पौराणिक कालको लावण्य राज्य र ‘तिब्बतमुनिको देश’ साँखु
![पौराणिक कालको लावण्य राज्य र ‘तिब्बतमुनिको देश’ साँखु](https://npcdn.ratopati.com/media/news/08-img_e5331_VJ2O2RlMuX.jpg)
शिरमा मणिच्यूड पर्वत । पर्वतको शिरमा महादेवले स्नान गरेको कुण्ड । पर्वतको बिचमा बज्रयोगिनी माई, जोर्तिलिङ्गेश्वर महादेवको पावन भूमि, किनारामा कलकल बहने शालीनदी । राजा शंखदेवको देश, पौराणिक कालको लावण्य देश ।
तिब्बतबाट काठमाडौँतर्फ आउँदाको पहिलो देश भएकाले तिब्बतमुनिको देशको रूपमा प्रख्यात रहेको सक्व दे अर्थात् साँखु । शंखको आकारमा एक हजार घरले भरिएको प्राचीन लिच्छवीकालीन सहर साँखु ।
प्राचीन मौलिक कला, संस्कृति, जात्रा, पर्वले सम्पन्न छ साँखु । साथै स्वस्थानी कथामा वर्णन गरिएको लावण्य देशको रूपमा समेत साँखु परिचित छ ।
इतिहासकारहरूका अनुसार ३ हजार ३ सय वर्ष पुरानो सहर हो साँखु । यहाँका स्थानीय संस्कृतिविद् प्रकाशमान सक्व काठमाडौँ उपत्यकाबाट मञ्जुश्रीले पानीको निकास खोलेपछि सुरुमा बस्ती बसेको क्षेत्रमध्ये साँखु पनि एक रहेको बताउँछन् ।
मल्लकालमा तिब्बतसँग व्यापार गर्ने नाकाको रूपमा रहेको साँखु तिब्बतबाट नेपाल आउँदा यतातर्फको पहिलो देश भएकाले यसलाई ‘तिब्बत मुनिको देश’ समेत भनिन्थ्यो ।
नागाचां, गुलिमा, शांस, च्ववही, गुदेख्वाः, गागल, पावन सहितका ७ गाउँ समेटेर शंखरापुर नामकरण भएको थियो । साँखुमा ९ वटा ढोका रहेकोमा हाल ५ वटा ढोका अस्तित्वमा छन् ।
यहाँ उत्तरपश्चिममा देव ढोका, दक्षिणपश्चिममा भौ ढोका, दक्षिणपूर्वमा जयबली ढोका, उत्तरपूर्वमा महादेव ढोका र माधवनारायण ढोका छन् । फरक–फरक अर्थ र महत्त्व बोकेका यी ढोकाभित्र छ ऐतिहासिक साँखु सहर ।
काठमाडौँको रत्नपार्कबाट १७ किलोमिटर उत्तरपूर्वमा रहेको साँखु बजार नेवारी कला, संस्कृति र परम्पराले भरिपूर्ण प्राचीन सहरको रूपमा परिचित छ ।
साँखुका साहित्यकार जीवन श्रेष्ठ भन्छन्–‘साँखु नगरलाई ऐतिहासिक, पौराणिक, सांस्कृतिक हिसाबले महत्त्वपूर्ण मानिएको छ । उपत्यकाको दहको पानी सुक्दै गएपछि ओभानो भएको यस सक्व दे (साँखु)लाई व्यवस्थित रूपमा शंखको आकारमा कलिगत संवत १८०१ साल फागुन शुक्ल तृतीयाको दिनमा १ हजार घरसहित ढुङ्गे धारा, इनार, राजकुलो, उत्तरबाहिनी, ढोका, डबली, पाटी–पौवा, आठ वटा टोल, साँखु बाहिर र भित्र आठ–आठ अष्ट मातृका स्थापना गरी जात्रा, चाडपर्व, कला संस्कृतिले भरिपूर्ण लायकु दरबारसहित निर्माण गरिएको कुरा मणिशैल महावदन पुस्तकमा उल्लेख गरिएको प्रमाण पाइन्छ ।’
५ ढोकाभित्रको साँखु देश
करिब ३ हजार ३ सय वर्ष पुरानो इतिहास बोकेको प्राचीन साँखु क्षेत्र ५ ढोकाभित्र अवस्थित छ । ती ५ ढोकाका बेग्लाबेग्लै अर्थ र महत्त्व छ । यहाँ बुहारी भित्र्याउने ढोका, छोरी अन्माउने ढोका, मुर्दा लैजाने ढोका, ब्रजयोगिनी माई भित्र्याउने ढोका छुट्टाछुट्टै छन् ।
काठमाडौँबाट साँखु पुग्नेबित्तिकै देखिने ढोका हो भौध्वाखाः । यसलाई बुहारी भित्र्याउने ढोका भनिन्छ । यो गेटको दायाँबायाँ २ वटा पोखरी छ, जसलाई कलश पोखरी भनिन्छ । शंखरापुर नगरपालिका वडा नम्बर ६ को गौरवको योजना अन्तर्गत यी पोखरीलाई कलात्मक ढंगले निर्माण गरिएको छ ।
साँखुभित्र बुहारी भित्र्याउनुका साथै पाहुना प्रवेश गर्ने ढोकाको रूपमा समेत परिचित रहेको शंखरापुर वडा नम्बर ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठ बताउँछन् ।
बुहारी भित्र्याउने ढोका जस्तै साँखुको सुन्टोलमा विवाहको दिन छोरी अन्माउने अर्को ढोका छ । यो ढोकालाई म्हाय्मचा पित विइगु ध्वाखाः भनिन्छ ।
साँखुको साल्खाटोलमा अर्को ढोका छ, जसलाई सि ध्वाखाः अर्थात मुर्दा लैजाने ढोका भनिन्छ । साँखुको जोर्तिलिङ्गेश्वर महादेवको मन्दिरनिर रहेको सि ध्वाखाःबाट साँखुमा मृत्यु भएका व्यक्तिको शव बाहिर निकालेर चिहानेपाटीमा लगेर दाहसंस्कार गर्ने चलन छ ।
यस्तै चलाखु टोलमा अर्को ढोका छ, जसलाई माधवनारायण ध्वाखाः भनिन्छ । १ महिनासम्म चल्ने श्रीस्वस्थानी ब्रत तथा शालीनदी मेलाका बेला यो ढोकाबाट माधवनारायणको मूर्तिलाई नगर प्रवेश गराइ सोही ढोकाबाट फिर्ता लैजाने चलन छ ।
साँखुको धुँल्लाटोलमा अर्को ढोका छ, जहाँबाट बज्रयोगिनी देवीलाई साँखु नगर परिक्रमाका लागि भित्र्याउने गरिन्छ । यो ढोकालाई द्यः ध्वखाः भनिन्छ । साँखु जात्रामा बज्रयोगिनीबाट जात्रा गरेर ल्याइएका म्हासुख्वा माजु, चैत्य, सिंहिनी, व्यागिंनीलाई यसै ढोकाबाट बज्रयोगिनीमा फिर्तासमेत लाने गरिन्छ ।
यी पाँच ढोकोभित्र अवस्थित प्राचीन साँखु सहरभित्र विभिन्न देवी–देवताका साना मन्दिरहरू, डबली, पाटी, पोखरी, ढुङ्गेधारा छन् ।
साँखुको शक्ति बज्रयोगिनी
साँखुको मुख्य चिनारीको रूपमा छ बज्रयोगिनी मन्दिर । साँखु सहरभन्दा झन्डै २ किलोमिटर माथि मणिच्यूड पर्वतमा छ यो मन्दिर ।
बज्राचार्य पुजारीहरूको वंशावलीका आधारमा बज्रयोगिनी र साँखु सम्बन्धी धेरै ऐतिहासिक कुरा खुलेको यहाँका संस्कृतिविद् प्रकाशमान सक्व बताउँछन् ।
‘मणिशैली महावदन’ अर्थात मणिशैल पुराण पुरानो हस्तलिखित ग्रन्थ । बज्रयोगिनी मन्दिरका बज्राचार्य पुजारीहरूले बनेपाबाट ल्याएको मणिशैली महावदन’ को ६४ वर्षअगाडि प्रकाशित ग्रन्थ फेला परेको र यसमा बज्राचार्य पुजारीहरूको वंशावली र बज्रयोगिनीको बारेमा पनि लेखिएको पाइएको प्रकाशमान बताउँछन् ।
उनले भने, ‘भद्रकल्पको सत्ययुगमा हाल बज्रयोगिनी मन्दिर रहेको स्थानमा ज्वालामुखी फुट्यो । पञ्चलक्ष्मी त्यो ज्वालामुखीले लाखौँ वर्षसम्म उज्यालो दिइराख्यो । सो ज्वालामुखीबाट नै ज्वालादेवी बज्रयोगिनीको उत्पत्ति भयो भनेर सो ग्रन्थमा लेखिएको छ । सत्ययुगबाट त्रेता हुँदै द्वापर युगमा एक जना ऋषि योगध्यानाचार्य मणिच्यूड डाँडामा तपस्या गरेर बसेपछि उनलाई बज्रयोगिनीले दर्शन दिएर मेरो यस्तो–यस्तो मुर्ति बनाउनु, मेरो पूजाआजा चलाउनु, तिमी नै मेरो पहिलो पुजारी भयौ भनेर सपनामा देखे अनुसार त्यहाँदेखि बज्रयोगिनीमा पूजाआजा गर्ने चलन आयो ।’
सुरुमा सानो ढुङ्गाको मन्दिरमा पूजाआजा हुँदै आएकोमा पछि विभिन्न राजा महाराजाको पालामा बज्रयोगिनी मन्दिर समुन्नत बन्दै गएको उनी बताउँछन् । नेपाल सम्वत ६२६ सालमा मन्दिर मर्मत भएको, महेन्द्र मल्लको पालामा गुम्बज शैलीको मन्दिरको जिर्णोद्धार भएको र राजा प्रताप मल्लको पालामा शिखर शैलीको मन्दिर बनाइ सुनको गजुर राखिएको अभिलेख रहेको संस्कृतिविद् श्रेष्ठको भनाइ छ ।
प्रताप मल्लका नाती भाष्कर मल्लको पालामा बज्रयोगिनी मन्दिर ३ तलाको बनेको अभिलेख छ ।
काठमाडौँ उपत्यकामा भएको पानीको तलाउ सुकाउनका लागि बज्रयोगिनीकै आदेशमा चीनबाट मन्जुश्रीलाई बोलाएर पानीको निकासा गर्नु, यहाँ ९९ वटा गाउँ सहर तयार गरी त्यहाँ मेरो जात्रा चल्छ भन्ने किम्बदन्ती ‘मणिशैली महावदन’ भन्ने पुस्तकमा उल्लेख रहेको उनले सुनाए । मन्दिर परिसरमा रहेका विभिन्न वस्तु हेर्दा लिच्छवीकाल भन्दा अगाडिका वस्तु रहेको श्रेष्ठ बताउँछन् ।
बज्रयोगिनी हिन्दु र बुद्ध धर्मको समान आस्थाको केन्द्र हो । यहाँ दुवै धर्मको समिश्रण पाइन्छ । हिन्दु मन्दिरसँगै बौद्ध चैत्य छ । भद्रकल्पकको सत्ययुगमै बज्रयोगिनीमा चैत्य आकारको ढुङ्गाको उत्पत्ति भएको र सोही आकारको आधारमा स्वयम्भूको चैत्य स्थापना भएको किम्बदन्ती रहेको श्रेष्ठले सुनाए । बज्रयोगिनीमा बज्रयानतन्त्रद्वारा ब्रजाचार्य पुजारीहरूले नियमित पूजा गर्दै आएका छन् । पाँडे, बस्न्यात र थापाहरूको कुलदेवीको रूपमा रहेकी बज्रयोगिनीमा उनीहरूले भने बाहुन पुजारी राखेर आफ्नो शैलीबाट पूजा गर्ने गरेका छन् ।
हरेक वर्ष हुने बज्रयोगिनी जात्रामा बुद्ध (स्वयम्भू) को चैत्यलाई समेत खटमा हालेर साँखु बजार परिक्रमा गराउने चलन छ । प्राचीन कालको सनातन देवीदेवताको मन्दिर भएकाले बुद्ध र हिन्दुको जस्तो देखिए पनि एउटै सनातन मन्दिर रहेको उनको भनाइ छ ।
महालक्ष्मी, निलसागर, श्रीस्वस्थानी, १२ महिनामा विभिन्न फरक–फरक देवीको नामले बज्रयोगिनीलाई सम्बोधन गरिने श्रेष्ठले बताए ।
परापूर्व कालदेखि चल्दै आएको बज्रयोगिनी जात्रा जसलाई साँखु जात्रा पनि भनिन्छ । बज्रयोगिनी जात्रा सुरु हुनु ८ दिन अगाडि जात्राका लागि निम्तो गर्ने परम्परा छ । निम्तो गएपछि जात्रा अवधिभर छालाको जुत्ता लगाउन नहुने, छाता ओढ्न नहुने, साहुले आसामी पक्रन नहुने, नयाँ घर बनाउन सुरु गर्न नहुने, पुरानो घर भत्काउन नहुनेजस्ता मान्यता छ ।
साँखु जात्रा हरेक वर्ष चैत शुक्ल पूर्णिमाका दिनदेखि सुरु हुने प्रचलन छ ।
साँखुकी कुमारी देवी
धेरैलाई थाहा नभएको कुरा हो– साँखुमा पनि छुट्टै कुमारी देवीको अस्तित्व छ ।
साँखुमा हरेक बडादसैँको महानवमीको राति कुमारी घरमा गई मूल कुमारीको पूजा गर्ने परम्परा छ । आश्विन महिनाको सोह्र श्राद्धको नवमीको राति साँखुको साल्खा टोलमा रहेको कुमारी मण्डप रामझोपडी कृष्ण मन्दिरको भित्र कुमारी, भैरव र गणेशलाई आ–आफ्नो घरबाट ल्याइ विधिपूर्वक पूजा गर्ने प्रचलन रहेको साहित्यकार जीवन श्रेष्ठ बताउँछन् । काठमाडौँको कुमारी बाह्रै महिना कुमारीको रूपमा बस्ने चलन भए पनि साँखुमा भने आवश्यक समयमा मात्र कुमारीको रूपमा बस्ने चलन छ ।
भृकुटी र स्रोङचोङ्ग गम्पोको विवाह स्थल
नेपालकी राजकुमारी भृकुटी र तिब्बतका राजा स्रोङचोङ्ग गम्पोको विवाह साँखुकै बज्रयोगिनी मन्दिरमा भएको संस्कृतिविद् प्रकाशमान बताउँछन् ।
उनको दाबी छ– ‘चीनको ताङ वंशावलीलाई विश्वमै लिखित पुरानो वंशावली मानिएको छ । प्राचीन कालमा त्यहाँका राजाहरूले मान्छे खटाई–खटाईकन विश्व भ्रमण गराएका थिए । त्यसमध्ये नेपालमा होयङसाङ, फाइयाङ्ग आएको इतिहास छ । उनीहरूले लेखेर लगेको बृत्तान्तबाट नेपालको इतिहासको बारेमा धेरै कुरा थाहा हुन आएको छ । नेपालमा लिच्छवीकाल रहेका बेला तिब्बतमा स्रोङचोङ गम्पोको विशाल राज्य थियो । तिब्बतको इलाका बज्रयोगिनी छेउसम्म आउँथ्यो । त्यतिबेला यता अंशुवर्मा राजा थिए । दुई राजा किन झगडा गर्नु, मिलौँ भनेर उनले आफ्नी छोरी स्रोङचोङ गम्पोलाई दिए । अहिलेसम्म बज्रयोेगिनीमा होम कुण्ड छ, त्यहाँ स्वयंम्वर गरेर सिधै ल्हासा पुगेको इतिहास छ । यो कुरा चीनको ताङ वंशावलीमा पनि लेखिएको छ ।’
बज्रयोगिनी मन्दिरमा बज्रयान तन्त्रबाट योग ध्यान गर्न, दीक्षा लिन अझै पनि तिब्बत तथा चीनबाट मान्छेहरू आउने गरेको श्रेष्ठ बताउँछन् ।
चैतेदसैँदेखि हरेक वर्ष ८ दिनसम्म बज्रयोगिनीको जात्रा चल्ने गर्दछ । काठमाडौँ उपत्यकामा प्राचीन कालदेखि निरन्तर सञ्चालन हुँदै आएको जात्रामध्ये श्री श्री श्री उग्रतारा बज्रयोगिनी माईको जात्रा सबैभन्दा पुरानो जात्राका रूपमा छ । चैतेदसैँको दिन नायखीं बाजा बजाएर झ्याली पिट्दै नगर परिक्रमा गरेर यो पर्व सुरु हुन लागेको सङ्केत गर्ने प्रचलन छ ।
उक्त दिनबाट साँखुवासीले पवित्रताका लागि छालाका सामग्री प्रयोग नगर्ने, पुराना घर नभत्काउने, साहुले पैसा ऋण असुल उपर नगर्ने, हात्ती घोडा नचढ्ने लगायतका काम गर्छन् ।
यो जात्रामा साँखुको छेउमा रहेको मणिच्यूड पर्वतमा रहेको बज्रयोगिनी मन्दिरबाट बज्रयोगिनी माईको मूर्ति र चिभाः द्यः अर्थात प्राचीन स्वयम्भु चैत्य, सिंहमुखी, बाघमुखी मूर्तिलाई खटमा राखेर साँखु बजारमा ल्याइ नगर परिक्रमा गराउने गरिन्छ । ८ दिनसम्म लाग्ने यो मेलामा काठमाडौँ, भक्तपुर, ललितपुर लगायतका क्षेत्रबाट भक्तजन तथा दर्शकहरू साँखु पुग्ने गर्दछन् ।
पर्यटक पर्खेको मणिच्यूड कुण्ड
साँखु क्षेत्रको अर्को पर्यटकीय गन्तव्य हो मणिच्यूड पर्वत र महादेव कुण्ड । यसको छुट्टै ऐतिहासिक महत्त्व छ । मणिच्यूड पर्वतको शिरमा चन्द्र आकारको कुण्ड छ । काठमाडौँ उपत्यका ७ कोश लम्बाई ७ कोश चौडाईको ताल रहेको बेला त्यतिबेलाका बुद्धहरू शिखी बुद्ध, कुर्कुछन्द्ध बुद्ध, विपश्वी बुद्ध आएकाले त्यतिबेला उपत्यकाका डाँडाकाँडाको महत्त्व रहेको संस्कृतिविद् प्रकाशमान बताउँछन् । उपत्यकामा डाँडाहरूमा बसेर उनीहरूले प्रवचन गरेकाले चन्द्रागिरी, फूल्चोकी डाँडा जस्तै शिवपुरी डाँडा अर्थात् मणिच्यूड डाँडाको महत्त्व थियो । मणिच्यूड राजाले तपस्या गरेको, आफ्नो मणिदान गरेकाले डाँडाको नाम नै मणिच्यूड डाँडा रहन गएको किम्बदन्ती छ । मणिशैल महावदन ग्रन्थमा मणिच्यूड राजाको मणि पखालेको कुण्ड भएकाले सो कुण्डलाई पवित्र कुण्डको रूपमा लिइने उल्लेख छ ।
यस्तै नेपाल माहात्म्यमा पनि मणिच्यूड पर्वतमा मणिच्यूडेश्वर महादेव त्यहाँको कुण्डमा लुकेर बसेको, समुन्द्र मन्थनको बेला कालकूट विष निस्किएपछि शिवजीले आफ्नो कण्ठमा राखेको, त्यसले पीडा भएपछि मणिच्यूड कुण्डमा पहिलोपटक नुहाएर शान्ति अनुभव गरेको उल्लेख गरेको संस्कृतिविद् प्रकाशमान बताउँछन् । नेपाल महात्म्यमा जसले मणिच्यूड कुण्डमा स्नान गरेर ब्रजयोगिनी मन्दिरको दर्शन गर्छ, उसले ठुलो पूण्य प्राप्त गर्ने उल्लेख गरेकोले यो क्षेत्र धार्मिक पर्यटनको एउटा गन्तव्यको रूपमा छ । मणिच्यूड कुण्डमा हरेक वर्ष वैशाख १ गते र जनैपूर्णिमाको दिन मेला लाग्ने गरेको छ । हिन्दु धर्मावलम्बीहरूले यहाँ स्नान गरेर जनै फेर्ने गर्छन् भने विभिन्न स्थानबाट बौद्धमार्गी झाँक्रीहरू सिद्धी प्राप्तिका लागि ढ्याङ्ग्रो बजाउँदै जाने गर्दछन् । साँखु बजारबाट बज्रयोगिनी मन्दिर हुँदै मणिच्यूड कुण्डसम्म हाइकिङ गर्ने गन्तव्यको रूपमा परिचित छ ।
एक महिने माधव नारायण श्री स्वस्थानी ब्रत र शालीनदी मेला
साँखुलाई स्कन्दपुराणमा ‘लावण्य देश’को नामले चिनाइएको छ । श्रीस्वस्थानी कथामा वर्णित शालीनदी र त्यसबारेमा रहेका कथासँग मिल्दोजुल्दो अवस्था शालीनदीमा पाइन्छ । एक महिनासम्म साँखुमा आध्यात्मिक वातावरणमा माधवनारायण श्रीस्वस्थानी शालीनदी मेला चल्ने गरेको छ । हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने यो मेलामा देशभरबाट आउने तीर्थालुको संख्या हरेक वर्ष बढ्दो छ । पछिल्ला वर्षहरूमा एक महिना अवधिमा झन्डै १६ देखि २० लाख हाराहारी भक्तजनले शालीनदी मेला भर्ने गरेका छन् । मेलामा १ महिनासम्म अत्यन्तै कठोरतापूर्वक ब्रत बस्ने चलन छ ।
शालीनदी किनारमा निकै कलात्मक श्री स्वस्थानी र माधवनारायणको मन्दिर निर्माण गरिएको छ । शालीनदी किनारमा यी मन्दिरहरूको अलावा गणेश, महादेव, भैरव, नवराज, राधाकृष्ण, चन्द्रावती र डोलेहरूको समेत मूर्ति छ । शालीनदी वर्षमा १ पटक मात्र तीर्थ आउने ठाउँ नभइ वर्षभरि नै पर्यटक तान्न सक्ने साँखुको एउटा गन्तव्य क्षेत्रको रूपमा छ ।
भूकम्पपछि पुरानै लयमा फर्केको मुख्य बजार क्षेत्र
२०७२ सालको भूकम्पबाट साँखुको प्राचीन बस्तीमा नराम्रो असर पुर्यायो । सयौँ वर्ष पुराना मठ मन्दिर र घरहरूमा नराम्रोसँग क्षति पुग्यो । भूकम्पले साँखु बजारका झन्डै १ हजार घरमध्ये ७ सय वटा घरमा पूर्णरूपमा क्षति पुगेको थियो भने झन्डै ३ सय घरमा आंशिक क्षति पुगेको थियो । भूकम्पबाट शंखरापुर नगरपालिकामा २६ पुरुष र ७२ महिला गरी ९८ जनाको निधन भएको थियो ।
नगरपालिकाभरि ६ हजार ४५२ घर पूर्णरूपमा क्षतिग्रस्त भएको थियो । पाँच ढोकाभित्रको मुख्य प्रचीन सहरका धेरै घर भत्किएकोमा अहिले अधिकांश संरचनाको निर्माण भइसकेको छ । शंखरापुर नगरपालिकाले घरको बाहिरी स्वरुप परम्परागत ढंगले राख्नका लागि प्रेरित गर्दै त्यसका लागि थप १ लाख रुपैयाँ अनुदानको व्यवस्था गरेको थियो । फलस्वरुप सडकको छेउमा रहेका अधिकांश घरको बाहिरी स्वरुप परम्परागत शैलीमा निर्माण हुँदा साँखुको पहिचान कायम हुन सकेको छ ।
प्राचीन साँखु सहर शंखरापुर नगरपालिकाको वडा नम्बर ६ र ७ अन्तर्गत छ । भूकम्पले भत्काएका अधिकांश मठमन्दिर, धारा, पाटीपौवाको पुनर्निर्माण सम्पन्न भइसकेको छ । वडा नम्बर ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठले २०७४ सालदेखि २०७९ सालभित्र धेरैजसो पुरातात्विक सम्पदाको निर्माण सम्पन्न गरेको, साँखु सहरभरि कलात्मक सार्वजनिक धाराको निर्माण गरेको जानकारी दिए ।
साँखुको तलेजु भवानीको मन्दिर पुनर्निर्माणको काम भने अझै जारी छ ।
पर्खाइ पर्यटकको
काठमाडौँको मुख्य सहर बजारबाट उत्तरपूर्वी भूभागमा रहेको साँखुमा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विभिन्न सम्भावना छन् । धार्मिक पर्यटन, पर्या–पर्यटन, हाइकिङ, होमस्टे लगायतका धेरै सम्भावना बोकेको शंखरापुरमा पर्यटन प्रवर्द्धनका लागि विभिन्न प्रयास भइरहेका छन् । जहरसिंह पौवामा बिस्तारै होटेल तथा होमस्टे सेवाहरू विस्तार हुने क्रममा छ । साँखु बजारमा पनि साना होटल तथा रिर्सोटहरू खुल्ने क्रम बढिरहेको छ ।
शंखरापुर नगरपालिकाभित्र साँखु बजार, पालुवाबारी, जहरसिंहपौवा, कात्तिके भञ्ज्याङ, देउराली लगायतका ठाउँमा होटल तथा रिसोर्टहरू खुलिरहेका छन् । देउराली डाँडाबाट उढडाउन सुरु गरेर पटापमा अवतरण गर्नेगरी निजी क्षेत्रबाट प्याराग्लाइडिङ सेवा समेत सञ्चालनमा छ ।
सलम्बु जंगलभित्र रहेको सलम्बुदेवी मन्दिर, नारायणेश्वर महादेव मन्दिर पनि यहाँको पर्यटकीय गन्तव्य हुन् । पर्यटन प्रवर्द्धनका लागि शंखरापुर नगरपालिकाले साँखु महोत्सव, मणिच्यूड महोत्सव जस्ता विभिन्न कार्यक्रमहरू गर्दै आएको नगरप्रमुख रमेश नापित बताउँछन् ।
उनले भने, ‘पर्यटन प्रवर्द्धनका लागि हामीसँग धेरै सांस्कृतिक, ऐतिहासिक मूर्त तथा अमूर्त सम्पदा छन् । हामीले तिनीहरूको संरक्षणका लागि पनि काम गरिरहेका छौँ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि योजनाहरू बनाइरहेका छौँ ।’
नगरपालिकाले आफ्नो नारा ‘पर्यटन, कृषि समृद्धिको आधार, सांस्कृतिक विकास स्थानीय सरकार’ तय गरे पनि पर्यटक भित्र्याउनका लागि ठोस कार्यक्रम भने हुन सकेको छैन । धार्मिक, ऐतिहासिक महत्त्वका साथै पर्यटकीय प्राकृतिक सम्पदा भएको साँखु क्षेत्र पर्यटकको प्रतीक्षामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा रवि लामिछानेको थुनछेक बहस, ६ सय प्रहरी फिल्डमा खटियो
-
पार्क गरेर राखिएको विमानलाई अर्को विमानले ठक्कर दिएपछि...
-
अध्यादेशबारे निर्णय लिनुअघि उपेन्द्रले भेट देउवा र ओलीलाई
-
भविष्यको बारेमा प्रश्न सोधिएपछि रिसाए रोहित शर्मा
-
गोलभेँडादेखि आलु-प्याजसम्मको मूल्यसूची हेर्नुहोस्
-
करोड ९९ लाख लागतमा भारतीय दूतावासको सहयोगमा विद्यालय भवन बनाइने