राष्ट्रिय किताब खानामा शिक्षामन्त्रीको छड्के अनुगमन
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय किताब खाना (शिक्षक) को छड्के अनुगमन गरेकी छन् । ताहाचलस्थित किताबखानाको कार्यालयमा पुगेर मन्त्री भट्टराईले छड्के अनुगमन गरेकी हुन् ।
अनुगमनका क्रममा मन्त्री भट्टराई समक्ष सेवाग्राहीहरूले छिटो छरितो सेवा प्रवाह नभएको, अनलाइनमार्फत सेवा दिनुपर्ने जस्ता विषयमा गुनासा राखेका थिए । सेवाग्राहीहरूको गुनासो सुनेपछि मन्त्री भट्टराईले कर्मचारीहरूलाई छिटो छरितो काम गर्न निर्देशन दिइन् । शिक्षकहरूले पेन्सन पट्टा बनाउन निकै सास्ती खेप्नुपरेको गुनासो बढेपछि शिक्षामन्त्री भट्टराई आफैँ छड्के अनुगमनमा पुगेकी हुन् ।
पेन्सन पट्टाका लागि अर्थ मन्त्रालयबाट आएको अध्यादेशको नयाँ व्यवस्थाअनुसार कार्य अघि बढाउन शिक्षामन्त्री भट्टराईले निर्देशन दिइन् । किताब खानामा आएका समस्याहरू अड्काउने काम भएको भन्दै शिक्षामन्त्री भट्टराईले त्यस्तो नगर्न आग्रह गरिन् ।
मन्त्रीहरूकै कारणले समेत आफूहरू समस्यामा पर्ने गरेको कर्मचारीहरूले गुनासो गरेका थिए । मन्त्रीहरूबाटै विद्यालयमा हाजिर गराउनु भनेर आदेश आउने गरेको गुनासो गर्दै कर्मचारीहरूले त्यसले आफूहरूलाई काम गर्न समस्या हुने गरेको बताएका थिए ।
पेन्सन पट्टा बनाउन देशभरका शिक्षकहरू काठमाडौँ आउनुपर्ने बाध्यता छ । सेवाग्राहीहरूले सूचना प्रविधिको युगमा समेत फाइल बोकेर काठमाडौँ आउनुपर्ने बाध्यता रहेको भन्दै पेन्सन पट्टाका लागि अनलाइन मार्फत सेवा उपलब्ध गराउन माग गरेका थिए । जवाफमा मन्त्री भट्टराईले कर्मचारीहरूलाई अनलाइनमार्फत सेवा दिने व्यवस्था अघि बढाउन र त्यसका लागि मन्त्रालयको तर्फबाट गर्नुपर्ने सहयोग हुने प्रतिबद्धता जनाइन् ।
आधा घण्टाभन्दा बढी समय बिताएकी शिक्षामन्त्री भट्टराईले शिक्षक (सेवाग्राही) का समस्या समाधानका लागि देखिएका अवरोधहरू न्यूनीकरण गर्दै अघि बढ्न भनेकी हुन् । पेन्सन पाएका शिक्षकहरूलाई अहिले पनि पेन्सन पट्टा बनाउन काठमाडौँ आउनुपर्ने बाध्यता छ । देशभरका शिक्षकहरू पेन्सन पट्टा बनाउन फाइल बोकेर काठमाडौँ आउनुपर्ने बाध्यता रहेको हो ।
शिक्षामन्त्री भट्टराईले मन्त्रालयको विषयगत समिति बैठकमा पेन्सन पट्टाको काम प्रदेशस्तरमा लैजाने तयारी भइरहेको बताएकी थिइन् । पेन्सन पट्टा बनाउन शिक्षकहरू काठमाडौँ आउनुपर्ने बाध्यताबारे मन्त्रालय जानकार रहेको बताउँदै उनले सात वटा प्रदेशमा पठाउन सकियो भने सहज हुने बताइन् । त्यसका लागि मन्त्रालयले गृहकार्य गरिरहेको उनको भनाई थियो ।
शिक्षकहरूले प्रदेशस्तरमा भन्दा पनि डिजिटलाइज र अनलाइन मार्फत लैजानुपर्ने बताउँदै आएका छन् । यसअघिका निवर्तमान शिक्षा मन्त्री सुमना श्रेष्ठले डिजिटलाइजेशन गर्ने कार्य अघि बढाएकी थिइन । सरकार फेरिएसँगै त्यो काम पनि रोकिएको थियो ।
केही समय अगाडि पेन्सन पट्टा बनाउन आउने सेवाग्राहीसँग ३ लाख रुपैयाँ घुस लिएको आरोपमा किताब खानाका शाखा अधिकृत धनेश्वर प्रसाईंलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो । पेन्सन पट्टा बनाउन किताब खाना धाइरहेका शिक्षक भोजराज भट्टराईसँग शाखा अधिकृत प्रसाईंले तीन लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारको टोलीले पक्राउ गरेको थियो । विगतमा समेत पटक पटक शिक्षकको पेन्सन पट्टा बनाइदिन सेवाग्राहीसँग घुस लिएको आरोपमा कर्मचारीहरू पक्राउ पर्दै आएका थिए ।
पटक पटक बदनाम बन्दै गएको तथा सेवाग्राहीहरूबाट समेत व्यापक रूपमा गुनासो आउने थालेपछि मन्त्री भट्टराई छड्के अनुगमनमा पुगेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीयताको लाभ सबैभन्दा धेरै दुर्गम क्षेत्रहरूले लिएका छन् : वर्षमान पुन
-
राष्ट्रिय प्रजातान्त्रिक युवा संघगठनको महाधिवेशन चैतमा
-
सांसदहरूको निचोड : अस्तव्यस्त देखियो, धेरै ठाउँका छोटी भन्सार बन्द गर्नुपर्छ
-
नेविसंघ शेखर समूहद्वारा स्ववियु तयारी विद्यार्थी भेला सम्पन्न
-
आवासीय चिकित्सकहरूको आन्दोलनमा विभिन्न संस्थाको ऐक्यबद्धता
-
सुर्तीजन्य पदार्थको शत प्रतिशत भागमा चेतावनीमूलक सन्देश छाप्नुपर्ने निर्देशिका स्वीकृत