बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय
विश्व अर्थव्यवस्था

अमेरिकाले चिनियाँ सामानमा कर वृद्धि गर्दा भारतबारे किन मौन ?

बुधबार, २३ माघ २०८१, १६ : २३
बुधबार, २३ माघ २०८१

काठमाडौँ । जनवरी २० मा अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले शपथ लिएपछि विश्वको अर्थव्यवस्थामा उथलपुथल देखिएको छ । ट्रम्पले क्यानडा, चीन र मेक्सिकोबाट हुने आयातमा थप कर लगाउने निर्णय गरेका छन् ।

ट्रम्पको यो निर्णयसँगै क्यानडा र मेक्सिकोले अमेरिका निर्यात गर्ने सामानहरूमा २५ प्रतिशत शुल्क तिर्नुपर्ने अवस्था छ । तर मेक्सिको र क्यानडा दुवैमाथिको करवृद्धि तत्कालका लागि स्थगन भएको छ । विद्यमान शुल्कहरूका साथै चीनमा उत्पादित सामानहरूमा थप १० प्रतिशत शुल्क लाग्ने भएको छ । चीन माथिको करवृद्धि भने मंगलबारदेखि लागू भएको छ ।

अमेरिकाले चिनियाँ वस्तुमा कर वृद्धि गर्दा पनि चीनले कुनै प्रतिवाद गरेको छैन । जबकि सन् २०१८ मा ट्रम्पले चीनबाट आयात हुने वस्तुमा कर वृद्धि गर्दा ‘चीन व्यापार युद्धबाट पछि नहट्ने,’ भन्दै बेइजिङले वक्तव्य जारी गरेको थियो । 

अहिले चीनले आफ्नो व्यापार साम्राज्य विश्वभर फैलाएको छ । यसमध्ये १०० भन्दा बढी देशमा अर्बौं डलरको वार्षिक कारोबार गर्छ । यही कारण १० प्रतिशत वृद्धिलाई चीनले महत्व नदिएको हुन सक्ने प्राध्यापक इयान चाङले बीबीसीलाई बताएका छन् । 

उनले भनेका छन्– ‘बेइजिङलाई १० प्रतिशतको कर वृद्धि ठुलो लाग्न छोड्यो । उसले यस्ता सानातिना कुरा अमेरिकासँग सवालजवाफमा उत्रिन सही हुँदैन भनेर परिपक्व आर्थिक कूटनीति देखाउन सफल भएको छ ।’ 

अमेरिकाले ठुला देशसँगको व्यापारमा कर वृद्धिको नीति लिए पनि भारतसँग भने कुनै थप निर्णय गरेको छैन । जबकि भारतले आर्थिक वर्ष २०२५/२६ को बजेटमार्फत १६०० सीसीभन्दा माथिको मोटरसाइकलमा लाग्ने भन्सार शुल्क २० प्रतिशत घटाएको छ । योभन्दा माथिका अधिकांश मोटरसाइकल भारतीय बजारमा अमेरिकाबाट आउने गर्छन्, त्यो पनि अमेरिकी ब्राण्ड हार्ले डेभिडसन ब्रान्ड । 

बुल्मबर्गका अनुसार गत वर्ष मात्रै अमेरिकाबाट भारतमा ३० लाख डलर बराबर मोटरसाइकल आयात गरिएको छ । त्यस्तै अमेरिकाबाटै आउने स्याटेलाइट ग्राउन्ड उपकरणको भन्सार शुल्क पूर्ण रूपमा हटाइएको छ । भारतले अमेरिकाबाट कच्चा तेल, पेट्रोलियम पदार्थ, कोइला, मेडिकल तथा वैज्ञानिक उपकरण, टर्बोजेट, कम्प्युटर लगायतका पार्टस् आयात गर्छ ।

अमेरिका भारतको ठूलो व्यापारिक साझेदार हो, जससँग भारतको व्यापार नाफामा छ । सन् २०२३ मा भारत–अमेरिकाबिच १९० अर्ब डलरको व्यापार भएको थियो । ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीतिअनुसार उच्च भन्सार लगाउने देशहरूमाथि बराबरीको व्यापार नीति लागू गर्न जोड दिने भएकाले भारत पनि सम्भावित निशानामा पर्ने सम्भावना रहेको विज्ञहरूले अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई प्रतिक्रिया दिएका छन् ।

तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही महिना अमेरिकाको भ्रमण गर्दैछन् । यसले दुई देशबिचको व्यापार सम्बन्धबारे थप नीतिगत कुराहरू बाहिर आउने विश्लेषकहरूको बुझाइ छ । प्राध्यापक चाङले बीबीसीसँग भनेका छन्, ‘सायद अमेरिका–भारतबिचका व्यापार नीतिहरू त्यसपछि तय हुनेछन् ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप