बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय

अवैध आप्रवासीलाई फिर्ता पठाइएकोबारे जयशंकरले भने–केही नयाँ होइन

बिहीबार, २४ माघ २०८१, १५ : ५७
बिहीबार, २४ माघ २०८१

 नयाँ दिल्ली । अमेरिकामा अवैध रूपमा बस्दै आएका आप्रवासीहरूलाई भारत डिपोर्ट गरिएको मामिलामा यतिबेला भारतको सदनमा हंगामा भइरहेको छ । प्रवासीहरूलाई अपराधीको व्यवहार गरेर हात खुट्टामा हतकडी र नेल लगाएर ल्याइएको थियो । 

वैध कागजात बिना अमेरिकामा बसोबास गर्ने भारतीय आप्रवासीहरूलाई फिर्ता पठाएको विषयमा भारतका विदेशमन्त्री एस जयशंकरले संसद्मा जवाफ दिएका छन् । उनले भने, ‘आफ्ना देशका नागरिकहरू विदेशमा अवैध रूपमा बसिरहेका छन् भने उनीहरूलाई फिर्ता ल्याउनु सबै देशहरूको जिम्मेवारी हो ।’ 

‘यो तब मात्र सम्भव हुन्छ जब उनीहरूको नागरिकता स्पष्ट रूपमा पुष्टि हुन्छ । यो कुनै विशेष नीति होइन, न त यो भारतले मात्र पालना गर्ने नीति हो । यो अन्तर्राष्ट्रिय सम्बन्धमा सामान्य रूपमा स्वीकृत सिद्धान्त हो,’ उनले भनेका छन् । देश निकालाको प्रक्रिया नयाँ नभएको, धेरै वर्षदेखि यो चल्दै आएको अनि यो एउटा देशमा मात्र लागू हुने नीति नभएको पनि उनले बताए ।

अमेरिकामा कागजात नभएका भारतीयहरूलाई बोकेको अमेरिकी सैन्य विमान बुधबार अमृतसरको श्री गुरु रामदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । सञ्चार माध्यमहरूले २०५ जना बोकेर विमान भारत आउन लागेको खबर छापेका थिए । तर अमृतसरमा ओर्लिएको विमानमा बालबालिकासहित १०४ जना मात्रै थिए । 

अमेरिकामा डोनाल्ड ट्रम्पले दोस्रो पटक कार्यभार सम्हालेपछि अमेरिकामा बसोबास गर्दै आएको अवैध भारतीय आप्रवासीहरूलाई देश निकाला गरिएको यो पहिलो पटक थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप