बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय

भविष्यको बारेमा प्रश्न सोधिएपछि रिसाए रोहित शर्मा

‘यो कस्तो प्रश्न हो ? बारम्बार एउटै प्रश्न किन सोधिन्छ ?
बिहीबार, २४ माघ २०८१, १० : ३६
बिहीबार, २४ माघ २०८१

काठमाडौँ । भारत र इङ्ल्यान्डबिचको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गतको पहिलो खेल बिहीबार नागपुरमा खेलिँदै छ । पहिलो खेलअघि आयोजित पत्रकारसम्मेलनमा सोधिएको एक प्रश्नलाई लिएर भारतीय टोलीका कप्तान रोहित शर्मा आक्रोशित बनेका छन् । 

पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहित शर्माको प्रदर्शन निराशाजनक देखिन्छ । सोही विषयलाई लिएर सञ्चारकर्मीले उनीसँग प्रश्न गरेका थिए । सञ्चारकर्मीले उनको खेलजीवन र सन्न्यासको विषयलाई लिएर पनि प्रश्न गरेका थिए । यस्तो प्रश्न आएपछि कप्तान रोहित शर्मा केही आक्रोशित बनेका थिए । सञ्चारकर्मीको जवाफमा उनले भने, ‘यो कस्तो प्रश्न हो  ? बारम्बार एउटै प्रश्न किन सोधिन्छ ? हरेक खेलाडीको जीवनमा यस्तो क्षण आउँछ । कुनै पनि खेलाडीले सधैं स्तरीय प्रदर्शन गर्न सक्दैन ।’

रोहितले इङ्ल्यान्डविरुद्धको एकदिवसीय शृंखलामा भारतीय खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने धारणा पनि व्यक्त गरे । उनले हरेक ढाँचाको प्रतियोगिताको आफ्नै विशेषता हुने प्रतिक्रिया पनि दिए ।  ‘टी–२०, टेस्ट र एकदिवसीय भनेको फरक ढाँचाको प्रतियोगिता हुन् । यी सबै ढाँचाको प्रतियोगितामा खेलाडीको प्रदर्शन पनि फरक–फरक हुन्छ । त्यसैले सधैं एउटै प्रश्न गरिरहनु राम्रो होइन । पक्कै पनि च्याम्पियन्स ट्रफीअघि खेलिने इङ्ल्यान्डविरुद्धको शृंखलामा हाम्रो प्रदर्शन उत्कृष्ट रहने छ,’ उनले भने ।

कप्तान रोहितले आफ्नो आगामी खेलजीवनको बारेमा भने स्पष्ट रुपमा केही बताउन चाहेनन् । उनले यसअघि पनि आफ्नो प्रदर्शन केही समयका खस्किएको तर, केही समयपछि आफू पुनः लयमा फर्किएको दाबी पनि गरे । ‘हामी सबैले परिस्थिति अनुसार अगाडि बढ्नु नै उपयुक्त हुन्छ । सधैं बितेको कुरा गरेर मात्र लक्ष्यमा पुग्न सकिँदैन । हामीले विगतमा थुप्रै महत्वपूर्ण उपलब्धि पनि हासिल गरेका छौँ । त्यसको पनि चर्चा हुनु पर्छ । भविष्यमा पनि अझ राम्रो गर्न प्रतिबद्ध छौँ,’ उनले भनेका छन् । 

भारतीय टोलीले घरेलु मैदानमा इङ्ल्यान्डसँग तीनवटा एकदिवसीय खेलको शृंखला खेल्ने कार्यक्रम रहेको छ । यसअघि खेलिएको इङ्ल्यान्डविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखलामा भारतीय टोली ४–१ ले विजयी भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप