उपेन्द्रले नमान्दा सरकारलाई सकस

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेशमा सहयोग नगर्ने भएपछि सरकार पछाडि हट्न बाध्य भएको छ ।
बिहीबार प्रतिनिधि सभा र राष्ट्रिय सभामा अध्यादेशमाथि छलफल हुने कार्यसूची थियो । जसपा नेपालका अध्यक्ष यादवले अध्यादेशका सवालमा साथ नदिने भएपछि सरकार पछाडि हटेको हो ।
अध्यक्ष यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका थिए । उक्त भेटमा सहमति नजुटेपछि सरकारले सदनमा अध्यादेशलाई अगाडि नबढाएको हो ।
संसदीय दलको बैठकमा पनि अध्यक्ष यादवले अध्यादेशको विपक्षमा उभिन आफ्ना सांसदलाई निर्देशन दिएका थिए ।
उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा गठन भएको कार्यदलले अध्यादेशको बारेमा अध्ययन गरी बिहीबार प्रतिवेदन बुझाएको छ । सो प्रतिवेदनले पनि अध्यादेश मधेसको पक्षमा नरहेकाले त्यसलाई खारेज गर्नुपर्ने सुझाव दिएको छ ।
जसपा नेपाल राष्ट्रिय सभामा निर्णायक छ । जसपा नेपालले साथ नदिए राष्ट्रिय सभामा सत्ता पक्षले अध्यादेश पारित गर्न सक्दैन ।
जसपा नेपालका महासचिव रामकुमार शर्माले आफ्नो पार्टीले अडान नछाडेका कारण दुई तिहाइ नेतृत्वको सरकार पछाडि हट्न बाध्य भएको बताए । सामाजिक सञ्जाल र भूमि सम्बन्धी अध्यादेश कसैको हितमा छैन भन्दै उनले जसपा नेपाल देश र मधेसको पक्षमा उभिएको कारण आज सरकार पछाडि हट्न बाध्य भएको दाबी गरे ।
कांग्रेस र एमाले गठबन्धन सरकारले यसबारे जसपा नेपालसँग अझै छलफल गर्न चाहेको छ । त्यही भएर प्रतिनिधि सभा र राष्ट्रिय सभाको सूचीबाट तत्कालका लागि हटाएको स्रोतले दाबी गरेको छ ।
जसपा नेपालले मधेस प्रदेश सरकारको नेतृत्व खोजेको छ । त्यस अवस्थामा पनि अध्यादेशलाई संशोधनविना पास हुन नदिने जसपा नेपालको अडानपछि सहमति हुन नसकेको बताइएको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी विभाजनको कारणबारे पनि प्रधानमन्त्री ओली र सभापति देउवासँग प्रश्न गरेका थिए । जसपा नेपाल विभाजनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । त्यसमा सरकारले के गरिरहेको छ, त्यसमा किन ढिलाइ भएको भनी दुवै जनासँग अध्यक्ष यादवले प्रश्न गरेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक