बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय

३३ वर्षकी पुगिन् नोरा : ५ हजार रुपैयाँ लिएर आएकी उनी आज करोडौँको मालिक

बिहीबार, २४ माघ २०८१, १२ : ४९
बिहीबार, २४ माघ २०८१

मुम्बई । बलिउड अभिनेत्री नोरा फतेही आज ३३ औँ जन्मदिन मनाउँदैछिन् । उनी आजको दिनमा बलिउडकी सबैभन्दा सफल डान्सर बनेकी छन् । कुनै बेला मात्र ५ हजार रुपैयाँ लिएर भारत आएकी उनी आज करोडौँको मालिक भएकी छन् ।

तर, सानोमा भने उनलाई नाच्न नआउने भन्दै मजाक उडाइन्थ्यो । नोराले एक अन्तर्वार्तामा ११ वर्षको उमेर हुँदा आफूलाई स्कुलमा दुब्ली र नाच्न नआउने भन्दै खिल्ली उडाउने गरेको सुनाएकी थिइन् । उनले त्यतिबेला नै सबैलाई गलत साबित गर्छु भनेर ठानेकी थिइन् ।

उनले भनिन्, ‘म स्कुलमा सधैँ राम्रो नाच्न सक्ने केटीहरूको समूहमा बस्थेँ । म सधैँ उनीहरूको नक्कल गर्न खोज्थेँ । उनीहरूले मलाई ग्रुपमा राखुन् भनेर म उनीहरूको डान्स स्टेपहरू अभ्यास गर्थेँ । तर, उनीहरूले कहिले पनि मलाई स्वीकार गरेनन् ।’

image (1)

नोराको यो यात्रा सहज थिएन । उनको जीवनमा धेरै समस्याहरू आए । उनको जन्म रुढीवादी मुस्लिम परिवारमा भएको थियो । उनको आमाबुवालाई डान्स गरेकोमा आपत्ति थियो । तर, नोराले भने आफू डान्सर नै बन्ने अठोट लिएकी थिइन् ।

उनी आमाबाबुबाट लुकेर बन्द कोठामा नृत्यको अभ्यास गर्थिन् । एक दिन आमाले उनलाई नाच्दै गरेको फेला पारेकी थिइन् । यसबाट क्रुद्ध बनेकी आमाले उनको नराम्रो पिटाइ गरेकी थिइन् । 

आमाबुबाको विरोधका बाबजुद नोराले नाच्न भने छाडिनन् । आफ्नो पढाइ सकेपछि उनले भारत आउने निधो गरिन् ।

उनी क्यानडाबाट ५ हजार रुपैयाँ बोकेर भारत आएकी थिइन् । भारत आएर उनले एक एजेन्सीमा काम गर्न थालिन् । एजेन्सीले नै उनीहरूलाई अपार्टमेन्ट दिएको थियो । जहाँ उनीसहित अन्य १० जना युवतीहरू बस्ने गर्थे ।

सन् २०१९ को एक अन्तर्वार्तामा आफ्नो संघर्षको दिनहरूको बारेमा कुराकानी गर्दै नोराले त्यतिबेला एजेन्सीले उनलाई हप्ताको तीन हजार रुपैयाँ मात्र दिने गरेको सुनाएकी थिइन् । त्यति पैसाले खर्च चलाउन निकै कठिन हुने गरेको उनको भनाई थियो । बलिउडमा पहिचान बनाउनअघि उनी ठगीको शिकार पनि भइन् । एउटा एजेन्सीले उनीसँग २० लाख रुपैयाँ ठगी गरेको थियो ।

image (3)

सन् २०१५ मा नोराले बिग बोसको सिजन ९ मा भाग लिएकी थिइन् । त्यसपछि उनको नाम टिभी अभिनेता प्रिन्स नरुलासँग जोडिएको थियो । प्रिन्सले आफूहरू सम्बन्धमा रहेको स्वीकार गरे पनि नोराले भने त्यसलाई कहिले पनि स्वीकार गरिनन् ।

नोरा इन्डियाज बेस्ट डान्सरको पनि हिस्सा बनेकी थिइन् । त्यतिबेला उनको नाम कोरियोग्राफर टेरेन्स लुइससँग जोडियो । तर, टेरेन्सले दुई जना राम्रो साथीमात्र भएको स्पष्ट पारेका थिए ।

नोराले सन् २०१४ मा फिल्म रोर ः टाइगर्स अफ द सुन्दरबन्सबाट बलिउडमा डेब्यू गरेकी थिइन् । यस चलचित्रपछि नोराले दक्षिण भारतीय सिनेमा कयौँ अफर पाइन् । उनी सन् २०१५ मा रिलिज भएको सुपरहिट चलचित्र बाहुबलीको गीन मनोहरिमा देखिएकी थिइन् ।

त्यसपछि उनी सन् २०१८ मा सत्यमेव जयतेको गीत दिलबर र सन् २०१९ को बटाला हाउसको ओ साकी साकी जस्ता हिट गीतमा देखिइन् । उनले सन् २०२० मा स्ट्रीट डान्सरमा अभिनय गरिन् ।

आज नोराको कूल सम्पत्ति ५२ करोड भारतीय रुपैयाँ रहेको बताइन्छ । उनले एउटा म्युजिक भिडियाको लागि ४० लाख रुपैयाँसम्म लिन्छिन् भने सोसल मिडिया ब्रान्ड प्रमोसनका लागि ५ लाख रुपैयाँ लिन्छिन् । 

हालै नोराको नयाँ गीत स्नेक रिलिज भएको थियो । उक्त गीतमा नोरासँग अमेरिकी गायक जेसन डेरुलो पनि छन् ।  यो गीत २४ घण्टामा सबैभन्दा दोस्रो धेरै हेरिएको गीत बनेको छ । यो गीत रोजे र ब्रुनो मार्सको चर्चित गीत ‘एपीटी’ पछि दोस्रो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप