बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय

गण्डकी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

गाउँपालिकाले सुधार र विकासका लागि काम गरिरहेको छ : अध्यक्ष तिमिल्सेना
बुधबार, २३ माघ २०८१, २० : ५६
बुधबार, २३ माघ २०८१

गोरखा । गण्डकी गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । स्थानीय विकास, सेवा प्रवाह, पारदर्शिता, सुशासन लगायतका विविध विषयमा जानकारी दिने उद्देश्यले सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो ।

गाउँपालिका–४ को गैरीचौतरामा मंंगलबार गाउँपालिका अध्यक्ष दीपक तिमिल्सेनाको अध्यक्षमा आर्थिक वर्ष २०८१र०८२ को प्रथम चौमासिक कार्यक्रम सम्पन्न भएको छ ।  

सार्वजनिक सुनुवाइ कार्यक्रमको उद्देश्य गाउँपालिका प्रशासनसँग जनताको प्रत्यक्ष संवाद गर्नु रहेको छ । यसबाट स्थानीय समस्याहरूलाई सम्बोधन गर्ने, सार्वजनिक सेवाहरूको सुधार गर्न र जनताको सहभागितामा काम गर्नका लागि योजना निर्माण गर्ने प्रक्रिया अघि बढाइन्छ । यस अवसरमा स्थानीय बासिन्दाहरूले आफ्नो विचार, सुझाव र गुनासाहरू उठाए ।

अध्यक्ष दीपक तिमिल्सेनाले गाउँपालिकाले विभिन्न क्षेत्रमा सुधार र विकासका लागि काम गरिरहेको बताए । उनले ‘गण्डकी कोदोको रक्सी’को उत्पादनलाई कानुनी रूपमा स्थापित गर्न र यसलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नका लागि योजना निर्माण भइरहेको जानकारी दिए । उनले भने,‘कोदोको रक्सी मात्र परम्परागत पेय पदार्थ नभई यसले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउन ठुलो भूमिका खेल्न सक्छ । यसलाई व्यवस्थित र कानुनी रूपमा स्थापित गर्नका लागि सरकारसँग नीति र कानुनी व्यवस्था बनाउन हामी पहल गर्दैछौं।’ रक्सीको उत्पादन र ब्रान्डिङलाई ऐतिहासिक कदमको रूपमा उनले प्रस्तुत गरे ।

कार्यक्रममा स्थानीयले स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी, पूर्वाधार विकास र सामाजिक सुरक्षा जस्ता विभिन्न समस्याहरू उठाए । 

gg

अध्यक्ष तिमिल्सेनाले गाउँपालिकाले विगत केही समयदेखि स्वास्थ्य, शिक्षा र सामाजिक सेवामा उल्लेखनीय काम गर्दै आएको बताए । गाउँपालिकाले प्रत्येक वडामा निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराएको छ भने गर्भवती महिलाहरूलाई निःशुल्क प्रसूति सेवा र आर्थिक सहयोग पनि उपलब्ध गराइरहेको उनले बताए । 

विद्यालयहरूमा स्मार्ट कक्षा सञ्चालनका साथै विपन्न परिवारका बालबालिकालाई निःशुल्क पाठ्यपुस्तक र छात्रवृत्ति कार्यक्रमहरू प्रदान गरिएको छ । विद्यालय भवनहरूको मर्मत र पुनर्निर्माण कार्यलाई पनि प्राथमिकता दिइएको छ । कृषि क्षेत्रको सुधार र विकासका लागि स्थानीय किसानहरूलाई कृषि अनुदान र आधुनिक प्रविधि सम्बन्धी तालिम दिने कार्यक्रम सञ्चालन गरिएको छ ।

सार्वजनिक सुनुवाइको माध्यमबाट गण्डकी गाउँपालिकाले आफ्नो सेवाहरूको स्तर सुधार गर्न, जनताको समस्या समाधान गर्न र समृद्ध गाउँपालिका निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप