अन्तरजातीय विवाहप्रति पूर्वाग्रही भयो भन्नु मेरो जीवन मूल्य र आदर्शप्रति कै अवमूल्यन : गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तरजातीय विवाहप्रति पूर्वाग्रही भयो भन्नु आफ्नो जीवन मूल्य र आदर्शप्रति कै अवमूल्यन हो भन्ने ठानेको बताएका छन् । प्रतिनिधिसभाको बैठकको आकस्मिक र शून्य समयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले नेहा रौनियार र सत्येन्द्रकुमार रामबिच भएको अन्तरजातीय विवाह सम्बन्धमा प्रकाशित समाचार अभिव्यक्त चासोहरू र सांसदहरूले उठाएको विषयमा गम्भीर रूपमा ध्यानाकर्षण भएको बताए ।
‘वैयक्तिक स्वतन्त्रता र मानव अधिकारको ग्यारेन्टीका लागि विद्यार्थीकालदेखि लड्दै आएको म अन्तरजातीय विवाहप्रति पूर्वाग्रही भयो भन्नु मेरो जीवन मूल्य र आदर्शप्रति कै अवमूल्यन हो भन्ने म ठान्दछु ।’ उनले भने– ‘नेपालको संविधानले प्रत्याभूत गरेको छुवाछुत तथा भेदभाव विरुद्धको हक एवं व्यक्तिका नैसर्गिक मानव अधिकारको रक्षा र त्यसको उपभोग गर्न पाउने वातावरण निर्माण गर्ने कुरामा गृह मन्त्रालय क्रियाशील छ ।’
उनले अन्तरजातीय विवाहबारे देशमा पटक–पटक विषयहरू उठ्ने गरेका बताउँदै कुनै प्रकारको जातीय विभेद र छुवाछुतको विरुद्धमा आफू सधैँ रहेको जानकारी दिए ।
‘यस विषयमा म र मेरो मन्त्रालय अत्यन्त संवेदनशील रहेको छ’ उनले भने– ‘म अत्यन्त जाँदा संवेदनशील छु, म कुनै प्रकारको जातीय विभेद र छुवाछुतको विरुद्धमा सधैँ रहेको छु, यो मेरो मात्रै विचार होइन, म सम्बद्ध भएको पार्टी नेपाली कांग्रेस जन्मकालदेखि नै जातीय विभेद र छुवाछुत विरुद्ध रहेको पाटी हो,म त्यसमा अहिले पनि र जीवनभर प्रतिबद्ध रहेको कुरा निवेदन गर्न चाहन्छु ।’
अन्तरजातीय विवाहलाई कानुनले नै मान्यता दिएको बताउँदै उनले उक्त कानुनी व्यवस्थालाई कार्यान्वयन गर्ने निकाय गृह मन्त्रालय भएको र गृह मन्त्रालय कानुनी व्यवस्थालाई अक्षर: कार्यान्वयन गराउन प्रतिबद्ध रहेको जानकारी दिए ।
‘समाचारमा आएजस्तो गृहमन्त्रीको निर्देशनमा अत्याचार भयो भन्नु सरासर कपोलकल्पित र असत्य हो भन्ने म आग्रह गर्न चाहन्छु’ लेखकले भने– ‘समाचार थाहा पाउँदा बित्तिकै मैले गृह मन्त्रालयको तर्फबाट धारणा स्पष्ट पारिसकेको र नेपाल प्रहरीलाई सम्पूर्ण तथ्य सार्वजनिक गर्न निर्देशन दिए अनुसार नेपाल प्रहरीले समेत विवरण सार्वजनिक गरिसकेको छ । तथापि यस विषयमा कहीँ पनि त्रुटि भएको देखिए छानबिन र कानुन बमोजिम कारबाही गर्ने कुरा म सम्मानित सदनलाई विश्वास दिलाउन चाहन्छु ।’
उनले पीडितको गुनासो सम्बाेधन गर्ने र सम्पूर्ण सुरक्षाको प्रत्याभूती दिने कुरामा गृह मन्त्रालय प्रतिबद्ध रहेको बताए । ‘नेहा र सत्येन्द्रको पूर्ण सुरक्षाको प्रत्याभूति गरिनेछ, उहाँहरूको जीवनमा कुनै प्रतिकुल प्रभाव पर्न दिइने छैन’ लेखकले भने– ‘सरकारले सम्पूर्ण रूपमा संरक्षण गर्ने छ भन्ने म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’
तथ्यहरूलाई तोडमोड गर्ने र समाजलाई अनावश्यक रूपमा विभाजनतिर धकेल्ने मनसायका साथ समाचार सम्प्रेषण नगर्न मन्त्री लेखकले सञ्चारगतलाई आग्रह समेत गरे ।