बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय
संसद् बैठक

सर्लाही घटनाबारे गृहमन्त्रीसँग जवाफ माग

बिहीबार, २४ माघ २०८१, १३ : ४२
बिहीबार, २४ माघ २०८१

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद शान्ति विकले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने जोडीमाथि भएको भनिएको बर्बरताबारे गृहमन्त्री रमेश लेखकले सत्य तत्य जानकारी दिन माग गरेकी छन् । 

बिहीबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद विकले सत्येन्द्रराम चमार र नेहा रौनियारविरुद्ध भएको भनिएको सरकारी व्यवहार सत्य हो भने ६० लाख दलित समुदायको अपमान भएको बताइन् । उनले गृहमन्त्री रमेश लेखको निर्देशनमा उनीहरूमाथि अपमानजनक व्यवहार भएको भनेर समाचारहरू आए पनि ती सबै सत्य हुन नसक्ने बताइन् ।  

त्यस्तै अर्का सांसद हर्कमाया विकले पनि उक्त घटनाले जातीय विभेदलाई सरकारले संरक्षण गरेको भन्दै दलितहरूको अपमान गरिएको बताइन् । उनले नव विवाहित जोडी माथिको व्यवहार प्रहरी र अदालतको समेत कमजोरी देखिएको बताइन् ।

सर्लाहीको बरहथवा नगरपालिका– ४ का सत्येन्द्रकुमार राम (चमार) र बरहथवा– ५ की नेहा रौनियारलाई अन्तरजातीय प्रेम विवाह गरेकै कारण ज्यादती गरिएको समाचार प्रकाशित भएको थियो । गृहमन्त्री र उच्च प्रहरी अधिकारीकै संलग्नतामा  विवाह दर्तासमेत गरिसकेका उनीहरूको सम्बन्ध तोड्न राज्य शक्तिको दुरुपयोग गरेको आरोप लागेको छ । उनीहरूलाई  प्रहरीले भारत पुगेर पक्राउ गरी शक्तिको दुरुपयोग गरी सत्येन्द्रविरुद्ध बालविवाहको मुद्दा दायर गरिएको बताइएको छ । 

बिहीबारको बैठकमा अर्का सांसद शिव नेपालीले पनि उक्त घटनाबारे सरकारको जवाफ माग गरे । उनले सरकारको चरित्र हात्तिको दाँतजस्तै लागेको भन्दै सरकारले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने भने पनि व्यवहार त्यस्तो नभएको भन्दै सत्येन्द्र जोडीको घटनाबारे सत्य तथ्य सार्वजनिक गर्न माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप