काठमाडौँ । स्वर्गद्वारी गुठीका मोही किसानले बिहीबार काठमाडौँको माइतीघर मण्डलामा सिठी फुकेर विरोध प्रदर्शन गरेका छन् । सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले विरोध प्रदर्शन सुरु गरेका हुन्।
२०८० चैत ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिबिच सहमति भएको थियो, जसअनुसार स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास गर्ने संघर्षरत मोही किसानहरूको मागलाई सम्बोधन हुने गरी सरकारले नयाँ एकीकृत कानुन तर्जुमाको प्रक्रिया सुरु गर्ने उल्लेख थियो ।
तर सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरूले काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेका हुन् । स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिका प्रवक्ता प्रवीण थारुले मोही किसानहरूलाई मोही पुर्जा प्राप्त भए पनि जमिन प्राप्त हुन नसकेकाले आन्दोलन गर्नुपरेको बताए । उनले सरकारले आफूहरूसँग यसअघि गरेको सहमति कार्यान्वयन हुनुपर्ने उल्लेख गरे ।
प्रतिक्रिया