बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय
संसदीय समिति

सांसदहरूको निचोड : अस्तव्यस्त देखियो, धेरै ठाउँका छोटी भन्सार बन्द गर्नुपर्छ

सांसदहरूले देखाए भन्सारमा समस्या : करोडौँका स्क्यानर मेसिन थन्क्याइयो
बुधबार, २३ माघ २०८१, १९ : २३
बुधबार, २३ माघ २०८१

काठमाडौँ । नेपालका भन्सार क्षेत्र अत्यन्त अस्तव्यस्त अवस्थामा भेटिएको भन्दै राजस्व चुहावट नियन्त्रण गर्न यसलाई व्यवस्थित गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।

बुधबार प्रतिनिधि सभाको अर्थ समितिको छलफलमा सांसदहरूले भन्सारमा चोरी पैठारी बढेको लगायत समस्या देखाएका हुन् । 

समितिले २०८१ माघ ११ देखि १६ सम्म गरेको विभिन्न भन्सार कार्यालयहरूको स्थलगत अनुगमन गरेको थियो । उक्त अनुगमनबाट देखिएका समस्याका विषयमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभागसँग बुधबार अर्थ समितिमा छलफल भएको हो । जहाँ भन्सारमा देखिएका समस्यालाई फोटो तथा भिडियोमार्फत प्रदर्शनसमेत गरिएको थियो । 

सांसद पदम गिरीले अनुगमनका क्रममा भन्सार नाकाहरू अस्तव्यस्त अवस्थामा रहेको भेटिएको बताए । ‘भन्सार नाकाहरू अस्तव्यस्त छन् । कतिपय पूर्वाधारको अभाव छ,’ उनले भने, ‘कतिपय पूर्वाधार प्रयोगमा छैनन् । कतिपय नियोजित ढंगले मिलोमतोमा करोडौँ अर्बौँ रकमका स्क्यानर मेसिन थन्काएको छ । यसमा कर्मचारी राजनीतिक दल र सुरक्षा निकायको मिलोमतो छ ।’ स्क्यानर मेसिन किन प्रयोगमा ल्याएन भन्दै उनले प्रश्नसमेत गरे । ‘मेसिन थन्क्याएर झोला छामेर पठाउनुपर्ने अवस्था छ,’ उनले भने । अवैध रूपमा आयात बढेको र पोका बोकेर आउनेलाई प्रहरीले लखेटेजस्तो गरे पनि सेटिङमा ल्याइएका वस्तु देखेर पनि प्रहरीले छाड्ने गरेको उनले आरोप लगाए । 

‘मालवस्तु परीक्षण गर्ने उपकरण प्रयोग भएनन्’ 

सांसद गंगा कार्कीले भन्सारमा भएका प्रविधियुक्त उपकरणलाई भरपुर रूपमा प्रयोग नभएको पाइएको बताए । अस्तव्यस्त राखिएका उपकरण प्रयोगमा ल्याइनुपर्ने उनले बताए । ‘यो प्रयोग गर्दा स्वार्थ पूरा नहुने भएकाले प्रयोग नभएको पाइएको छ । उपलब्ध स्रोत साधन प्रयोगमा नल्याई थन्काइएको छ । भन्सार राम्रो भए राज्यलाई फाइदा हुन्छ । राज्यको एक वर्षको बजेट गए पनि जावस् भन्सारलाई चुस्त र दुरुस्त बनाउन जरुरी छ ।’ भन्सारको अनुगमन र छलफलले भन्सार विधेयक बनाउन सहयोग गर्ने पनि उनले बताए । 

सीमामा सुरक्षा अभाव र खुला सीमा हुँदा चोरी निकासी बढेको उनले बताए । ‘खासखास ठाउँमा भन्सार छ । तारबार लाउन यसमा तत्काल समाधानका लागि दुवै देशको सहमति हुनुपर्छ । तर, तत्काल गर्न सक्ने तयारी वस्तु आयातमा भन्सार शुल्क बढी र कच्चा वस्तुमा कर कम गरिनुपर्छ,’ उनले भने, ‘तयारी आयातीत वस्तुको भन्सार कम लिने तर कच्चा वस्तुमा बढी हुँदा उद्योगधन्दा बन्द हुँदै गएका छन् । 

जनकपुरको भन्सार जहाँ हुनुपर्ने त्यहाँ नभएको पनि उनले बताए । जसका कारण चोरी निकासीसमेत बढेको उनको भनाइ छ । 

रणकुमारी बलम्पाकी मगरले पनि भन्सारमा एक्सरे मेसिन भएर पनि सञ्चालनमा नआउनु गम्भीर विषय भएको बताइन् । जसका कारण चोरी पैठारी बढेको र  स्वदेशी बजार सुकेको र भारतीय बजार फस्टाएको उनले बताइन् । 

नियतवश मेसिन सञ्चालन नगरिएको आरोप

सांसद जुली महतोले पनि एक्सरे मेसिन भएका ठाउँमा नियतवश सञ्चालन नभएको र केहीमा नभएको बताइन् । ‘देशको अर्थतन्त्रको मुख्य ठाउँमा यस्तो ? अति अस्तव्यस्त भेटियो । कुनै स्थानमा प्राविधिक सामग्रीको अभाव छ । कुनैमा भएको सञ्चालनमा छैन,’ उनले भनिन्, ‘यो नियतवश भएको जस्तो देखिन्छ ।’ 

भन्सार कार्यालय हुँदाहुँदै भाडाको घरमा राखिएको भेटिएको पनि उनले बताइन् । ‘भन्सार कार्यालय आवश्यक भए किन व्यवस्थित गरिँदैन ? राजस्वलाई ध्यान दिन्छौँ तर, किन व्यवस्थित गर्न सरकारको ध्यान पुगेन,’ उनले प्रश्न गरिन् ।

सांसद नारायणी शर्माले देशको हालत कस्तो छ भन्सार नाकामा गएपछि प्रस्ट हुने बताइन् । ‘पारि भिडभाड छ, वारिको बजार सुनसान स्थिति छ,’ उनले भनिन् । 

भारतको नागरिकलाई भन्सार व्यवस्थापन ठेक्कामा दिइएको तर भन्सारमा भएको ल्याब सञ्चालन नभएको पनि उनले बताइन् । ‘यसले राज्यलाई के फाइदा छ ?  सरकारले भन्सारको समस्या किन महसुस नगरेको,’ उनले प्रश्न गरिन् । 

छोटी भन्सार बन्द गर्न माग

सांसद अञ्जनी श्रेष्ठले छोटी भन्सार बन्द गर्नुपर्ने अवस्था आएको बताइन् । ‘भन्सारको अवस्था हेरेर आएदेखि रातभर निद्रा लागेको छैन । केही छोटी भन्सार आवश्यक छ, कहीँ बन्द गर्नुपर्ने थियो । भन्सारमा भएका उपकरण सञ्चालित छैनन्,’ उनले भनिन् ।  

सांसद सूर्यबहादुर थापाले भन्सारका पूर्वाधार पहिलाभन्दा अहिले व्यवस्थित भएको  बताए । ‘हिजोभन्दा आज पूर्वाधार राम्रो भएको देखियो । तर ३० प्रतिशत भन्सार उठ्छ, ७० प्रतिशत चुहावट छ,’ उनले भने, ‘दैनिक उपभोग्य वस्तुमा लगाइएको करको दर व्यवस्थित पाइएन । चिनीमा उचित भन्सार शुल्क छैन ।’ 

यस्तै सांसद कल्पना चौधरीले पनि विराटनगर भन्सारजस्तै सबै कडा हुनुपर्ने बताइन्  । ‘विराटनगर भन्सारबाट मैले एउटा सारी एउटा तन्दा ल्याउँदा कसरी र्याखर्याख्ती पारियो । त्यसरी नै सबैलाई पारिनुपर्छ,’ उनले भनिन्, ‘छोटी भन्सार चोर भन्सारजस्तो देखिँदो रहेछ । छोटी भन्सार बन्द गरिनुपर्छ ।’

‘भन्सारको ल्याब सधैँ प्रयोगमा आउँदैन’

भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले भन्सारको ल्याब सधैँ प्रयोगमा नआउने बताए । अर्थ समितिमा सांसदहरूले भन्सारका ल्याब सञ्चालनमा नगर्नुको कारणबारे सोधेका प्रश्नको जवाफ दिँदै उनले सबै कुरा ल्याब परीक्षण गर्न नमिल्ने पनि बताए । 

यस्तै आईसीपी सञ्चालन उद्योग वाणिज्य मन्त्रालयअन्तर्गत भएकाले यस विषयमा आफूले बोल्न नहुने बताए । प्लान्ट क्वारेन्टाइन र पशु क्वारेन्टइनको विषय ठुलो इस्यु रहेको उनको भनाइ छ । भारत र नेपाल सरकारको आफ्नै नीतिगत व्यवस्था रहेको पनि उनले बताए । 

बोर्डरमा सीमा क्षेत्रमा भएको गरिबी र बेरोजगारी मुख्य चुनौती रहेको र रोजगारका लागि माल वस्तु ओसारपसार गर्ने कार्य भएको पुडासैनीले बताए ।

‘गरिबी र बेरोजगारी मुख्य चुनौती रहेको छ । कतिपय कुरा हामीले भनेजस्तो सबै तस्करी पनि छैन । रोजगारीको विषय छ । चार पैसा भए पनि पारिपट्टि सस्तो छ भन्ने पर्छ । कच्चा पदार्थ र तयारी वस्तुको विषय छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार जान्छ । कुन वस्तुलाई कच्चा भन्ने पनि आउँछ,’ उनले भने । 

भन्सारको दरबन्दीमा समावेश भएका मात्रलाई मानिने भएकाले कतिपय अवस्थामा उद्योगमा प्रयोग हुने सबै वस्तु कच्चा नहुने उनको भनाइ थियो । 

९० प्रतिशत कर्मचारी इमानदार भएको दाबी

विभागका महानिर्देशक पुडासैनीले भन्सारका सबै व्यक्ति बदमास नभएको भन्दै ९० प्रतिशत कर्मचारी इमानदार रहेको दाबी गरे ।

‘राजनीतिक पार्टीको दबाबमा कतिपय बदमाग गरेको होलान्, किनभने भन्सारमा आउने कर्मचारी व्यवस्थापनमा समस्या छ । भन्सारमा कोरभन्दा ननकोर कर्मचारी बढी छन्,’ उनले भने, ‘ननप्रोफेसनल कर्मचारी बढेका छन् । कतिबेला सरुवा हुन्छ ठेगान हुँदैन । जोखिम मोलेर काम गर्नुपर्छ।’

भन्सार भनेको नाफा–नोक्सान हुने ठाउँ भएको उनको भनाइ छ । पहिलाको तुलनामा पछिल्लो समय भन्सार व्यवस्थित भएको पनि उनले दाबी गरे । 

आन्तरिक राजस्व विभाग महानिर्देशक राम प्रसाद आचार्यले राजस्वको मूल स्रोत भनेको पैठारी भएको बताए । त्यसैले भन्सारलाई व्यवस्थित बनाइनुपर्ने बताए । 

राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले राजस्व संकलनमा नीतिगत हिसाबमा दक्षिण एसियामा नेपाल सबैभन्दा अघि रहेको बताए । तर भन्सारमा हुने राजस्व चुहावट नियन्त्रण शतप्रतिशत गर्न नसकिने उनको भनाइ थियो । 

नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले सांसदहरूले भनेजस्तो सेटिङमा राजस्व चुहावट नभएको बताए । सांसदहरूका प्रश्नको जवाफ दिँदै भन्सारमा हुने चोरी पैठारी रोक्न नेपाल प्रहरी तत्पर रहेको उनले बताए । एकै पटक यस्तो समस्या अन्त्य गर्न नसकिने पनि उनको भनाइ थियो ।

सशस्त्र प्रहरी बल महानिरीक्षक राजु अर्यालले पनि आफूहरूले चोरी पैठारी रोक्न सक्दो प्रयास गरेको बताए । साथै भन्सारमा आवश्यक थप एक्सरे मेसिन माग गरिरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप