बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय
नेसपा महाधिवेशन

नेसपा (नयाँ शक्ति)को भावी नेतृत्वमा बाबुराम निर्विकल्प !

बिहीबार, २४ माघ २०८१, १२ : ३२
बिहीबार, २४ माघ २०८१

काठमाडौँ । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)को भावी नेतृत्वको लागि डा.बाबुराम भट्टराई निर्विकल्प देखिएका छन् । माघ २७ देखि २९ गतेसम्म प्रज्ञा भवन कमलादीमा हुने महाधिवेशनमा संयोजक भट्टराई विकल्पमा अन्य नेता आउने सम्भावना नभएको नेताहरूले बताएका छन् । 

कात्तिक ५ देखि ६ गतेसम्म पोखरामा भएको प्रथम विधान अधिवेशनले पदाधिकारीदेखि सबै पदमा प्रत्यक्ष निर्वाचन प्रक्रिया अपनाउने व्यवस्था गरेको छ । नयाँ वैकल्पिक पार्टी हाँक्ने क्षमता, अनुभव, अध्ययनशीलता सबै दृष्टिकोणले भट्टराई नै भएकाले तत्काल विकल्पमा अन्य नेता आउने सम्भावना नरहेको प्रवक्ता कृष्ण शर्मा बताउँछन् ।  

‘इच्छुक सबैले उम्मेदवारी दिन सक्नुहुन्छ । कोही कसैमाथि यो पदमा उठ वा नउठ भनेर हस्तक्षेप हुँदैन । पदाधिकारीदेखि केन्द्रीय सदस्य सबै पदमा प्रत्यक्ष निर्वाचन हुन्छ’, उनले भने, ‘स्वच्छ प्रतिस्पर्धाबाट जोसुकै नेतृत्वमा आउन सक्ने भएपनि पार्टीभित्र बाबुरामको विकल्प खोजिएको छैन ।’

अब पुराना दलबाट मुलुकले निकास नपाउने निष्कर्ष निकाल्दै महाधिवेशनपछि भट्टराईकै नेतृत्वमा वैकल्पिक राष्ट्रिय शक्ति निर्माण गरी सुशासन र समुन्नत राष्ट्र बनाउने उनले दाबी गरे ।   

केन्द्रीय कार्यालयका प्रमुख रोशन पोखरेलले नेतृत्वमा को आउने भन्दा पनि यो महाधिवेशन नयाँ वैकल्पिक विचार निर्माणका लागि बढी मन्थन हुने दाबी गरे । बाबुरामकै नेतृत्वमा वैकल्पिक शक्ति निर्माण गर्न चाहेकाले नेतृत्वमा अरु आउने सम्भावना नरहेको उनले जिकिर गरे ।

‘उहाँ (बाबुराम)ले पनि नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने चाहना राख्नुभएको छ । तर पार्टीभित्र सबैले नयाँ वैकल्पिक धारको नेतृत्व उहाँले नै गर्नुपर्नेमा जोड दिनुभएको छ । यद्यपि नेतृत्वमा आउनका लागि कुनै बन्देज छैन । प्रश्न नेतृत्व कसले गर्ने भन्दापनि वैकल्पिक विचारमै मन्थन हुन्छ । वैचारिक र साङ्गठनिक रूपमा हाँक्न सक्ने नेतृत्व अहिले चाहिएको छ’, पोखरेलले भने ।

लामो समय वामपन्थी राजनीतिमा सक्रिय रहेका भट्टराई २०७२ सालको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि नयाँ वैकल्पिक शक्ति निर्माणमा लागेका थिए । भट्टराई माओवादी १० वर्षे जनयुद्धका प्रमुख नेतामध्येका एक हुन् । माओवादीबाट अब देशको विकास हुन नसक्ने निष्कर्ष निकाल्दै उनी २०७२ असोज ९ गते पार्टीबाट अलग भएका थिए । २०७३ जेठ ३० गते आफ्नै नेतृत्वमा नयाँ शक्ति नेपाल गठन गरेका थिए ।

समतामूलक समृद्धि, समानुपातिक/समावेशी/सहभागितामूलक लोकतन्त्र, सुशासन/सदाचार, स्वाधीनता/सार्वभौमिकता र समुन्नत समाजवादको प्रतिबद्धता साथ नयाँ शक्ति पार्टी गठन गरेका थिए । नेसपा (नयाँ शक्ति)लाई पनि वैकल्पिक नयाँ शक्तिकै निरन्तरता भएको नेताहरूले दाबी गरेका छन् ।

महाधिवेशनको तयारी अन्तिम चरणमा

यस्तै महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको नेताहरूले बताएका छन् । बन्दसत्रमा पेस गर्ने दस्ताबेज तयार भइसकेको शर्माले जानकारी दिए । शर्माका अनुसार प्रतिनिधि व्यवस्थापन, प्रचारप्रसार, मञ्च व्यवस्थापनको तयारी भइरहेको छ । महाधिवेशनमा भाग लिन देशभरबाट १५०० प्रतिनिधि सहभागी हुने उनले बताए । उद्दघाटन सत्रको पाहिलो दिन कांग्रेस, एमाले, माओवादी लगायत परम्परागत दलहरू बाहेक नयाँ वैकल्पिक शक्ति, नागरिक समाजका अगुवा, विभिन्न क्षेत्रका बौद्धिक वर्गलाई बेलाइने शर्माले जानकारी दिए । 

नयाँ कार्यसमितिका लागि ९० प्रतिशत प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट हुनेछ । १० प्रतिशत मनोनीत हुनेछ । संघीय समाजवादी, जसपा नेपाल हुँदै नेसपा गठन गरेका भट्टराईले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने कि नगर्ने विषयमा अन्तरसंघर्ष चर्किँदा गतवर्ष चैत तीन गने पार्टी विभाजन भएको थियो ।

कात्तिक ५ देखि ६ गतेसम्म पोखरामा भएको प्रथम विधान अधिवेशनले पार्टीको नाम र झण्डा परिवर्तन गर्नुको साथै केन्द्रीय समितिको आकार घटाएको थियो । अधिवेशनले पार्टीको केन्द्रीय समिति सदस्य ९९ जना,  पदाधिकारी ११ सदस्यीय हुने व्यवस्था पारित गरेको थियो। जसमा १ अध्यक्ष, ५ उपाध्यक्ष (१ महिला, १ जनजाति , १ मधेसी , १ खसआर्य, १ दलित), १ महासचिव, ३ सचिव, १ कोषाध्यक्ष हुने व्यवस्था छ । निर्वाचन समिति ३३ सदस्यीय हुनेछन् । सबै तहमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयनको व्यवस्था पारित गरिएको थियो । 

पार्टीमा युवाको नेतृत्व स्थानीय तहमा ४० प्रतिशत, प्रदेशमा ३० र केन्द्रमा २० प्रतिशतको व्यवस्था गरिएको थियो। त्यस्तै सबै समितिमा महिला पदाधिकारी ३३ प्रतिशतको व्यवस्था पनि विधानमा गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप