अध्यक्ष प्रचण्डद्वारा कांग्रेसको वैचारिकीमा प्रश्न

काठमाडौँ। प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार कांग्रेसको वैचारिकीमा प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आज बैठकलाई सम्बोधन गर्दै उनले यस्तो प्रश्न गरेका हुन् ।
‘प्रधानमन्त्री केपी ओलीजी विरोध त परको कुरा, रचनात्मक आलोचना पनि सहन सक्नुहुन्न । यो पटक पटक प्रमाणित तथ्य हो । उहाँले सक्नुभयो भने सिङ्गो देशलाई आफ्नो पार्टी नेकपा (एमाले) जस्तै एकदमै प्रश्नमुक्त, एकदमै आलोचनामुक्त र खासमा एकदमै विवेकमुक्त बनाउन चाहनुहुन्छ । त्यसैले उहाँ अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक र प्रेस स्वतन्त्रतालाई कुल्चन प्रयत्नरत हुनु म अनौठो मान्दिनँ’– अध्यक्ष प्रचण्डले भने– ‘यस्तो प्रयास प्रधानमन्त्रीकै रूपमा उहाँले यसअघि पनि पटक पटक गरिसक्नुभएको हो । त्यसैले म उहाँलाई प्रश्न गर्दिनँ । मेरो प्रश्न छ, नेपाली कांग्रेसलाई । के हो यो सामाजिक सञ्जाल नियमन विधेयक ? के हो यसमा नेपाली कांग्रेसको आधिकारिक धारणा ? हिजो त तपाईंहरु यसको विपक्षमा उभिनुभएको थियो । आज कता हुनुहुन्छ ? तपाईहरु सत्ताका लागि मात्रै सहकार्यमा हुनहुन्छ कि राजनीतिक दृष्टिकोणमै परिवर्तन आइसकेको हो ? कि कांग्रेसलाई पनि ओलीजीलाई जस्तै प्रश्नमुक्त र विवेकमुक्त नेपाल चाहिएको हो ? के हो तपाईँहरूको वैचारिकी ?’
माओवादीसँग गठबन्धनमा हुँदा निर्वाचन पूर्वको गठबन्धन पाप हो भन्ने कांग्रेस नेताहरूको अहिले बोली फेरिएको उल्लेख गर्दै उनले भने– ‘कांग्रेस एक्लै लड्छ, अब रुखबाहेक अन्त भोट हाल्दैन भनेर ती साथीहरूले धेरै ताली खाए । पछिल्ला दिनमा एमालेमा अब देशमा जम्मा दुई वटा दल हुने हो र एक्ला एक्लै लडेर स्थायी सरकार बनाउने हो भन्ने विचारक पनि थपिए । देशबाट अब सदाका लागि गठबन्धनको राजनीति अन्त्य भयो भन्दै तपाईँहरूले नयाँ सत्ता गठबन्धन गर्नुभयो । तर, गत स्थानीय निकायको उपचुनावमा के भयो ? दुई ठुला दलबिच नै गठबन्धन भयो । गठबन्धन मात्र होइन, तपाईँहरूले एक अर्कालाई आफ्ना चुनाव चिन्ह भाडामा पनि दिनुभयो । एउटा पार्टीको नेता अर्को पार्टीको चिन्हमा पनि चुनाव लड्नुभयो ।’
कांग्रेसमा पहिले सुनिने गठबन्धन विरोधी गनगन र करकर यसपटक कतै नसुनिएको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले भने– ‘पत्रकार र अरु व्यावसायिक संस्थाका चुनावमा पनि अद्भुत एकताका साथ कांग्रेस र एमालेबीच गठबन्धन भयो । तपाईँहरूलाई लागेको थियो, यति भएपछि माओवादी सकिन्छ । सकियो त ? सकिएन बरु लगभग पहिलो पार्टीका रूपमा पुनरोदय भयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम
-
आरआर क्याम्पसमा एमाले र समाजवादीबिच चुनावी तालमेल
-
स्ववियु निर्वाचन : विद्यार्थीहरू किन उत्रिए तोडफोडमा ?
-
काठमाडौँमा हावाहुरीसहित वर्षा
-
प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबिच टेलिफोन–संवाद : विपिन जोशीको रिहाइका लागि आग्रह