सांसदहरूले सोधे– भारतले नेपाली भूभाग मिच्दा सरकार किन मौन ?

काठमाडौँ । भारतले नेपाली भूभाग मिच्दा सरकार मौन रहेकोप्रति सांसदहरूले प्रश्न उठाएका छन् । बुधबार अर्थ समितिमा भएको छलफलमा सांसदहरूले यस्तो तर्क गरेका हुन् ।
समितिले २०८१ माघ ११ देखि १६ सम्म विभिन्न भन्सार कार्यालयहरूको स्थलगत अनुगमन गरेका थियो । उक्त अनुगमनबाट देखिएका समस्याहरूको विषयमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभागसँग बुधबार अर्थ समितिमा छलफल भएको हो।
छलफलमा सांसद जुली महतोले जनकपुरको सीमा नाकामा आफ्नो भूभागमा पुल निर्माण गर्नसमेत नेपाललाई रोक लगाएको बताइन् । ‘त्यहाँ भएको पुल सञ्चालन गर्न दिएको छैन, नयाँ पुल पनि बनाउन दिएको छैन । जुन सञ्चालनमा आएको ५ सय वर्ष पुरानो हो । पुल छ भनिन्छ, तर सञ्चालनमा छैन । अझै अन्य पुल आवश्यक छ ।’
भारतले नेपालको पुलमा आफ्नो देशको नाम लेख्दा पनि नेपाल मौन रहेकोमा उनले आपत्ति जनाइन् ।
सांसद सूर्य बहादुर थापाले सीमामा सशस्त्र प्रहरीले थुप्रै राम्रै काम गरेको भए पनि दशगजा क्षेत्रमा भारतले जग्गा मिच्दा ध्यान नपुगेको देखिएको बताए ।
‘दशगजा अहिले दशगजा रहेन । कहीँ पाँच गजा, कहीँ सात गजा देखियो,’ उनले भने, ‘दशगजा नेपालले बनाएको पुलसम्म मिच्दै ल्याएको छ । हाकाहाकी निकै मिचेर हाम्रो पुलको बिचमा दशगजा पिलर हो भनेको छ । नेपाली भूमिमा भारतले पिप्रोन पुल निर्माण गर्न दिइएको छैन । यसमा सुरक्षा निकाय जिम्मेवार हुन पर्दैन ?’
भारतीय नागरिकलाई भन्सार एजेन्टको रूपमा राखिँदा बेथिति सिर्जना भएको उनले बताए ।
सांसद नारायणी शर्माले भैरहवाको सीमा क्षेत्रमा भारतीय नागरिकले वारि आएर गहुँखेती गरेको पाइएको बताइन् । ‘भैरहवाको सीमा क्षेत्रमा भारतीय नागरिकले वारि आएर गहुँखेती गरेको जस्तो देखिन्छ । किन भयो ? उनले भनिन्, 'जनकपुरमा नेपालले बनाएको पुलमा भारतले साइनबोर्ड राखेको छ । बोर्डमा भारतमा तपाईंलाई स्वागत गर्छौँ लेखेको छ, यो विषयलाई उठाउनु पर्छ कि पर्दैन ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
-
भोलेनाथको बार आज कुन राशिलाई कस्तो लाभ ?
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलर, दिराम, दिनार र रियालको भाउ ?
-
एम्बाप्पे विनाको खेलमा रियाल विजयी, भाल्भर्डले उभ्याए उपाधि दौडमा
-
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी शर्मालाई
-
संरक्षणको पर्खाइमा सेकुङ ताल