दुग्ध किसानले अझै चार महिनाको भुक्तानी पाउन बाँकी
काठमाडौँ । दुग्ध किसानले अझै चार महिनाको रकम भुक्तानी पाउन सकेका छैनन् । किसानले पाउन बाँकी रहेको दुधको बक्यौता रकमको आधिकारिक तथ्याङ्क भने छैन ।
दुध विकास संस्थान (डीडीसी) का तत्कालीन महाप्रबन्धक डा. सूर्यप्रसाद पौडेलका अनुसार किसानले १० महिनासम्मको रकम भुक्तानी पाउन नसकेको अवस्थामा उनको कार्यकालमा चार महिनाको मात्रै बक्यौता बाँकी थियो । ‘किसानलाई भदौसम्मको भुक्तानी रकम गइसकेको थियो,’ उनले भने, ‘विराटनगरमा साउनसम्म नै गइसकेको थियो । असोज, कात्तिक, मंसिर र पुस गरी चार महिनाको बाँकी थियो ।’
उनले गत साउन यता दुधको रकम करिब ३ अर्ब रुपैयाँ भुक्तानी गरेको बताए । सोमध्ये ६० करोड रुपैयाँ कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहयोग थियो भने बाँकी डीडीसीकै रहेको पौडेलले बताए ।
दुग्ध किसानलाई गत असोजसम्मको रकम भुक्तानी भइसकेको कृषि मन्त्रालयको दाबी छ । असोज मसान्तपछिको भुक्तानी बाँकी रहेको मन्त्रालयका सूचना अधिकारी तथा वरिष्ठ कृषि अर्थ विज्ञ महानन्द जोशीले बताए ।
‘दुईतीन महिनाको एकै पटक भुक्तानी हुने हो, भुक्तानी विगत एक दुई वर्षदेखि बाँकी थियो,’ उनले भने, ‘गत वर्षसम्मको करिब २ अर्ब ४ करोड भुक्तानी भएको छ । जहाँसम्म लाग्छ ८० करोड हाराहारीमा भुक्तानी बाँकी होला ।’
बाँकी रकम चैतसम्म भुक्तानी हुन सक्ने जोशीको अनुमान छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डले दुधको रकम भुक्तानीबारे पछिल्लो अपडेट नआएको जनाएको छ । यता डीडीसीले भने कार्यकारी निर्देशक नभएकाले भुक्तानी गर्नुपर्ने रकम र बाँकी रकमको थप छलफल हुन नसकेको जानकारी गराएको छ ।
यता, निजी क्षेत्रले भने किसानलाई दुधको रकम भुक्तानी गर्न बाँकी नरहेको दाबी गरेका छन् । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले आफूहरूले किसानको रकम भुक्तानी गर्न बाँकी नरहेको बताए ।
- देशभर दैनिक ७० लाख लिटर दुध उत्पादन
मुलुकमा दैनिक ६५ देखि ७० लाख लिटर दुध उत्पादन हुने सरकारी तथ्याङ्क छ । मुलुकको सबै ग्रामीण भेगबाट सङ्कलन गर्न सक्दा दुधमा मुलुक आत्मनिर्भर बन्ने अवस्था छ । करिब ३० लाख घरपरिवार प्रत्यक्ष र अप्रत्यक्ष रूपमा दुग्ध उत्पादन क्षेत्रमा संलग्न छन् ।
औपचारिक र अनौपचारिक रूपमा दुग्ध बिक्री वितरणबाट दैनिक दश करोड रकम ग्रामीण क्षेत्रमा पुगेको छ । विगत केही समयदेखि यहाँ उत्पादित दुधमध्ये प्रतिदिन ५ देखि ६ लाख लिटर बिक्री वितरण हुन नसकेको सरोकारवालाले जनाएका छन् । तत्काल दुधको उत्पादन र बजारमा कुनै समस्या नरहेको सरोकारवालाको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा कार्यदलले अध्यक्ष यादवलाई बुझायो प्रतिवेदन
-
आइभीएफ प्रविधिद्वारा अष्ट्रेलियाले बनायो कंगारुको भ्रुण
-
विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
-
३३ वर्षकी पुगिन् नोरा : ५ हजार रुपैयाँ लिएर आएकी उनी आज करोडौँको मालिक
-
क्यानको नाममा अल्पकालीन अन्तरिम आदेश
-
जोहानेसबर्गमा हुने जी–२० शिखर सम्मेलनमा अमेरिकाले भाग नलिने