेक दिन सत्ता हस्तान्तरणको राग गाइरहन नपर्ने पनि प्रचण्डले प्रस्ट पारे । उनले भने, ‘०८४ सम्ममात्र किन ? त्योपछि पनि सँगै जानोस्, मेरो शुभकामना छ । हामी सरकार बनाउनेछौँ तर आफ्नै सामर्थ्यमा । सरकारको खेलमा हामी छैनौँ तर अहिले जसरी नै संसदको बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न हिँडिरहनुभयो भने हामी प्रतिरोध गर्छौं ।’
प्रचण्डले सम्बोधनका क्रममा सरकारतर्फ विभिन्न प्रश्न गरे । केही प्रश्नको जवाफ उनी आफैँले दिए । ‘सरकारी जग्गा हिनामिनाका काण्डहरूको छानबिन कहाँ पुग्यो ? अनाथ केटाकेटीका जमिनको समेत भ्रष्टाचारमाथि कारबाही कहाँ पुग्यो ?’ प्रचण्डको प्रश्न थियो ।
उनी आफैँले लगत्तै जवाफ पनि दिए । उनले भने, ‘म दिन्छु उत्तर । मिलाइयो । चोख्याइयो । जोगाइयो ।’
प्रचण्डले फेरि प्रश्न गरे, ‘स्पिनिङ मिलको आइपीओमा नक्कली अडिटको काण्ड के भयो ?’ उत्तर पनि उनी आफैँले दिए, ‘धितोपत्र बोर्डमै मिलाइयो ।’
उनले अगाडि भने, ‘नक्कली भुटानी शरणार्थी काण्डमा बेचन झाको बयान के भयो ? पूरै नक्कली शरणार्थी काण्ड अब बेचन झामै सीमित भयो । बाँसबारी छालाजुत्ता कारखाना जग्गाको काण्ड के भयो ? त्यो पनि मिलाइयो, चोख्याइयो, जोगाइयो ।’
डेडिकेटेट तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका उद्योगबाट प्रिमियम महसुल असुलीमा मन्त्री र प्रधानमन्त्रीकै तहबाट भएको लज्जास्पद अवरोधबाट माफियाहरूको शक्ति र सरकारको निरीहता स्थापित भएको प्रचण्डले बताए ।
कांग्रेसलाई ढाडस
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसप्रति भने डाढस देखाएका छन् ।
सरकारले संविधान प्रदत्त नागरिक अधिकार कुण्ठित पार्ने गरी केही अध्यादेश ल्याएको जिकिर गरेका प्रचण्डले प्रधानमन्त्री ओली अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक र प्रेस स्वतन्त्रतालाई कुल्चन प्रयत्नरत हुनुलाई आफूले अनौठो नमान्ने बताए । त्यसैले पनि यसबारे ओलीतिर आफूले प्रश्न नगर्ने भन्दै उनले कांग्रेसतिर प्रश्न गरे ।
‘मेरो प्रश्न छ, नेपाली कांग्रेसलाई । के हो यो सामाजिक सञ्जाल नियमन विधेयक ? के हो यसमा नेपाली कांग्रेसको आधिकारिक धारणा ? हिजो त तपाईंहरू यसको विपक्षमा उभिनुभएको थियो । आज कता हुनुहुन्छ ?’ प्रचण्डले कांग्रेसलाई प्रश्न गरे ।
उनले कांग्रेसलाई सत्ताका लागिमात्रै सहकार्य गरेको हो कि राजनीतिक दृष्टिकोणमै परिवर्तन आइसकेको हो भन्ने प्रश्नसमेत गरे । उनले भने, ‘कि कांग्रेसलाई पनि ओलीजीलाई जस्तै प्रश्नमुक्त र विवेकमुक्त नेपाल चाहिएको हो ? के हो तपाईंहरूको वैचारिकी ?
कांग्रेस र माओवादीबिच गठबन्धन हुँदा कांग्रेसकै केही नेताले ‘कांग्रेस एक्लै लड्छ, अब रुखबाहेक अन्त भोट हाल्दैन’ भनेर दिएका अभिव्यक्तिलाई स्मरण गर्दै प्रचण्डले ‘गत स्थानीय तहको उपचुनावमा के भयो ?’ भन्ने प्रश्न पनि गरे ।
स्थानीय तहको चुनावमा गठबन्धनमात्र होइन, कांग्रेस र एमालेले एकअर्कालाई आफ्ना चुनावचिह्न भाडामा समेत दिएको प्रचण्डले प्रस्ट पारे । उनले भने, ‘एउटा पार्टीको नेता अर्को पार्टीको चिह्नमा पनि चुनाव लड्नुभयो । कांग्रेसमा पहिले सुनिने गठबन्धनविरोधी गनगन र करकर यसपटक कतै सुनिएन ।’
प्रचण्डले प्रधानमन्त्री ओलीको तुलनामा कांग्रेसप्रति निकै कम प्रहार गरे । सम्भवतः कांग्रेसविना नयाँ समीकरणको सम्भावना उनले नदेखेको हुन सक्छ । यद्यपि, प्रचण्डले आफूहरू सत्ताको खेलमा नरहेको प्रस्ट पारे ।
‘अझै पनि गठबन्धनका साथीहरू माओवादीबाट सत्ताको खेल तलमाथि होला कि भनेर डराइरहेको देख्छु म । सम्मानित संसदमै म फेरि एकपटक दोहोर्याउँछु– हामी अब सत्ताको खेलमा छैनौँ ।’
आफ्नो पार्टी अब जनतातिर फर्किसकेको उनको भनाइ थियो । उनले भने, ‘तपाईंहरूका संगतले थोरै मैलिएका थियौँ, धुलिएका थियौँ । आधारभूत वर्गबाट थोरै टाढिएका थियौँ । त्यो धुलो र मैलो टक्टक्याएर हामी फेरि गरिब, सीमान्त वर्ग र वर्णतिर फर्किसक्यौँ ।’
साना दललाई यसरी दिए सान्त्वना
सत्ता गठबन्धनले संविधान संशोधन गरी थ्रेस होल्ड बढाएर आफ्नो अस्तित्व समाप्त पार्ने हो कि भन्ने चिन्ता बढिरहेको समयमा प्रचण्डले ती साना दललाई सान्त्वना दिएका छन् ।
उनले यस क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतको नाम नै लिएर सत्ता गठबन्धनले यी दलको उपस्थिति नै नचाहेको आरोप लगाए ।
प्रचण्डले सत्ता गठबन्धनतिर प्रश्न गरे, ‘आज देश बहुदलीय भएको तपाईंहरूको दया–मायाले हो ? तपाईंको करुणाले बनेको हो नेकपा (माओवादी केन्द्र) ? तपाईंले दयाले खोलिदिएको हो कुनै बेलाको मधेसी जनअधिकार फोरम ? तपाईंहरूले बक्सिस् दिएर आएको हो राष्ट्रिय स्वतन्त्र पार्टीको २१ सिट ? तपाईंले चाहेर बनेको हो, सीके राउतजीले नेतृत्व गरेको जनमत पार्टी ? तपाईंहरू चाहनुहुन्थ्यो त यो संसदमा नागरिक उन्मुक्ति पार्टीको उपस्थिति ?’
हामी नै देशका मालिक हौँ भन्ने ग्रन्थीबाट बाहिर निस्कन उनले सत्ता गठबन्धनका नेतालाई सुझाव दिए । ‘यसरी नै सरकार चलाउँदै जानुभयो, यसरी नै जनताबाट अलग्गिदै जानुभयो भने अहिलेकै थ्रेसहोल्ड तपाईंहरूलाई नै धेरै हुँदैछ, अरुको चिन्ता नगर्नोस्,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकरसँगको फोटो राखेर ओलीले हाने प्रचण्डलाई झटारो
-
‘फेरि रेशम फिलिली’को टिजर सार्वजनिक
-
श्रमिकको न्यूनतम तलब २८ हजार बनाउन माग
-
विपद् व्यवस्थापनमा सरकारको भूमिका खोज्दै बागमतीका सांसद
-
लाभा बचत तथा ऋण सहकारीको स्वतन्त्र अडिट सुरु, एक महिनामा प्रतिवेदन बुझाउन महानगरको निर्देशन
-
कंगोमा जेलब्रेकका क्रममा १५० भन्दा बढी महिला कैदीको बलात्कारपछि हत्या