‘लोकतन्त्रको सर्भिसिङ र सुशासन सुरु गर्छौँ, भत्काउँछौँ राजनीतिको गठजोड’
काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारसँग जनता दुःखी र बिचौलियाहरू खुसी भएको बताएका छन् । प्रतिनिधिसभाको आज बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राखेका हुन् ।
‘यसबिचमा विद्युत् प्राधिकरणमा सरकारले जे गर्यो, त्यो हाम्रो राजनीतिक इतिहासमै सरकारमा माफियाहरूको नियन्त्रणको सबैभन्दा नाङ्गो टेस्ट केस हो । डेडिकेटेट तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका उद्योगबाट प्रिमियम महसुल असुलीमा मन्त्री र प्रधानमन्त्रीकै तहबाट भएको लज्जास्पद अवरोधबाट के प्रमाणित भयो? माफियाहरूको शक्ति र सरकारको निरीहता स्थापित भयो’ अध्यक्ष प्रचण्डले भने, ‘बिचौलियासँग मिलेर प्रधानमन्त्रीसहितले महसुल असुली रोक्न त्यो सबै गर्नुभयो । जे गर्न सक्नहुन्थ्यो र जे गर्न हुँदैनथ्यो । यसबिचमा के भएन ? प्रधानमन्त्रीले रोस्टमबाटै प्राधिकरणलाई गाली गर्नुभएन कि ?’
महसुल उठ्ने सुनिश्चितता नभई काटिएको लाइन जोड्न हुँदैन भन्ने बोर्ड सदस्यहरूलाई बर्खास्त गरिएको, विद्युत् नियमन आयोगको दुरुपयोग गरिएको, प्राधिकरणभित्रै मन्त्रीको कार्यकक्ष बनाइएको, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन पटक पटक स्पष्टीकरणसहित दुर्व्यवहार गरिएको प्रचण्डले बताए । उनले पुनरावलोकनमा जाँदा धरौटी राख्न नपर्ने व्यवस्थाका लागि डेडिकेटेड र ट्रंक लाइनको विद्युत् महसुल बक्यौता जाँच गर्न अवैध समिति बनाइएको उल्लेख गर्दै त्यो अवैध समितिको खर्च व्यहोर्न प्राधिकरणलाई अनावश्यक दबाब दिइएको बताए ।
ऊर्जा मन्त्रालयमा अरू पनि यस्ता साहसपूर्ण पौरख भएको भन्दै प्रचण्डले प्रश्न गर्दै भने, ‘४ सय ५४ मेगावाटको अर्ध जलाशययुक्त किमाथाङ्का अरुण र १९ सय २ मेगावाटको मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजनाहरू सार्वजनिक–निजी साझेदारी नाममा सिधै सुम्पिन खोजियो । जगदुल्ला हाइड्रोपावरमा पनि १६ अर्बको ठेक्कामा ऊर्जा मन्त्री यसैगरी जोडिनुभयो । अरू मन्त्रालयमा पनि यस्ता विकृति छँदैछन् । तर यसमा म मन्त्रीको मात्रै पनि दोष देख्दिनँ । माननीयहरू, मूल नै फोहोर भएपछि शाखाहरू कसरी सफा हुन्छन् ?’
अहिले जनता सरकारसँग दुःखी भए पनि बिचौलिया र स्वार्थ समूहहरू खुसी रहेको स्पष्ट गर्दै भने, ‘तर, स्वार्थ समूहले बुझे हुन्छ, सरकारलाई किनेर तपाईँहरूले पाएको उन्मुक्ति स्थायी हुनेछैन । तपाईँहरूले कब्जा गरेका राज्यका स्रोत र संसाधन सधैँका लागि हुने छैनन् । म आज यही रोस्टमबाट चुनौतीका साथ भन्छु– यी फाइलहरू फेरि खोलिनेछन् । जनताको शक्ति लिएर हामी फेरि खोल्नेछौँ यी अपराधका फाइल । फेरि सुरु गर्नेछौँ लोकतन्त्रको सर्भिसिङ र सुशासन । फेरि भत्काउनेछौँ, बिचौलिया र राजनीतिको गठ जोड ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने
-
वर्षमान पुनको माग देउवाको गृह जिल्लामा पुल बनाइदिनुहाेस्
-
रवि रिहा हुने भएपछि खुसीयालीमा भाले बोकेर पुगे समर्थक (तस्बिरहरु)
-
त्रिवि सिनेट बैठक राख्न माग गर्दै तीन स्ववियु सभापतिले बुझाए ध्यानाकर्षणपत्र
-
‘तपाईंको उपचार गर्ने डाक्टर शोषित छन्’ (भिडियोसहित)
-
ग्लोबल आइएमई बैंकले राष्ट्रिय फोटो पत्रकार समूहका सदस्यलाई क्यामरा खरिदको लागि कर्जा प्रवाह गर्ने