बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय
त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट

त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृंखला : नाटकीय खेलमा नेदरल्यान्ड्स विजयी, थाइल्यान्डलाई एक विकेटले हरायो

बिहीबार, २४ माघ २०८१, १५ : ४६
बिहीबार, २४ माघ २०८१

काठमाडौँ । त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बिहीबार खेलिएको खेलमा नेदरल्यान्ड्सले थाइल्यान्डमाथि एक विकेटको रोमाञ्चक जित हासिल गरेको छ । 

एक खेल खेल्न बाँकी थाइल्यान्ड आठ अंकसहित तालिकाको पहिलो स्थानमा आसीन छ । आफ्नो अन्तिम खेल खेलेको नेदरल्यान्ड्स पनि आठ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । पाँच खेल खेलेको नेपालले भने हालसम्म एउटा जित पनि हात पार्न सकेको छैन ।

शृंखलाको अन्तिम खेल शुक्रबार आयोजक नेपाल र थाइल्यान्डबिच खेलिने छ । जारी शृंखलाको उपाधि थाइल्यान्डले चुम्ने निश्चितजस्तै छ । बिहीबार नेदरल्यान्ड्स र थाइल्यान्डबिचको खेल निकै रोमाञ्चक बनेको थियो ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको थाइल्यान्डले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय नौ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।

कुनै समय नेदरल्यान्ड्स सजिलो जिततर्फ अग्रसर देखिएको थियो । नेदरल्यान्ड्सले ७६ रन बनाउँदासम्म केवल तीन विकेट गुमाएको थियो । तर, त्यसपछि नेदरल्यान्ड्सले केवल नौ रनमा चार विकेट गुमाएको थियो । 

त्यसपछि पनि नेदरल्यान्ड्सको विकेट पतनको क्रम रोकिएन ९४ रनको कुल स्कोरमा आठौँ विकेट गुमायो । यस्तो स्थितिमा नेदरल्यान्ड्स हारको अत्यन्तै नजिक पुगेको थियो । तर, तल्लो क्रमका ब्याटरहरुले जिम्मेबारीपूर्वक ब्याटिङ गरेपछि नेदरल्यान्ड्स जितसम्म पुगेको थियो । 

नेदरल्यान्ड्सको जितमा ओपनर फेब मोलकेनबोरले सर्वाधिक ३२ रनको योगदान गरिन् । उनले ४२ बलको सामना गरी दुई चौका पनि हिर्काइन् । अर्की ओपनर स्टेर कालिस भने १२ बलमा तीन चौकाको मद्दतले १४ रन बनाउँदै पेभेलियन फर्किइन् । 

चौथो नम्बरमा क्रिज समाल्न आएकी रोविन रिजकेले पनि टोलीका लागि २० रनको योगदान गरिन् । उनले २१ बलमा एक चौका प्रहार गरिन् । हिथर सिगर्सले पाँच रन बनाउँदै आउट भइन् । नवौँ नम्बरकी ब्याटर क्यारोलाइन डे लाङले टोलीको खातामा ६ रन थपिन् । 

१०औँ नम्बरकी ब्याटर सिल्भर सिगर्स सात र अन्तिम नम्बरकी ब्याटर इशाबेल भान डेर वनिङ पाँच रनमा अविजित रहे । यी दुई ब्याट्रले नेदरल्यान्ड्सलाई जितसम्म डोर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

थाइल्यान्डकी बलर थिपाचा पुथावङले चार विकेट लिइन् । ओनिचा कामचोमफुले पनि तीन विकेट हात पारिन् । फानिता मायाले दुई विकेट कुम्ल्याइन् । नेदरल्यान्ड्सले अतिरिक्त रूपमा पनि आठ रन पाएको थियो । 

त्यसअघि, पहिले ब्याटिङ गरेको थाइल्यान्डले पालीको निराशाजनक सुरुवात गरेको थियो । थाइल्यान्डका माथिल्ला तीन ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेका थिएनन् । चौथो नम्बरमा क्रिज समाल्न आएकी नाथाकन चानथमले अविजित ३६ रन बनाइन् ।

नाथाकनले जिम्मेबारीपूर्वक खेल्दै ४६ बलमा एक छक्का र चार चौका पनि प्रहार गरिन् । छैटौँ नम्बरकी ब्याटर चानिदा सुथुरुङले पनि टोलीको खातामा ३२ रन थपिन् । चानिदाले २८ बलमा चार चौका पनि प्रहार गरिन् । 

कप्तान नारुएमोल चाइवाईले पनि १५ रन बटुलिन् । उनले २६ बलमा एक चौका प्रहार गरिन् । सुवानन खियाओतो १० रनमा अविजित रहिन् । नेदरल्यान्ड्सका बलर आइरिस विलिङले तीन र हिथर सिगर्सले दुई विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप