बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय

ट्रम्प प्रशासनले अवैध आप्रवासीलाई फिर्ता पठाउन किन सैन्य विमान प्रयोग गरिरहेको छ ?

बुधबार, २३ माघ २०८१, १९ : ५१
बुधबार, २३ माघ २०८१

वासिंटन । अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका भारतीय आप्रवासीहरूलाई बोकेको अमेरिकी सैन्य विमान बुधबार भारत आइपुगेको छ ।

विमानमा कति भारतीय सवार थिए भन्ने बारेमा कुनै आधिकारिक तथ्याङ्क सार्वजनिक नगरिए पनि मिडिया रिपोर्टहरूमा उनीहरूको संख्या १०० भन्दा बढी रहेको भनिएको छ ।

डोनाल्ड ट्रम्पले दोस्रो पटक सत्ता सम्हालेपछि अमेरिकामा बसोबास गर्ने भारतीयहरूलाई देश निकाला गरिएको यो पहिलो घटना हो । भारतका अतिरिक्त ब्राजिल, ग्वाटेमाला, पेरु र होन्डुरसका नागरिकलाई पनि अमेरिकी सैन्य विमानबाट सम्बन्धित देशमा फिर्ता पठाइएको छ ।

सैन्य विमान प्रयोग गरेर अवैध आप्रवासीहरूलाई उनीहरूको देशमा फिर्ता पठाउने निर्णयलाई लिएर डोनाल्ड ट्रम्प प्रशासनको चर्को आलोचना भएको छ ।

डोनाल्ड ट्रम्पले कोलम्बियाबाट आएका अवैध आप्रवासीहरूलाई अमेरिकी सैन्य विमानमार्फत फिर्ता पठाइने घोषणा गर्दा कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेड्रोले कडा विरोध गरे । आफूले आफ्ना नागरिकहरूको ‘मर्यादा’ कायम राख्न चाहेको उनको भनाइ थियो ।

यसपछि कोलम्बियाली वायुसेनाका दुई विमान अमेरिकातर्फ गए । ती विमान अमेरिकामा अवैध आप्रवासीका रूपमा रहेका कोलम्बियाली नागरिकलाई लिएर राजधानी बोगोटा फर्किए ।

यसअघि ब्राजिलका अवैध आप्रवासीहरूलाई अमेरिकी विमानले उनीहरूको देश फिर्ता लैजाँदै गरेको केही तस्बिर पनि सार्वजनिक भएका थिए, जसमा मानिसहरूलाई हथकडी र साङ्लाले बाँधिएको थियो ।

यी तस्बिर सार्वजनिक भएपछि डोनाल्ड ट्रम्प प्रशासनको निन्दा भएको थियो । यसपछि पनि डोनाल्ड ट्रम्पले उदारता देखाएनन् । अवैध आप्रवासीहरूलाई उनीहरूको देश फिर्ता पठाउन अमेरिकी सेनाको प्रयोग भइरहेकै छ ।

सोही क्रममा अमेरिकी सैन्य विमानबाट अवैध भारतीय आप्रवासीहरूलाई भारतको अमृतसर पठाइएको हो ।

जनवरी २० मा संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको रूपमा शपथ लिएपछि डोनाल्ड ट्रम्पले धेरै कार्यकारी आदेशमा हस्ताक्षर गरे । यस्तै आदेशबाट अमेरिकी सेनालाई देशको सिमानाको रक्षा गर्ने अधिकार दिइयो ।

अमेरिकी रक्षामन्त्री रोबर्ट सेल्सेसले त्यतिबेला एक विज्ञप्तिमार्फत देशको गृह सुरक्षा मन्त्रालयलाई रक्षा मन्त्रालयले सैन्य विमान उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए, ताकि पाँच हजारभन्दा बढी अवैध आप्रवासीलाई फिर्ता पठाउन सकियोस् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीहरूलाई ‘एलियन’ र ‘अपराधी’जस्ता संज्ञा दिएका छन् ।

हालै, रिपब्लिकन पार्टीका सांसदहरूसँग कुरा गर्दै ट्रम्पले भनेका थिए, ‘इतिहासमा पहिलो पटक हामी सैन्य विमानमा अवैध एलियन्सलाई चढाउनेछौँ र जहाँबाट उनीहरू आएका थिए, त्यहीँ पुर्याइदिने छौँ ।’

उनले भनेका थिए, ‘हामी फेरि सम्मान चाहन्छौँ । हामी मुर्र्ख मानिस हौँ भनेजसरी वर्षौंदेखि तिनीहरू हामीमाथि हाँस्दै आएका थिए ।’

जनवरी २४ मा ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले क्रिसमसको दिन सैन्य विमानमा हतकडी लगाएका मानिसहरूको तस्बिर सार्वजनिक गरिन् । यसका साथै उनले अवैध रूपमा अमेरिका प्रवेश गरेकालाई फिर्ता पठाउन उडान सुरु भएको पनि प्रस्ट पारिन् । लेभिटका अनुसार यदि तपाईं अवैध रूपमा अमेरिका आउनुभयो भने तपाईंले गम्भीर परिणामहरूको सामना गर्नुपर्नेछ भनेर राष्ट्रपति ट्रम्पले सम्पूर्ण विश्वलाई कडा र स्पष्ट सन्देश पठाइरहेका छन् ।

सैन्य विमान प्रयोग गरेर ट्रम्पले प्रतीकात्मक रूपमा कडा सन्देश दिन चाहन्छन् भन्ने विश्वास गरिन्छ ।

गत डिसेम्बरमा उनले अवैध आप्रवासीहरूलाई हिरासतमा राख्नु र कानुनी पुनरावेदन दर्ता गर्न समय दिनुको सट्टा तुरुन्तै फिर्ता पठाउने पक्षमा आफू रहेको बताएका थिए ।

उनले भनेका थिए, ‘उनीहरू अर्को २० वर्षसम्म शिविरमा बसिरहुन् भन्ने म चाहन्नँ । म उनीहरूलाई बाहिर निकाल्न चाहन्छु र उनीहरूलाई तिनका देशले फिर्ता लिनुपर्ने छ ।’

सैन्य विमानलाई प्रभुत्वको प्रतीकको रूपमा पनि हेरिन्छ । त्यसैले कोलम्बियाका राष्ट्रपतिले अमेरिकी विमानलाई आफ्नो देशमा अवतरण गर्न दिएनन् । यसपछि कोलम्बियाको विमान अमेरिका गयो र आफ्ना नागरिकहरूलाई फिर्ता ल्यायो ।

जबरजस्ती सैन्य विमानमा मानिसहरू चढाउनु र अर्को देशको भूमिमा अवतरण गर्नुलाई सार्वभौमसत्तासँग जोडेर पनि हेरिन्छ । यसै कारणले मेक्सिकोका राष्ट्रपति क्लाउडिया शिनबामले आपत्ति जनाइन् ।

उनले भनेकी थिइन्, ‘उनीहरू आफ्नो सिमानाभित्र यस्तो गतिविधि गर्न सक्छन् । जब मेक्सिकोको कुरा आउँछ, हामी हाम्रो सार्वभौमसत्ताको रक्षा गर्नेछौँ र समन्वयको लागि संवादका सम्भावना खोजी गर्नेछौँ ।’

सैन्य विमानको प्रयोगलाई ट्रम्पको शक्ति प्रदर्शनको रूपमा पनि हेरिएको छ किनकि आर्थिक रूपमा यसको प्रयोग धेरै महँगो हुन जान्छ ।

अहिलेसम्म अमेरिकाले अवैध रूपमा बसोबास गरिरहेका मानिसहरूलाई फिर्ता पठाउन व्यावसायिक विमानहरूको व्यवस्था गर्दै आएको थियो । साथै, यसको जिम्मेवारी अमेरिकी कस्टम एन्ड इमिग्रेसन इनफोर्समेन्ट (आईसीई) सँग थियो ।

यस्ता उडानहरूको बारेमा खासै चर्चा हुँदैनथ्यो । किनभने साना विमानबाटै यस्ता उडान हुन्थे । तर अब ट्रम्प प्रशासनले अवैध आप्रवासीहरूलाई फिर्ता पठाउन सेनाको सी–१७ ग्लोबमास्टर जस्ता ठुला विमान प्रयोग गरिरहेको छ ।

समाचार एजेन्सी रोयटर्सले दुवै प्रकारका उडानहरूको खर्चको लेखाजोखा गरेको छ । यस रिपोर्ट अनुसार, गत हप्ता सेनाले ग्वाटेमालाका अवैध आप्रवासीहरूलाई फिर्ता पठाएको थियो, जसमा प्रत्येक यात्रीको खर्च ४४६७५ डलर थियो । यो लागत अमेरिकन एयरलाइन्सको ग्वाटेमाला जाने एकतर्फी प्रथम श्रेणीको टिकटको मूल्यभन्दा पाँच गुणा बढी थियो ।

रोयटर्सका अनुसार, आईसीईका तत्कालीन कार्यवाहक निर्देशक टाई जोनसनले अप्रिल २०२३ मा सांसदहरूलाई ब्रिफिङ गर्दै १३५ अवैध आप्रवासीलाई लगभग पाँच घण्टाको निर्वासन उडानमा पठाउने लागत ४ लाख १७ हजार डलर पर्ने बताएका थिए । यसको तुलनामा अमेरिकी सेनाको सी–१७ विमानको लागत धेरै गुणा बढी छ । रोयटर्सको रिपोर्ट अनुसार, यो विमानको प्रतिघण्टा उडान खर्च २८ हजार ५०० डलर हुन्छ ।

हालै सुरु गरिएको निर्वासन प्रक्रियामा अहिलेसम्मकै सबैभन्दा लामो उडान भारतको हो । यसैबिच, अमेरिकी सैन्य विमानहरू ग्वाटेमाला, पेरु, होन्डुरस र इक्वेडर गएका छन् ।

द न्युयोर्क टाइम्सको एक रिपोर्ट अनुसार, अमेरिकाबाट हालसम्म केवल ६ वटा सैन्य विमानले उडान भरेका छन् । ट्रम्प प्रशासनले गैरसैन्य विमानहरू प्रयोग गरेर अवैध आप्रवासीहरूलाई पठाउने काम गरिरहेको रिपोर्ट पनि आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप